क्षति बेहोरेका बीमित तथा ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न बीमक संघको आग्रह

काठमाडौं । नेपाल बीमक संघले हाल देशभर उत्पन्न प्रतिकूल परिस्थितिका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघले विज्ञप्ति जारी गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेको छ । संघले क्षति बेहोरेका बीमित तथा ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गरी सहयोग लिन आग्रह गरेको छ । केही सञ्चारमाध्यममा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै बीमा कम्पनीहरू दाबी व्यवस्थापन गर्न सक्षम र प्रतिबद्ध रहेको पनि संघले स्पष्ट पारेको छ ।

बीमा दाबी महाभूकम्पमा भन्दा बढी पर्ने

काठमाडौं । जेनजी (नयाँ पुस्ता) ले गरेको दुई दिन (भदौ २३ र २४ ) मा भएको प्रदर्शनले नेपालमा अकल्पनीय दुर्घटना निम्तिएको छ । अहिले सिंगो देश तनावग्रस्त अवस्थामा छ । आन्दोलनको क्रममा मानवीय क्षतिसँगै ठूलो मात्रामा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेको छ । राज्यका तीनै महत्त्वपूर्ण अंग सिंहदरबार, अदालत, संसद भवनदेखि देशमा महत्त्वपूर्ण संरचना जलेर खरानी भएको छ । जेनजी पुस्ताले गरेको आन्दोलन र तोडफोडको क्रममा उपत्यकामा मात्रै नभएर देशभरका सार्वजनिक र निजी सम्पत्ति, सवारीसाधन, घर तथा भवनहरू, कार्यालय, शोरुम, गोदाम, होटलमा क्षति पुगेको छ । प्रदर्शनकारीले नेताका घर तथा सवारी, होटल, कलेज तथा सञ्चार माध्यम लगायत व्यवसायीहरूको निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ । प्रदर्शनकारीले बैंक तथा वित्तीय संस्थामा समेत क्षति पुर्‍याएका छन् ।  देशभर नै विभिन्न सार्वजनिक र भौतिक संरचनामा क्षति पुगेको हुँदा २०७२ सालको भूकम्पमा भन्दा बढी बीमा दाबी कम्पनीहरूमा पर्ने देखिएको बीमा कम्पनीहरूले जानकारी दिएका छन् । नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) को तथ्यांकअनुसार २०७२ सालको भूकम्पमा कुल १८ अर्ब ४० करोड रुपैयाँ बराबरको रकम दाबी परेको थियो । त्यतिबेला व्यक्तिगत घर, होटल, अपार्टमेन्ट, जलविद्युत कम्पनीलगायतबाट बढी दाबी परेको थियो । प्राधिकरणका अनुसार त्यो समयमा धेरैले घरको बीमा गराएका थिएनन्, जसको कारण क्षतिभन्दा कम दाबी परेको थियो । घरहरु पनि अहिलेको जस्तो कंक्रिट खालका कम, ढुंगा माटोले बनेको बढी थिए । तर अहिले कंक्रिट घरहरूको संख्या बढेको छ भने निजी सम्पत्तिको पनि बीमा बढी नै छ । त्यसो त अहिले तत्कालै कति क्षति भयो र कति दाबी पर्छ भन्ने यकिन तथ्यांक प्राप्त गर्न सक्ने अवस्था छैन । तर पनि यो आन्दोलनको कारण अर्बौंको क्षति भएको सहजै अनुमान लगाउन सकिन्छ । दुई दर्जनभन्दा बढी सुपरमार्केटमा आगजनी  प्रदर्शनकारीहरूले विभिन्न ठाउँमा रहेका दुई दर्जनभन्दा बढी भाटभटेनी सुपरमार्केटमा आगजनी गरेको छ । नक्साल, पोखरा, दमक, चाबहिल, विराटनगर धनगढीलगायत विभिन्न स्थानमा रहेको सुपरमार्केटमा आगजनी हुँदा ठूलो क्षति पुगेको छ । यहाँबाट पनि अर्बौं रुपैयाँको बीमा दाबी पर्ने देखिन्छ । नक्सालस्थित भाटभटेनी जलेर पूर्णरूपमा नष्ट भएको छ । योसँगै भाटभटेनी सुपरमार्केट्सका १२ वटा स्टोर ध्वस्त भएका छन् । घण्टौंसम्म आगो निभाउने कार्य नभएकाले यी भवनहरू पुन:निर्माण गर्नुपर्ने गरी नष्ट भएको बताइएको छ ।  कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार थप ९ वटा भाटभटेनी सुपरमार्केट्स स्टोरमा लुटपाट भएका छन् । उक्त घटनामा अर्बौ रुपैयाँ बराबर नोक्सान भएको प्रारम्भिक अनुमान छ । तोडफोड, आगलागी र लुटपाटबाट हुने क्षतिको पूर्ण विवरण संकलन कार्य भइरहेको पौडेलले बताए । भाटभटेनीबाट पनि अर्बौंको बीमा दाबी पर्ने देखिन्छ । हिल्टनमै अर्बको दाबी पर्ने प्रदर्शनकारीहरूले संसारकै सबैभन्दा ठूलो चेनमध्येमा पर्ने होटल हिल्टनलाई पनि ध्वस्त पारेका छन् । नक्सालमा रहेको हिल्टन होटलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीरको लगानी रहेको आशंकाका भरमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका हुन् । अहिले यो होटल पनि जलेर नष्ट भएको छ । यो होटलमा शंकर ग्रुपका शाहिल अग्रवालसहितको लगानी रहेको छ ।  २०८१ असारदेखि ८ अर्बभन्दा बढी लगानी गरेर सञ्चालनमा आएको यो होटल एक वर्षमै खरानीमा परिणत भएको छ । बीमा कम्पनीका एक प्रमुख कार्यकारी अधिकृतका अनुसार यो होटलबाटै मात्रै अर्बौंको दाबी पर्ने देखिएको छ । यससँगै पोखराको बगैंचा रिसोर्ट, होटल सरोवर, वर्णवास होटल लगायत होटल तथा रिसोर्टमा पनि आगजनी भएको छ । यसले पनि पर्यटन क्षेत्रमा असरसँगै दाबी पनि ठूलो रकम पर्ने देखिन्छ ।  आन्दोलनको क्रममा प्रदर्शनकारीले दमकको भ्यु टावरमा तोडफोडसहित आगजनी गरेका छन् । त्यसैगरी आन्दोलनको क्रममा प्रर्दशनकारीले लैनचौरस्थित एनसलेको कर्पोरेट टावरमा आगजनी गरेका छन् । यहाँबाट पनि कम्पनीलाई ठूलो दाबीको भार पर्ने देखिन्छ । एनेसेलभित्रै २१ वटा गाडी पूर्णरुपमा जलेर नष्ट भएका छन् । यस्तै प्रदर्शनकारीहरूले उपत्यकासहित बाहिर रहेका विभिन्न कम्पनीका गाडीका शोरुमहरूमा तोडफोडसँगै आगजनी गरिएको छ ।   प्रदर्शनकारीले थापाथली क्षेत्रमा रहेका विभिन्न गाडीका शोरुमहरूमा आगजनी गरेका छन् । त्यस्तै, पोखरा, बुटवल, चितवनलगायतका क्षेत्रमा रहेको सवारी साधन शोरुममा आगजनी गरेका छन् । ठूलो लगानीमा बनेका ती शोरुमहरू आगोले खरानी हुँदा कम्पनीलाई ठूलो क्षति पुगेको छ ।  प्रर्दशनकारीहरूले नेताका गाडीदेखि सर्वसाधारणका सवारीसाधनमा ठूलो क्षति पुर्‍याएको छ । जसले गर्दा बीमा कम्पनीमा पनि करोडौं रुपैयाँको दाबी पर्ने अनुमान बीमा कम्पनीहरूले गरेका छन् । सार्वजनिक सम्पतिमा पनि ठूलो क्षति नेपालमा तेस्रो पक्ष मोटर बीमालाई जसरी अनिवार्य गरेको छ, त्यसरी अन्य कुनै पनि सम्पत्तिको बीमालाई अनिवार्य गरिएको छैन । बीमा प्राधिकरणले सार्वजनिक सम्पत्तिको बीमालाई गर्नुपर्छ भन्ने त्यस्तो कुनै प्रावधान बनाएको छैन । बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले आजको मितिसम्म कुनै पनि सार्वजनिक सम्पत्तिको बीमा नगरिएको बताए । उनले सार्वजनिक सम्पत्तिको बीमाको लागि धेरै अगाडिदेखि सरकारसँग प्रस्ताव भएपनि सरकारले कुनै पहल नगरेको जानकारी दिए ।  यद्यपि बीमा प्राधिकरणले सम्पत्ति बीमामा आतंकवाद तथा हुलदंगाको बीमा अनिवार्य गरिएकोले बीमा दावी भुक्तानीमा समस्या नहुन सक्छ । तर, सार्वजनिक सम्पत्तिको बीमा अनिवार्य नगरेको हुँदा कम्पनीले बीमा नदिन पनि सक्ने निर्देशक लामिछानेको भनाइ छ । उनका अनुसार सार्वजनिक सम्पत्तिबाहेक अन्य बीमामा भने कम्पनीमा दाबी परेअनुसार भुक्तानीमा समस्या हुँदैन । जेनजीको आन्दोलनमा देशभर अर्बौं रुपैयाँको सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ, जसको कुनै बीमा छैन । यदि यी सम्पत्तिहरूको पनि बीमा हुने हो भने बीमा कम्पनीहरूमा झन् बढी दाबी पर्न सक्ने देखिन्छ ।

बीमाले निजी क्षेत्र सुरक्षित, सरकार असुरक्षित

काठमाडौं । जेनजीको दुई दिनको आन्दोलनले उग्ररूप लिएपछि देशभर ठूलो जनधनको क्षति भयो । सरकारले घुँडा टेकेपछि पनि आन्दोलनकारीहरुले सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गरे । जेनजी आन्दोलनकारीहरुले देशकै ठूलो र केन्द्रीय प्रशासन सिंहदरबार जलाए । सरकारका तीन अंग अदालत, व्यवस्थापिका र कार्यपालिकाका संरचना (संसद भवन, शितल निवास, प्रधानमन्त्री निवास, मन्त्री निवास) लगायत सयौंको संख्या सरकारी कार्यालय आगजनी गराएर ध्वस्त पारे । आन्दोलनकारीहरुले राजनीतिक दलका नेताहरूका घर, भवन, सवारी साधन समेत जलाए । उनीहरुले जति सरकारी संरचना तोडफोड र आगजनी गरेका छन्, सोही अनुपातमा निजी क्षेत्रमा समेत विध्वंश मच्चाए । आन्दोलनले उग्ररुप लिँदा उद्योगी व्यवसायीहरूको निजी सम्पत्तिमा व्यापक क्षति पुगेको छ । कार सोरुम जलाइएका छन्, पाँच तारे होटल हिलटन, हायात लगायत, व्यवसायीका घर घरमा क्षति पुर्याए । जेनजी आन्दोलनकारीहरुले देशभरका सरकारी तथा निजी संरचनामा तोडफोड गरेका छन् । कहाँ कति क्षति पुर्याएको छ त्यसको संकलनको काम भइरहेको छ भने मूल्याङ्कन हुन बाँकी छ । देशभर तोडफोड र आगजनीपछि त्यसको भार बीमा कम्पनीहरूमा पर्ने देखिएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठ कहाँ कति क्षति भएको भन्ने एकिन तथ्याङ्क आउन बाँकी रहेको बताउँछिन् । देशभर तोडफोड भएको जानकारी प्राप्त भएका तर कार्यालय खोलेपछि मात्रै एकिन तथ्याङ्क आउने उनले बताइन् ।  ‘तत्काल कति क्षति भएको छ र कति दाबीका लागि आयो भन्न सकिन्न । किनभने कार्यालय खोल्न पाएको छैन । कार्यालय खोलेपछि के कति क्षति भएको छ, सबै विवरण आउँछ,’ उनले भनिन्, ‘हामीले तत्काल आवेदन आह्वान गरेका छौं । हामीले सूचना पनि निकालिसकेका छौं । अब कति आउँछन् ?’ दंगा, हड्ताल, र दुर्भावनापूर्ण क्षति (आरएसएमडी) ऐन अन्तर्गत अज्ञात व्यक्तिले तोडफोड तथा आगजनी गरेको हुँदा सोही अनुसार दाबी भुक्तानी हुने उनले बताइन् । उनका अनुसार बीमाको पुनर्बीमा पनि गरिने भएकाले बीमा कम्पनीहरूले दावी भुक्तानी गर्दै जानेछन् । ‘सबै बीमा कम्पनीले बीमा गरिएका बीमा लेखको पुनर्बीमा गरिएको हुन्छ । कतिको क्षति आउँछ भन्ने जानकारी कार्यालय खोलेपछि थाहा हुन्छ । अहिले हामीले ग्रस मात्रै गणना गरिरहेका छौं,’ उनले भनिन् । नेपाल इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ईश्वर पोखरेल क्षतिको विवरण संकलनको काम भइरहेको बताउँछन् । जेनजी आन्दोलनले ठूलो संरचनामा क्षति पुर्याएको हुँदा त्यसको असर बीमामा पर्ने उनको भनाइ छ । तर, जोखिम बाँडिएको हुँदा पुनर्बीमा कम्पनीले पनि बेहोर्नुपर्ने उनले बताए ।  ‘यति क्षति भयो भनेर जुन सूचना आउँछ, त्यसको संकलनपछि मात्रै एउटा फिगर बन्छ । ठूला प्रोजेक्ट हिलटन, हायात, भाटभटेनी लगायत संरचनामा क्षति भएको छ,’ उनले भने, ‘यो आन्दोलनले बीमा क्षेत्रमा पनि असर परेको छ । बीमा कम्पनी घाटामा नजान सक्छन् । किनभने पुनर्बीमा गरिएको हुन्छ । जोखिम सबै नेपालमा रहेको हुँदैन । उनीहरुको जोखिम बाँडिएको हुन्छ ।’ उनका अनुसार १ सय रुपैयाँ जोखिम छ भने २० रुपैयाँ आफैं राखेर ८० रुपैयाँ पुनर्बीमा कम्पनीलाई दिएको पनि हुन सक्छ, १० रुपैयाँ राखेर ९० रुपैयाँ दिएको पनि हुन सक्छ । यदि बीमा गरिएको संरचनामा क्षति पुर्याएको छ भने पुनर्बीमा कम्पनीले पनि बेहोर्नुपर्ने भएकाले सबै कम्पनी घाटामै जान्छन् भन्न नमिल्ने उनले बताए ।  सरकारी संरचनाको छैन बीमा सीईओ श्रेष्ठका अनुसार सामान्यतया सरकारी भवनहरूको बीमा गरिएको हुँदैन । यदि कुनै सरकारी कार्यालयको बीमा गरेको छ भनेपनि राष्ट्रिय बीमा कम्पनीले गर्ने गरेको उनले बताइन् ।  ‘होटल, उद्योग, व्यवसाय, सवारी साधन, बैंकमा क्षति पुर्याएको छ । निजी संरचनाको बीमा गरिएको हुन सक्छ । तर, सरकारी संरचनाको बीमा गरेको छैन,’ उनले भनिन्, ‘हिमालयन एभरेष्ट इन्स्योरेन्समा लोत्से मल, यूलेन्सको गाडी, डेब्ट इन्टेरियर लगायतको क्षति भएको सूचना आएको छ । थप तथ्याङ्क आउनेक्रम जारी छ ।’  डीसीईओ पोखरेल सरकारी भवनको बीमा गर्ने अभ्यास नरहेको बताउँछन् । निजी सम्पत्तिको बीमा गर्ने अभ्यास रहेता पनि सरकारी कार्यालयको बीमा गर्ने अभ्यास नरहेको उनले बताए ।  ‘सिंहदरबारको पनि बीमा गरिएको छैन । सरकारी सम्पत्तिको बीमा गर्नुपर्ने हो । तर, गर्ने चलन छैन,’ उनले भने, ‘पछिल्लो चरणमा अर्धसरकारी संस्थान नेपाल टेलिकम लगायत सरकारी कार्यालयले भने बीमा गर्ने गरेका छन् ।’  उनका अनुसार बैंकबाट कर्जा लिनका लागि पनि बीमा गर्नु पर्ने भएकाले राजनीतिक दलका नेताहरूले भने आफ्नो सम्पत्तिको बीमा गरेका हुन सक्छन् । नयाँ घर बनाउनेहरूको अधिकांशको बीमा गर्ने गरिएको उनले बताए ।