आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र ०.३४ प्रतिशत नगद गरी कूल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० रुपैयाँको ११ करोड ६ लाख ७ हजार ३४२ रुपैयाँ बोनस र ५८ लाख २१ हजार ४३९ रुपैयाँ नगद गरी कूल ११ करोड ६४ लाख २८ हजार ७८१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

कोरोना बीमाको बाँकी रहेको रकम भुक्तानी गर्न सुरु, सरकारविरुद्ध कानूनी उपचार खोज्ने

काठमाडौं । नेपाल बीमक संघले बीमा कम्पनीहरुलाई कोरोना बीमा वापतको दाबी रकम भुक्तानी गर्ने निर्णय गरेको छ । नेपाल बीमक संघको बैठकले कोरोना बीमा वापत परेको दावी भूक्तानी गर्ने निर्णय गरेको हो । दावी भूक्तानी गर्दा व्यक्ति तथा परिवारको दावी भूक्तानी गर्ने, कम्पनीहरुको स्वीकृत दावी संख्यालाई आधारमानि समानूपातिक रुपमा बाँडफाँट गर्ने, समानूपातिक रुपमा बाँडफाँट गर्दा व्यक्ति तथा परिवारलाई तिर्नु पर्ने दावी संख्या भन्दा बढि रकम नदिने, बाँडफाँट भइ बाँकी रहने रकमलाई जुन कम्पनीहरुको व्यक्ति तथा परिवारका संख्या बढि छन् तिनै कम्पनीहरुमा पूनःस्वीकृत दावी संख्याको अनुपातमा बाँडफाँट गर्ने र दावी भूक्तानी गर्ने व्यक्ति तथा परिवारको नाम कम्पनीहरुले बीमक संघबाट सहि छाप गराई आ–आफ्नो वेव साइटमा प्रकाशित गर्ने निर्णय बीमक संघको बैठकले निर्णय गरेको छ । कोरोना बीमा दावी भूक्तानी, जोखिम समूहको पूनर्बीमा सम्झौता लगायत बीमक संघले गरेको निर्णयलाई कार्यान्वयन गर्न बीमा कम्पनीहरुलाई संघले आग्रह गरेको हो । भूक्तानी गरिएको दाबीकर्ताहरुको सूचीकको एक प्रति बीमक संघ र पुललाई उपलब्ध गराएको रकमको चेक बीमक संघबाट लिइ दाबी प्रकृयालाई सहज गर्न संघको भनाइ छ । गत कात्तिक १५ गते अर्थ मन्त्रालयले ५५ प्रतिशत रकम मात्र तिर्ने बताएको थियो । सोहि पत्रलाई आधार मानेर बीमा प्राधिकरणले कात्तिक १७ गते बीमा कम्पनीहरुलाई रकम भुक्तानी गर्न निर्देशन दिएको थियो । माहामारीको बीमा तथा पुनर्बीमा नहुने भनेर बीमा कम्पनीहरुले आग्रह गर्दा पनि सरकार र बीमा समितिले ३.५ अर्ब रुपैयाँ माथिको दायित्व सरकारले स्वीकार गर्ने भनेको थियो । सरकारले बीमा कम्पनीहरुलाई बीमालेख जारी गर्न बाध्यकारी प्रावधान बनाएर बीमा मापदण्ड २०७७ लागु गरेको थियो । अहिले सरकारले आफैँले बनाएको कोरोना बीमा निर्देशिकाको उलंघन गर्दै दायित्व स्वीकार नगरी बीमा कम्पनीहरुलाई थप दायित्व श्रृजना गर्दै पत्र पठाएकोमा बीमक संघले गुनासो गरेको छ । ‘सरकारले कोरोना बीमा मापदण्ड २०७७ बमोजिम बीमा दाबी गर्नु पर्नेमा गर्नुपर्नेमा उक्त निर्देशिका बमोजिम हालसम्म उक्त रकम नआएको तर अर्थ मन्त्रालयको पत्र गत कात्तिक १५ गतेको पत्र अनुसार ५५ प्रतिशत रकम मात्र तिर्ने गरी पठाएको पत्रलाई आधार मानेर बीमा प्राधिकरणले कात्तिक १७ गते बीमा कम्पनीहरुलाई निर्देशन आएको छ,’ बीमक संघले भन्यो, ‘माहामारीको बीमा तथा पुनर्बीमा नहुने भनि बीमकहरुले बीमा नगर्ने अनुरोध तथा लिखित निवेदन गर्दा पनि सरकार र बीमा समितिले ३.५ अर्ब रुपैयाँ माथिको दायित्व सरकारले स्वीकार गर्ने भनेको थियो, सरकारले बीमा कम्पनीहरुलाई बीमालेख जारी गर्न वाध्यकारी प्रावधान बनाएर बीमा मापदण्ड २०७७ लागु गरेको थियो ।’ नियामकले जारी गरेका प्रावधान र निर्देशिका बीमकहरुको लागि कानून सरह हुने भएकोले कानूनको पालनाको लागि बीमा कम्पनीहरु बीमालेख जारी गर्न बाध्य भएको बीमक संघले भनेको छ । तर, अहिले सरकारले आफैँले बनाएको कोरोना बीमा निर्देशिकाको उल्लंघन गर्दै दायित्व स्वीकार नगरी बीमा कम्पनीहरुलाई थप दायित्व श्रृजना गरेको आरोप बीमक संघले बताएको छ । ‘सरकार विरुद्धको उक्त गैरकानूनी कार्यलाई पछि कानूनी रुपमा छलफल गर्ने तर दावीकर्ताहरुको पिडालाई मध्यनजर गरी हाललाई जे जति रकम प्राप्त भएको छ सोही रकमलाई भुक्तानी गरिनेछ, बीमकहरुले संचालक समितिबाट स्विकृती लिनुपर्ने भए स्वीकृत लिन पनि भुक्तानी गर्न आग्रह छ,’ बीमक संघको धारणा छ ।

नेपाल लाइफले भुक्तानी गर्यो ५४ अर्ब ७६ करोडको दावी

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्ब दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दावी भुक्तानी भएकाे कम्पनीले जनाएकाे छ । नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्तसम्म ५.०३ अर्ब मृत्यु दावी, १५.२६ अर्ब अवधि समाप्ति दावी भुक्तानी र १८.५३ अर्ब आंशिक अवधि भुक्तानी गरिसकेको छ । यसका साथसाथै अन्य शिर्षक जस्तै बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दावी, घातक रोग वापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधा अन्तर्गत कम्पनीले १५.९४ अर्ब दावी भुक्तानी गरिसकेको छ । बीमित र बीमक बिचको करार बमोजिम जोखिमको क्षति पश्चात वा अवधि समाप्ति पश्चातको रकम यथासमयमा भुक्तानी (दावी भुक्तानी) गर्न नेपाल लाइफ सदैव तत्पर रहेको कुरा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउँछन् । अवधि भुक्तानी दावी बीमाको अवधि समाप्ति पश्चात भुक्तानी गरिन्छ भने मृत्यु दावी तथा अन्य क्षतिको दावी बीमा अवधि भित्र जुन सुकै समयमा घटित घटना पश्चात भुक्तानी गरिन्छ तर यसमा बीमा पूर्णतया अभिछिन्न चालु रहनु पर्दछ । त्यस्तै, आंशिक अवधि भुक्तानीमा निश्चित अवधिको अन्तराल पश्चात बीमा करारमा तोकिए बमोजिम रकम भुक्तानी गरिन्छ । बीमितहरुलाई छिटोछरितो चुस्त, दुरुस्त, तवरले दावी भुक्तानी गरिरहेको नेपाल लाइफ इन्स्योरेन्सले देशैभरी सातै वटा प्रदेशमा फैलिएर रहेका १९७ क्षेत्रीय कार्यालयहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।