बिजनेस विस्तारमा राष्ट्रिय बीमा कम्पनी आक्रामक, ५ वटामा देखियो मन्दी (सूचीसहित)

काठमाडौं । पछिल्लो समय राष्ट्रिय बीमा कम्पनी बिजनेस विस्तारमा आक्रामक बन्दै गएको छ । नेपाल सरकारको स्वामित्व प्राप्त कम्पनीले अन्य कम्पनीको तुलनामा सर्वाधिक प्रतिशतले प्रिमियम बढाएर आक्रामक देखिएको हो । कम्पनीले चालु आवको तीन महिनामै एक अर्ब २६ करोड रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशतले बढी हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्म ४४ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, उक्त बीमाशुल्क अन्य १८ कम्पनीको तुलनामा सर्वाधिक पनि हो । त्यसैगरी, बिजनेसमा आक्रामक देखिनेको दोश्रोमा लुम्बिनी जनरल इन्स्योरेन्स छ । गत आवको तुलनामा कम्पनीले आफ्नो बिजनेस ३८.१४ प्रतिशतले बढाएर ५० करोड २४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गर्न सफल भएको छ । रकमको आधारमा राष्ट्रिय बीमा कम्पनीलाई शिखर इन्स्योरेन्सले पछ्याएको छ । शिखरले पनि तीन महिनामै १ अर्ब बढी अर्थात एक २ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १.६७ प्रतिशतले बढी हो । तेश्रोमा सगरमाथा इन्स्योरेन्स छ । समीक्षा अवधिमा इन्स्योरेन्सले ८५ करोड २१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा भने ६.०२ प्रतिशतले घटी हो । गत वर्षको पहिलो त्रैमासमा सगरमाथा इन्स्योरेन्सले ९० करोड ६७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको थियो । समितिको तथ्याङ्क अनुसार अधिकांश निर्जीवन बीमा कम्पनीको बिजनेस बढेको छ । तर ५ वटा कम्पनीमा भने मन्दी देखिएको तथ्यांकले देखाउँछ । गत वर्षको तुलनामा यूनाईटेड, एनएलजी, प्रिमियर, सगरमाथा र जनरल इन्स्योरेन्सको बिजनेस चालु आवमा घटेको छ । जसमध्ये यूनाईटेड इन्स्योरेन्सको सर्वाधिक अर्थात २६।५८ प्रतिशतले घटेको छ । गत वर्ष ४४ करोड २ लाख रुपैयाँ प्रिमियम संकलन गरेको कम्पनीले चालु आवमा भने ३२ करोड ३१ लाख रुपैयाँ मात्रै संकलन गर्न सफल भएको छ । गत वर्षको तुलनामा चालु आवमा निर्जीवन बीमा कम्पनीको व्यवसाय औसतमा निर्जीवन बीमा व्यवसाय ११.८५ प्रतिशतले बढेको छ । बीमा समितिका अनुसार कम्पनीहरुले तीन महिनामै १० अर्ब ८४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जुन गत वर्ष ९ अर्ब ६९ करोड रुपैयाँ थियो ।

बीमा प्राधिकरण औपचारिक रूपमा सूरु, बीमा विकास कोष र बीमित हित संरक्षण कोष स्थापना गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले औपचारिक रूपमा कार्य सुरु गरेको छ । मंगलबार प्राधिकरण कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नेपाल बीमा प्राधिकरणको नामबाट आफ्नो काम सुरु गरेको हो । संविधान बमोजिम संघिय संसद्बाट बनेको बीमा ऐन, २०७९ कात्तिक २२ गतेदेखि लागू भएको जनाएको छ । बीमा ऐन, २०७९ बमोजिम बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’ मा परिणत भएको जनाएको छ । प्राधिकरणले आजदेखि औपचारिक रूपमा काम शुरू गरेको हो । यसअघि, नेपालको बीमा नियमनकारी निकायका रूपमा बीमा समितिबाट भएका सम्पूर्ण काम कारवाहीहरू आजदेखि नेपाल बीमा प्राधिकरणबाट गरेको वा भएको मानिने प्राधिकरणको भनाइ छ । नेपाल बीमा प्राधिकरणलाई थप स्वायत्तता नेपाल बीमा प्राधिकरण बीमा व्यवसायको नियमनकारी निकायका रूपमा रहने र प्राधिकरणले नेपाल सरकारको बीमा सम्बन्धी सल्लाहकारका रूपमा समेत कार्य गर्ने व्यवस्था बीमा ऐन २०७९ मा रहेको छ । ऐनले नेपाल बीमा प्राधिकरणलाई थप अधिकार सहित स्वायत्त बनाएको छ । बीमा कम्पनीको स्थापना गर्न पूर्वस्वीकृति दिने, इजाजतपत्र प्रदान गर्ने तथा खारेजी गर्ने, बीमा व्यवसायका लागि आवश्यक विनियम, निर्देशिका, मार्गदर्शन र आदेश जारी गर्ने, बीमा मध्यस्थकर्तालाई इजाजतपत्र प्रदान गर्ने, नवीकरण गर्ने तथा खारेजी गर्ने लगायतका अधिकारहरू प्राधिकरणमा निहित रहेका छन् । बीमा व्यवसायसँग सम्बन्धित पूँजी तथा पूँजीकोष निर्धारण गर्ने, बीमा व्यवसायको जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने, न्यून आय भएका बर्गसम्म बीमाको पहुँच पुर्याउन लघुबीमा व्यवसायको प्रवद्र्धन गर्ने, बीमा सम्बन्धमा प्रदेशसँग समन्वय गर्ने लगायतका कार्यहरू प्राधिकरणले गर्ने कानुनी व्यवस्था रहेको छ । बीमा विकास कोष र बीमित हित संरक्षण कोष आर्थिक रूपले विपन्न वर्गका नागरिकसम्म बीमाको पहुँच पुर्याइ बीमाको माध्यमबाट नागरिकको हित संरक्षण गर्नका लागि नेपाल बीमा प्राधिकरणमा एक बीमा विकास कोष रहने व्यवस्था बीमा ऐन २०७९ मा रहेको छ । कोषमा नेपाल सरकारबाट प्राप्त रकम, प्राधिकरणलाई बीमकबाट प्राप्त हुने लघुबीमा नियमन शुल्कको ५० प्रतिशतले हुन आउने रकम, प्राधिकरणलाई बीमकबाट प्राप्त हुने नियमन शुल्कको कम्तीमा ३३ प्रतिशतले हुन आउने रकम र अन्य स्रोतबाट प्राप्त रकम रहने कानूनी व्यवस्था गरिएको छ । नेपाल बीमा प्राधिकरण अन्तर्गत एक बीमित हित संरक्षण कोष रहने व्यवस्था ऐनले गरेको छ । कोषमा प्राधिकरणले सो प्रयोजनका लागि छुट्याएको रकम, जीवन बीमा व्यवसाय गर्ने बीमकबाट प्राधिकरणले तोकेको रकम र जीवन बीमालेख अन्तर्गत भुक्तानी गर्नुपर्ने अवस्था परी भुक्तानी हुन नसकी दाबी नभएको (अनक्लेम फण्ड) मा जम्मा भएको रकम रहने व्यवस्था ऐनमा रहेको छ । बीमक मर्जर बीमक गाभ्न वा गाभिन सक्ने, बीमा व्यवसाय हस्तान्तरण गर्न सक्ने, नेपाल बीमा प्राधिकरणले बीमकलाई गाभ्न वा गाभिन निर्देशन दिनसक्ने, बीमकले अर्को बीमक प्राप्ति गर्न सक्ने, कुनै बीमकले कानून विपरित काम गरेमा त्यस्तो बीमकको इजाजतपत्र निलम्बन गर्न वा व्यवसाय गर्न रोक लगाउन र इजाजतपत्र खारेज गर्नसक्नेसम्मका अधिकार प्राधिकरणमा रहेको छ । प्राधिकरणले समय समयमा चुक्ता पूँजी निर्धारण गरे बमोजिम बीमकले चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था रहेको छ । बीमकले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पूँजी तथा पूँजी कोष कायम गर्न नसकेको लगायतका समस्याहरू देखिएमा प्राधिकरणले बीमितको हक हित संरक्षणका लागि त्यस्तो बीमकलाई समस्याग्रस्त घोषणा गर्नसक्ने र विशेष व्यवस्थापन समूह गठन गरी बीमकको संचालन तथा व्यवस्थापन सम्बन्धी कार्य अघि बढाउन सक्ने कानूनी व्यवस्था रहेको छ । बीमा सूचना केन्द्र र बीमा सम्बन्धी प्रतिष्ठान प्राधिकरणले बीमा क्षेत्रका सूचना सङ्कलन गरी व्यवस्थित गर्नका लागि बीमा सूचना केन्द्र स्थापना गर्नसक्ने, बीमा व्यवसायमा हुनसक्ने जालसाजी, कीर्ते वा ठगी सम्बन्धी दाबीहरूको अध्ययन अनुसन्धानका लागि विज्ञ समूह गठन गर्नसक्ने, बीमासम्बन्धी तालिम, अध्ययन अनुसन्धानका लागि बीमा सम्बन्धी प्रतिष्ठान स्थापना गर्नसक्ने व्यवस्था बीमा ऐन, २०७९ ले गरेको छ । प्राधिकरणको पूर्व स्वीकृति लिएर बीमकले नेपालभित्र वा विदेशमा शाखा कार्यालय खोल्नसक्ने कानूनी व्यवस्था गरिएको छ । इन्स्योरेन्स फण्ड र महाविपत्ति कोष बीमकले प्राधिकरणले निर्धारण गरे बमोजिमको मात्रा र अनुपातमा बीमा कोष (इन्स्योरेन्स फण्ड) को व्यवस्था गर्नुपर्नेछ । साथै, बीमकले बीमा व्यवसाय सम्बन्धी दायित्व बहन गर्न छुट्टै एक अनिवार्य जगेडा कोष समेत कायम गर्नुपर्ने व्यवस्था ऐनमा रहेको छ । बीमकले महाविपत्तिको कारणबाट भविष्यमा आइपर्ने क्षति व्यहोर्नका लागि छुट्टै एक महाविपत्ति कोष राख्नुपर्ने र दाबी भुक्तानी कोष तथा जगेडा समेत खडा गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ । बीमकको कूल सम्पत्ति कूल दायित्वभन्दा बढी हुनुपर्ने र कूल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि छुट्याउनुपर्ने कानूनी व्यवस्था रहेको छ । लघुबीमा व्यवसाय प्रत्येक बीमकले न्यून आय भएका बर्ग तथा पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्नुपर्ने, लघुबीमा मात्र गर्ने प्रयोजनका लागि बीमा कम्पनी खोल्न सकिने र लघुबीमाको नियमनकारी सेवा प्राप्त गर्न प्रत्येक बीमकले आर्जन गरेको कूल बीमा शुल्कको ०.५ प्रतिशतका दरले नियमन शुल्क प्राधिकरणमा बुझाउनु पर्ने व्यवस्था ऐनले गरेको छ । इजाजतप्राप्त बीमक बाहेक अन्य कसैसँग बीमा व्यवसाय सम्बन्धी कारोवार गर्न नपाउने कानूनी व्यवस्था रहेको छ । सरकार समक्ष प्रतिवेदन पेश नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

नेपाल रिलाई सुझाव : प्रतिस्पर्धीसँग नडराउनु, ग्लोबल मार्केटमा बिक्न सक्ने हैसियत बनाउनु

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) आफ्नो स्थापनाको आठौं वर्ष पार गरेर नवौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले काठमाडौंको होटल याक एण्ड यतिमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो नवौं वार्षिकोत्सव मनायो । उक्त कार्यक्रममा कम्पनीले विभिन्न निकायबाट वार्षिकोत्सवको शुभकामनासँगै सुझावहरु बटुलेको छ । कम्पनीलाई बीमा समिति, जीवन बीमक संघ लगायत नेपाल बीमक संघले आगामी दिनमा बिजनेसमा थप एग्रेशिभ हुनदेखि अन्तर्राष्ट्रिय बजारमा समेत व्यवसायिक दायरा अघि बढाउनसम्मको सुझावहरु दिएका छन् । ‘नेपाल पुनर्बीमा कम्पनी आठौं वर्ष पार गरेर नवौं वर्षमा प्रवेश भइसकेको छ, अब कुद्न सक्ने भइसक्यो,’ कार्यक्रममा शुभकामना दिँदै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने । त्यस्तै, उनले पुनर्बीमा कम्पनीले चुक्ता पुँजी बढाउनु पर्ने औंल्याएका छन् । त्यसको लागि नेपालमा मात्रै सीमित नभई अन्तर्राष्ट्रिय बजारमा व्यापार बढाउन आवश्यक रहेको उनको भनाइ छ । व्यवसाय गर्ने निजी क्षेत्रले मात्रै हो बताउँदै उनले जीवन र निर्जीवन बीमा कम्पनीले स्वदेशमा मात्रै व्यवसाय गर्न पाउँछन् भने पुनर्बीमा कम्पनीले देशैभरीको व्यवसाय गर्न पाउने बताए । पुनर्बीमाको मार्केट नै सिङ्गो मुलुक भएको समेत उनले बताए । नेपाल पुनर्बीमा कम्पनीले ९ वर्षको अवधिमा नेपालमा पुनर्बीमा कम्पनीलाई स्थापित गर्ने काम गरेको बताउँदै आउने दिनमा पनि पतिस्पर्धी कम्पनीको रुपमा राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय व्यवसाय ल्याउन सक्ने अध्यक्ष सिलवालको विश्वास छ । प्रतिस्पर्धी आइसकेको अवस्थामा नेपाल पुनर्बीमा कम्पनीले अब कसरी अघि बढ्ने भन्नेतर्फ सोच्न आवश्यक रहेको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए । नयाँ सोच, नयाँ प्लानिङ्मा बिजनेस कसरी बढाउने त्योतर्फ कम्पनीको ध्यान जान जरुरी रहेको उनको भनाइ छ । नेपालका पुनर्बीमाले स्वदेशमा मात्रै सीमित नभई बाहिरी देशबाट बिजनेस ल्याउन प्रतिस्पर्धी बन्दा नेपालको पुनर्बीमा व्यवसाय निकै अघि बढ्ने समेत क्षेत्रीले बताए । जीवन बीमक संघको तर्फबाट कोषाध्यक्ष प्रवीण रमण पराजुलीले नेपाल पुनर्बीमा कम्पनीले एक वर्षसम्ममा पनि बीमा दावीको व्यवस्थापन र फर्छौट नगरिदिएकोमा गुनासो गरेका छन् । त्यसैले कम्पनीले आफुले दिने सेवा सुविधालाई यथाशिघ्र छिटो दिने व्यवस्था मिलाउन अत्यन्त जरुरी रहेको उनले बताए । ‘हामी (बीमा कम्पनीहरु) नेपाल पुनर्बीमा कम्पनीले दिने सर्भिसहरुलाई व्यवस्थापनतर्फबाट मात्रै नभई कम्पनीको योग्यता, क्षमता, व्यवसायिक विशेषज्ञताबाट हामी (कम्पनीहरु) आफै लालायित भएर आउने वातावरण हुनपर्नेमा आशावादी रहेका छौं,’ उनले भने । त्यस्तै, पुनर्बीमा क्षेत्रमा बिजनेस मात्रै नभई कम्पनीको आन्तरिक श्रोत क्षमता बढाउनसँगै कर्मचारीहरुलाई दक्ष बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको तालिमको समेत खाँचो रहेको देखिन्छ । संस्था हरेक वर्ष सुदृढ हुँदै गइरहेको तर सुधारका लागि धेरै गृहकार्यहरु गर्न जरुरी रहेको पराजुलीले औल्याए । साथै, कम्पनीहरुले आफ्नो पुनर्बीमा व्यवसायलाई स्वदेशमै राख्न सक्ने सम्भावनालाई थप मजबुत हुने व्यवस्था भयो भने थप राम्रो हुने नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका पराजुलीले बताए । त्यस्तै, बीमा समितिका पूर्व अध्यक्ष प्रा.डा. फत्त बहादुर केशीले नेपाल पुनर्बीमा कम्पनीले ग्लोबल मार्केटमा सेल गर्न सक्ने हैसियत राख्नुपर्ने बताए । सरकारले बिजनेस दिने भएकाले नेपालको बीमा क्षेत्र डिपेन्डेन्सी क्षेत्रबाट मुक्त हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले प्रतिस्पर्धी (हिमालयन रि) आएसँगै कम्पनीको ५ अर्बको बिजनेस घट्ने बताए । यससँगै सरकारले सरकारी कम्पनीको नै संरक्षण गर्न नसकेको समेत आरोप लगाए । त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा.रबिन्द्र घिमिरेले पुनर्बीमा कम्पनीका लागि अबका दिनहरु चुनौतिपूर्ण रहेको बताए । दिनानुदिन भइरहेको क्लाइमेट चेञ्ज, युद्धहरुले गर्दा रिइन्स्योरेन्सको लागि आउने दिनहरु चुनौतिपूर्ण रहेको उनले प्रष्ट पारे । ‘प्रतिस्पर्धा उत्तिकै डरलाग्दो छ, आन्तरिक रुपमा मात्रै होइन, विश्व बजारमै डरलाग्दो प्रतिस्पर्धा छ, धेरै किसिमका जोखिमहरुको सामना गर्नुपर्ने अवस्था छ, अन्तर्राष्ट्रिय बजारहरुमार्फत सूचना प्रविधिको प्रयोग गरेर लागत घटाउनुपर्ने, एआईबाट काम कारवाही गर्नु पर्ने जस्ता दवावहरु आइरहेको छ, दक्ष जनशक्तिको अभाव छ,’ उनले भने । साथै, उनले रि इन्स्योरेन्स क्षेत्रलाई ड्राइभ गर्न सक्ने सफल नेतृत्वको अभाव रहेको समेत औल्याएका छन् । त्यस्तै, बीमा ऐन अन्तर्गत बीमा प्राधिकरणले दिने सम्पूर्ण जिम्मेवारीहरु पुरा गर्न कम्पनी तयार रहेको समेत अध्यक्ष डा. घिमिरेले जनाए । उक्त वार्षिकोत्सवको अवसरमा कम्पनीले नेपाल पुनर्बीमा स्मारिका २०७९ सार्वजनिक गरेको छ । जुन कम्पनीको इतिहासमै पहिलो पटक सार्वजनिक भएको स्मारिका हो ।