नेपाल लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित १५.७८९५ प्रतिशत नगद लाभांश पारित भएको छ । बिहीबार सम्पन्न कम्पनीको २२ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कार्त्तिक १८ गतेका लागि बुक क्लोज गरेको थियो । यससँगै कार्त्तिक १७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सो मात्राको नगद लाभांश पाउने छन् । त्यसैगरी, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
इन्स्योरेन्सको सेयर कारोबार गर्न पुलिस रिपोर्ट चाहिने, बीमालेखमा समेत प्राधिकरणको कडाई
काठमाडौं । अबदेखि बीमा कम्पनीको एक प्रतिशतभन्दा बढीको संस्थापक सेयर कारोबार गर्दा प्रहरी प्रतिवेदन (पुलिस क्लियरेन्स रिपोर्ट) अनिवार्य चाहिने भएको छ । उक्त सेयर कारोबार गर्न नेपाल बीमा प्राधिकरणको स्वीकृति लिँदा खरिदकर्ताको प्रहरी प्रतिवेदन प्राधिकरणमा पेश गर्नुपर्ने भएको हो । प्राधिकरणले सञ्चालित सबै जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुलाई एक पत्राचार गर्दै सो उक्त निर्देशन दिएको हो । निर्देशनमा ‘एक प्रतिशतभन्दा बढीको संस्थापक सेयर कारोबारको सम्बन्धमा प्राधिकरणको स्वीकृति माग गर्दा खरिदकर्ताको प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने’ उल्लेख छ । यससँगै, प्राधिकरणले जीवन बीमालेखमा समेत कडाई गरेको छ । नयाँ व्यवस्था अनुसार जीवन बीमा कम्पनीहरुले २५ लाखभन्दा बढी बीमांक कायम गरी जारी हुने जीवन बीमालेखमा इच्छ्याईएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजात अनिवार्य लिनुपर्ने प्राधिकरणको निर्देशन छ । बीमालेखमा हितग्राही तथा मनोनित उल्लेख गर्दा निजको पहिचान सम्बन्धी कागजात (नागरिकता वा सरकारी निकायबाट जारी परिचय खुल्ने अन्य कागजात) अनिवार्य लिनुपर्ने प्राधिकरणको नयाँ व्यवस्था छ । त्यसैगरी, बीमा कम्पनीहरुले बीमालेखमा हितग्राही तथा मनोनित उल्लेख गर्दा उक्त व्यक्ति उच्च राजनैतिक व्यक्ति (पीईपीएस) भए तथा नभएको एकीन गर्नुपर्ने छ । नयाँ व्यवस्था अनुसार कम्पनीका सञ्चालक तथा कार्यकारी प्रमुखको नियक्ति सम्बन्धी उपयुक्तताको परीक्षण (फीट एण्ड प्रपर टेष्ट) गर्दा निजको अपराधिक पृष्ठभूमिबारे जानकारी लिन प्रहरी प्रतिवेदन अनिवार्य गर्नुपर्ने छ । त्यस्तै, प्राधिकरणले बीमकका कर्मचारी तथा बीमा अभिकर्ताका लागि सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम तथा अभिमुखीकरणको संख्या बढाउन समेत निर्देशन दिएको छ । प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनु पर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन सो निर्देशन दिएको हो । यसले बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनीकरण गर्नेमा प्राधिकरण विश्वस्त छ ।
नेप्सेमा नेशनल लाईफको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्स कम्पनीको १५ प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ५२१ रूपैयाँ ५७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५९९ रूपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । बिहीबार सोही मूल्य अनुसार कारोबार हुनेछ । इन्स्योरेन्स कम्पनीले मंसिर १८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा नेशनल लाइफ भवन केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले २०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।