नेपाल इन्स्योरेन्सको फुटसल प्रतियोगिता स्थगित

काठमाडौं । नेपाल इन्स्योरेन्सले आफ्नो ७८औँ वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको फुटसल प्रतियोगिता स्थगित गर्ने घोषणा गरेको छ । कम्पनीले आश्विन ३ र ४ गते आयोजना गर्ने भनिएको प्रतियोगिता हाल देशमा सिर्जित परिस्थितिका कारण अनिश्चितकालका लागि रोकिएको जनाएको छ । साथै, प्रतियोगिता पुनः आयोजना गर्ने सम्बन्धमा पछि जानकारी गराइने नेपाल इन्स्योरेन्सले स्पष्ट पारेको छ ।

क्षति मूल्यांकनको लागि सर्भेयरलाई भ्याइनभ्याई, धमाधम काममा खटिँदै

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी (युवापुस्ता) ले गरेको प्रदर्शनले मुलुकले ठूलो धनजनको क्षति बेहोनुपर्‍यो । प्रदर्शनको क्रममा ७२ जनाले ज्यान गुमाउनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुग्यो । सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षतिसँगै अहिले बीमाको चर्चा चुलिएको छ । यो स्वाभाविक हो । कुनै पनि सम्पत्तिको बीमा गरेपछि क्षतिअनुसारको मूल्यांकन गरेर बीमाले कभर गर्छ नै । अहिले सरकारी भवनदेखि सवारीसाधन र निजी सम्पत्तिमाथि पुगेको क्षतिको मूल्यांकनको लागि बीमा कम्पनीहरूले सर्भेयरलाई फिल्डमा खटाउन थालेका छन् । नेपाल बीमा प्राधिकरणले पनि बीमा कम्पनीलाई छिटोभन्दा छिटो दाबी फर्छ्यौट गर्न निर्देशन दिएसँगै कम्पनीहरूले क्षतिको मूल्यांकनको लागि सर्भेयरलाई खटाउन थालेका हुन् । कम्पनीहरूले सर्भेयरलाई फिल्डमा खटाउन थालेसँगै अहिले सर्भेयरलाई भ्याइनभ्याई छ । सर्भेयरहरू न्यूनतम् कागजातको आधारमा क्षतिको मूल्यांकन कम्पनीलाई प्रतिवेदन बुझाउने तयारीमा छन् । कुनै पनि सम्पत्तिमा क्षति पुगेपछि सबैभन्दा पहिले बीमितले बीमा कम्पनीलाई जानकारी गराउनुपर्छ । बीमितले जानकारी गराउन नसक्ने अवस्थामा बीमितका नजिकका आफन्तले जानकारी गराउन सक्छन् । बीमितले गरेको निवेदनकै आधारमा क्षतिको मूल्यांकनको लागि बीमा कम्पनीहरूले सर्भेयर खटाउन सक्छन् । सर्भेयरले निवेदनको आधारमा ढिला नगरिकनै बीमितलाई सम्पर्क गर्ने र लोकेसन पत्ता लगाएर फिल्डमा खटिने गर्छन् । बीमा सर्भेयर संघ बुटवल च्याप्टरका प्रमुख सर्भेयर गोविन्द लामिछानेले आफू शुक्रबारदेखि  फिल्डमा खटिएको जानकारी दिए । क्षतिको मूल्यांकनको क्रममा उनले अधिकांश सम्पत्ति पूर्ण क्षति पुगेको पाएको सुनाए ।  ‘मैले जति सवारीसाधनहरूको मूल्यांकन गरिरहेको छु, यी सवारीसाधन पुनः मर्मत गर्न सक्ने अवस्थामा छैनन्,’ लामिछानेले भने ।  अधिकांश सवारीसाधन मर्मत गर्नै नमिल्ने भएकाले कुल नाेक्सानीमा जाने र त्यसको लागि न्यूनतम कागजात भएपनि पुग्ने उनले जानकारी दिए । त्यस्तै, उनले अहिलेको परिस्थितिमा सर्भेयरले आफ्नो नैतिकतामा बसेर न्यूनतम कागजातको आधारमा बीमा दाबी भुक्तानी दिने व्यवस्था मिलाइदिनुपर्ने बताउँछन् ।  सर्भेयर लामिछानेले भने,  ‘अहिले कसले र कसरी आगजानी भयो भन्ने कुरा सबैलाई थाहै छ । त्यसैले न्यूनतम काजगपत्र लिएर बीमकलाई जति सक्दो चाँडो क्लेम सेटलमेन्ट होस् भनेर रिर्पोट बुझाउन लागिपरेका छौं ।’ जेनजी पुस्ताले गरेको प्रदर्शनमा भएको क्षतिको पुरै विवरण आउन बाँकी छ । बीमा कम्पनीहरूमा क्षतिको दाबी संकलन भइरहेको छ । कतिले बीमित आफैले निवेदन दिएका छन्, कतिको आफन्तमार्फत कम्पनीमा जानकारी गराइरहेका छन् । त्यसैको आधारमा सर्भेयरहरूले क्षतिको मूल्यांकन गर्छन् ।  सर्भेयर लामिछाने अहिलेको अवस्थामा कार्यालयमै आएर निवेदन र कागजात संकलन गर्नुभन्दा इमेल, ह्वाट्सएपजस्ता अनलाइन माध्यमको प्रयोग गर्ने र त्यसैलाई आधार बनाएर क्षतिको मूल्यांकनमा जोड दिएको बताए । सबैभन्दा धेरै व्यस्त सर्भेयरको रूपमा चिनिने ललित केसी पनि यतिबेला जेनजी प्रदर्शनको क्रममा भएको क्षतिको मूल्यांकनको लागि फिल्डमा खटिएका छन् । उनको विशेष क्षेत्र मोटरमा भएकोले उनी अहिले सवारीसाधनकै क्षतिको मूल्यांकनका लागि व्यस्त रहेको सुनाए ।  ‘अहिले म क्षति मूल्यांंकनको लागि निरीक्षण स्थलमा जाँदैछु, व्यस्त सेड्युल छ, तैपनि मैले म्यानेज गरिरहेको छु,’ उनले भने ।  सर्भेयर केसी अहिलेको परिस्थितिमा सबै सर्भेयरले आफ्ना ठाउँमा जिम्मेवार भएर काम गर्नुपर्ने बताउँछन् । उनले यो बेला नयाँ सर्भेयरले पनि मौका पाएको हुँदा त्यसलाई अवसरको रूपमा लिएर काम गर्नुपर्ने र अनुभवी सर्भेयरलाई विशेषगरी जटिल र ठूला केसको निरीक्षण गर्न दिनुपर्ने सुझाव दिन्छन् । अर्का सर्भेयर छविन्द्र भट्टराई पनि अहिले क्षतिको मूल्यांकनको लागि फिल्डमै छन् । अहिले उनले सरकारी सवारीसाधनको क्षतिको मूल्यांकन गरिरहेका छन् । क्षति मूल्यांकनको क्रममा सर्भेयर भट्टराईले पनि अधिकांश सवारीसाधन पूर्ण रूपमा क्षति भएको बताए । उनले भने, ‘अहिले म बुटवलमा सरकारी सवारीसाधनको क्षतिको मूल्यांकन गरिरहेको छु, निरीक्षण गर्ने क्रममा अधिकांश साधनमा पूर्ण क्षति पुगेको अवस्था छ ।’ पर्याप्त जनशक्ति, काम बाँडफाँडमा समस्या नेपालमा २ हजार २ सयभन्दा बढी सर्भेयर छन् । आईएनआईबाट तालिमप्राप्त १ हजार १ सय हाराहारीमा छन् यद्यपि उनीहरू सर्भेयर भइसकेका छैनन् ।  बीमा सर्भेयर संघका अध्यक्ष मोहनपुरुष ढकालले नेपालमा पर्याप्त सर्भेयर रहेको र बाहिरबाट हायर गर्नुपर्ने अवस्था नभएको बताए । उनका अनुसार नेपालमा भएका धेरैजसो सर्भेयर ‘पार्ट टाइमर’ हुन् ।  नेपालमा प्रशस्त सर्भेयर भएपनि काम बाँडफाँडमा भने समस्या रहेको अध्यक्ष ढकाल बताउँछन् । यद्यपि सर्भेयर संघले बीमा प्राधिकरणलाई पत्र नै गरेर सर्भेयरलाई व्यवस्थित रूपमा फिल्डमा खटाउनको लागि आग्रह गरेको उनले सुनाए ।  ‘विगतमा एउटै सर्भेयरलाई धेरै काम दिँदा कोही भ्याईनभ्याई हुने र कोही खाली बस्नुपर्ने र रिपोर्ट बुझाउन ढिला हुने गरेको गुनासो थियो, त्यो गुनासो अहिले नदोहोरियोस् भन्ने हाम्रो धारणा हो,’ अध्यक्ष ढकालले भने, ‘हाम्रो संघमा पनि लामो समय काम गरिसकेका अनुभवी सर्भेयरहरु छन् । उहाँहरूलाई पनि क्षति मूल्यांकनको लागि खटाउन सकिन्छ भनेर बीमा प्राधिकरण र बीमा कम्पनीलाई भनेका छौं ।’  उनी नयाँलाई जटिल र ठूलो क्षतिको मूल्यांकनको लागि खटाउन नहुने र पुरानो अनुभवीलाई छुट्याउन नहुने तर्क गर्छन् । प्राधिकरणले सर्भेयरलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’  गरी चार वर्गमा विभाजन गरेको छ । अध्यक्ष ढकालका अनुसार नेपालमा ‘क’ वर्गका ३० भन्दा बढी सर्भेयर छन् । जसले १५ वर्षभन्दा बढी यही फिल्डमा काम गरिसकेका छन् ।  ‘ख’  मा ५० भन्दा बढी, ‘ग’  मा दुई सय हाराहारीमा छन् र बाँकी सबै ‘घ’  वर्गमा छन् । सर्भेयर संघले छिटो दाबी फर्छ्याैटका लागि के-कस्ता उपायहरू अपनाउन सकिन्छ भन्दै पाँच बुँदे सुझाव प्राधिकरणलाई दिएको ढकालले जानकारी दिए । अनुभवी ‘क’ वर्गका सर्भेयरलाई ठूला र जटिल क्षतिको जिम्मा दिने तथा नयाँ र कम अनुभवीलाई साना क्षतिको काम दिने गरी काम बाँडफाँड गर्न कम्पनीहरूलाई आग्रह गरेको उनले बताए । यसले गर्दा रिपोर्टको गुणस्तर कायम राख्न सकिने उनको भनाइ छ । ‘हामीले प्राधिकरणले जुन वर्गीकरण छुट्याइदिएको छ, त्यही स्ल्याबअनुसार काम लगाउनु भनेर भनेका छौं, ताकि पछि विवाद नआओस् । नयाँ साथीहरूलाई एकैचोटी ठूलो जिम्मेवारी दियो भने क्षतिको राम्रो मूल्यांकन पनि नहोला,’ अध्यक्ष ढकालले भने ।

हुलदंगा बीमा नेपाल रिमा मात्रै, हिमालयन रि जोगियो

काठमाडौं । नेपालका बीमा कम्पनीहरूले हुलदंगाको पुनर्बीमा नेपाल रिइन्स्योरेन्समा मात्रै गरेको पाइएको छ । यस अर्थमा गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको कारण भएको क्षतिको ठूलो दबाब नेपाल रिमा पर्ने देखिएको छ । हिमालयन रि भने यस पटकको हुलदंगा बीमा क्षतिको भुक्तानी दिनुपर्ने दबाबबाट जोगिएको छ । सामान्यतया कुनै पनि बीमा कम्पनीले जारी गरेको बीमाको जोखिमलाई पुनर्बीमा कम्पनीहरूले बाँडफाँड गर्ने गर्छन् । हुलदंगा बीमाको हकमा पनि यही लागू हुन्छ ।  एक बीमा कम्पनीका स्रोतका अनुसार हुलदंगाबाट सिर्जित क्षतिको दाबी भुक्तानी ३५ प्रतिशत बीमा कम्पनीबाट र ६५ प्रतिशत रिइन्स्योरेन्स कम्पनीबाट बाँडफाँट हुने प्रावधान छ । स्रोतका अनुसार हुलदंगाको पुर्नबीमा अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूसँग पनि गरिएको छ ।  गत २२ गते युवापुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर गरेको प्रर्दशनका कारण सार्वजनिक र निजी सम्पत्तिमाथि ठूलो क्षति पुग्यो । विश्वकै ठूलो चेन होटलमध्येमा पर्ने हिल्टन होटल पुनःनिर्माण नै गर्न नमिल्नेगरी जलेको छ ।  प्रारम्भिक अनुमान अनुसार हिल्टनमा मात्रै ८ अर्ब रुपैयाँको क्षति भएको छ । जसमा बीमा मात्रै ५ अर्ब रुपैयाँको रहेको खुलेको छ । त्यस्तै, भाटभटेनीका देशभरका दुई दर्जन स्टोरमा क्षति पुगेको छ । यसबाट पनि अर्ब रुपैयाँको दाबी बीमा कम्पनीमा पर्ने देखिएको छ ।  नेपाल बीमा प्राधिकरणले उक्त हुलदंगा तथा आतंकजन्य गतिविधिबाट के कति क्षति पुगेको छ मूल्यांकन गरी भुक्तानी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइसकेको छ। नेपालमा हुलदंगा र आतंकवादसम्बन्धी व्यवस्था निर्जीवन बीमा व्यवसायअन्तर्गत जमिनमा आधारित सम्पत्ति तथा घरसम्बन्धी बीमाको स्वीकृत बीमालेख तयार गरी त्यसका लागी आवश्यक पर्ने बीमादर निर्धारण तालिकासमेत निर्माण गरी प्रचलनमा ल्याउनका लागि बीमादर सल्लाहकार समितिको सिफारिसमा बीमा ऐन, २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशन, २०८० जारी गरेको छ ।  सोही निर्देशनको परिच्छेद २ मा हुलदंगा तथा आतंकवादजन्य क्षति उल्लेख गरिएको छ । निर्देशनको परिच्छेद ३ मा बीमादरसम्बन्धी व्यवस्था गरिएको छ । सोही परिच्छेदको बुँदा ३० मा अनुसूची १६ मा रहनेगरी हुलदंगा तथा आतंकवादसम्बन्धी बीमादर निर्धारण गरिएको छ ।