युनाइटेड र अजोड इन्स्योरेन्सले गर्यो मर्जर सम्झौता
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) र अजोड इन्स्योरेन्सबीच मर्जर गर्ने सम्झौता भएको छ । दुई कम्पनीबीच मंगलबार मर्जर हुने सम्झौता भएको हो । उक्त सहमति पत्रमा युनाइटेड इन्स्योरेन्सको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक रविन्द्र राज पन्त र अजोड इन्स्योरेन्सको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक चिरन्जीवी द्वाले हस्ताक्षर गरेका छन् । दुवै संस्था एक आपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ ।
सबै प्रदेशमा शाखा कार्यालय खोली दाबी भुक्तानी सेवा दिन बीमा प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सबै प्रदेशमा शाखा कार्यालय खाेली दाबी भुक्तानी सेवा दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । उनले सबै प्रदेशमा शाखा कार्यालय खोल्न, शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्न र बीमा दाबी भुक्तानी पनि शाखा कार्यालयहरूबाटै हुने व्यवस्था गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका हुन् । अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले साना बीमा दाबी भुक्तानीका लागि न्यूनतम कति कागजात चाहिने त्यसको यकीन गरी छिटो दाबी भुक्तानी दिनुपर्ने र त्यसका बारेमा सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने बताए । ‘बीमाको दाबी भुक्तानी र जोखिमांकनमा समस्या छ, बीमा कम्पनी सकेसम्म दाबी भुक्तानी दिन चाहँदैनन् भन्ने गुनासा आएका छन्, कम्पनीहरुले बीमाको पुनर्बीमा नगराएको र क्षमताभन्दा बढी बीमा गरेका कारण दाबी भुक्तानी रोकिएको भन्ने कुरा आएको छ, अब त्यसका बारेमा सोच्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने । बीमा दाबी भुक्तानी बीमा कम्पनीको दक्षताको सूचक भएको उल्लेख गर्दै अध्यक्ष सिलवालले एउटा घटनालाई उदाहरण दिएर बीमा दाबी भुक्तानीमा ढिलो गर्न नहुने बताए । ‘बीमितले विश्वास गरेजस्तै कम्पनीेले पनि बीमितलाई विश्वास गर्नुपर्छ, दाबी भुक्तानी छिटो दिएर बीमाप्रतिको अविश्वासलाई विस्तारै विश्वासमा बदल्नुपर्छ, बीमा व्यवसाय बढाउने बाटोमा अगाडि बढ्नुपर्छ,’ उनले भने । यस्तै, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले समयमै बीमा दाबी भुक्तानी पाउँदा बीमितमा हुने खुशी ढिलो पाउँदा कम हुने बताउँदै छिटो छरितो माध्यमबाट बीमा दाबी भुक्तानी दिन बीमा कम्पनीहरुलाई निर्देशन दिए ।
आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता ३० रुपैयाँ घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ६ प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन भएको हो । कम्पनीको बोनस सेयर समायोजन पश्चात् नेप्सेले प्रतिकित्ता ५००.२८ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । मंगलबार कम्पनीको अन्तिम कारोबार मूल्य ५३०.३० रूपैयाँमा भएको थियो । सोही मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३१ प्रतिशत नगद गरी कूल ६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न माघ ९ गते, होटल ले हिमालय, लाजिम्पाट, काठमाडौँमा बिहान ११ बजे २५ औँ वार्षिक साधारण सभा बोलाएको छ ।