डडेलधुरामा नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

सुदुरपश्चिम । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको विभिन्न शाखा कार्यालयमा आबद्ध भै बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरुलाई अझबढी व्यवसायिक बनाउँदै उनीहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारको कार्यक्रमहरु सुदुरपश्चिम प्रदेशबाट सम्पन्न गर्दै आइरहेको जनाएको छ । सोही क्रममा मङ्सिर ७ गते महेन्द्रनगरमा, ८ गते धनगढीमा र मंसिर ९ गते डडेलधुरामा सम्पन्न सो कार्यक्रम आयोजना गरिएको कम्पनी कार्यकारी अधिकृत खत्रीले बताए। कम्पनीका मार्केटिङ बिभागका प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए ।कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी डडेलधुरा शाखाबाट चेयर पर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान पत्रबाट सम्मान गरेका थिए । कम्पनीको डडेल्धुरा शाखा प्रमुख कृष्णदत्त पन्तको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।

जीवन बीमक संघको अध्यक्षमा पौडेल चयन, उपाध्यक्षमा पराजुली र महासचिवमा खत्री

काठमाडौं । जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संगठन जीवन बीमक संघको अध्यक्षमा पोषक राज पौडेल चयन भएका छन् । मंसिर ९ गते सम्पन्न संघको तेश्रो वार्षिक साधारण सभाले पौडेलको नेतृत्वमा ७ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । पौडेल सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत हुन् । साथै, उनी यस संघको निवर्तमान उपाध्यक्ष हुन् । अघिल्लो कार्यसमितिको अध्यक्षमा मेटलाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत निर्मल काजी श्रेष्ठ थिए । त्यसैगरी, संघको उपाध्यक्षमा प्रवीण रमण पराजुली चयन भएका छन् । उनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान कोषाध्यक्ष हुन् । महासचिवमा ज्योती लाइफ इन्स्योरेन्सका सीईओ प्रकाश विक्रम खत्री चयन भएका छन् । उनी अघिल्लो कार्यसमिति सदस्य थिए । त्यस्तै, एशियन लाइफका सीईओ दिनेशलाल श्रेष्ठ कोषाध्यक्ष बनेका छन् । त्यसैगरी, सदस्यहरुमा रिलायबल नेपाल लाइफका नारायणबाबु लोहनी‌, आइएमई लाइफका कवि फुयाल र एलआईसी नेपालका एलपी दास रहेका छन् । जसमध्ये फुयाल अघिल्लो कार्यसमिति सदस्य थिए भने लोहनी र दास भने नयाँ सदस्य हुन् ।

दावी भुक्तानीमा आक्रामक बन्दै नेपाल लाइफ, गर्यो ५ अर्ब बढीको मृत्यु दावी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा ५ अर्ब ३ करोड रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी हो । कम्पनीले मृत्यु दावी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्री बनाएको छ । यसै क्रममा यस इन्स्योरेन्सले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दावी भुक्तानी गर्ने प्रबन्ध मिलाईएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए । प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दावी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको कुरा कम्पनीले बताएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा ९९.०७ प्रतिशत मृत्यु दावी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको छ । सम्पूर्ण कागजात प्राप्त भए लगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने कुरा सहर्ष जानकारी गराएको छ । २०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी १ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १ खर्ब ४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म १ खर्ब ९७ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४२० वटा बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।