छाेरालाई जन्मदिनमा १५ लाखकाे जीवन बीमा पाेलिसी उपहार
काठमाडौं । मर्स्याङ्गदी ३ लमजुङ्ग निवासी बेल बहादुर तामाङले आफ्ना १ वर्षीय छोरा अभिनव तामाङलाई जीवन बीमा पोलिसि दिएर जन्मदिन मनाएका छन् । रिलायन्स लाइफ इन्स्योरेन्सको बेसीशहर शाखाबाट तामाङ्गले मेरो मुटु बाल जीवन बीमा योजना अन्तर्गत जारी भएको १५ लाख बराबर रकमको बीमा पोलिसी उपहार दिएर जन्मदिन मनाएका हुन् । आफ्नो सन्तानको सुरक्षित भविष्यको लागि जन्मदिनमा जीवन बीमा पोलिसि उपहार दिएको उनले बताए । आम नागरिकमा बीमा प्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको छ । विशेष गरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियान जस्तै भइरहेको छ । आफनो सन्तानको सुरक्षित भविष्यको लागि हरेक बुवा आमाले समयमा नै जीवन बीमा मार्फत सुरक्षित गर्ने जन्मदिनलाई अवसर पार्न थालिएको छ । रिलायन्स लाइफ इन्स्योरेन्स नेपालभर प्रदेश नं. १ देखि ७ सम्म १२४ शाखा मार्फत आफनो सेवा प्रदान गरिरहेको छ भने प्रिमियम भुक्तानीलाई समेत प्रविधिमैत्री बनाई आफु बसेको स्थानबाटै भुक्तान गर्न मिल्ने व्यवस्था समेत गरेको छ ।
बीमा क्षेत्रमा देखिन थाल्यो मन्दी, उत्साहजनक भएन पहिलो त्रैमास
काठमाडौं । पछिल्लो समय जीवन तथा निर्जीवन बीमा क्षेत्रमा मन्दी देखिन थालेको छ । चालु आर्थिक वर्ष २०७९/८० लागेसँगै अर्थात गत साउनदेखि बीमा क्षेत्रमा मन्दी देखिन थालेको हो । कोरोना पछि नेपालको आर्थिक अवस्था खस्कँदै गएपनि हालसम्म त्यसको असर बीमा व्यवसायमा परेको थिएन । २०७९ असारसम्ममा जीवन तथा निर्जीवन बीमा व्यवसाय दुबैको ग्रोथ थियो । अघिल्लो वर्षको तुलनामा गत वर्षको अन्तिम त्रैमासमा कम्पनीहरुको व्यवसाय औषतमा २५ प्रतिशतसम्मले बढेको थियो । तर सुस्ताउँदै गएको अर्थतन्त्रको प्रभाव गत साउनदेखि बीमा क्षेत्रमा देखिन थालेको तथ्याङ्कले देखाएको छ । चालु आवको पहिलो त्रैमासमा विगतका दुई वर्षमा देखिएको जस्तो ग्रोथ नदेखिने बीमक संघका अध्यक्ष चंकी क्षेत्री बताउँछन् । कोरोनाको समयमा पनि प्रभावित नभएको बीमा क्षेत्र अहिले प्रभावित हुँदै गएको उनले बताए । ‘बिजनेश राम्रो छैन, सम्भवतः औषतमा पछिल्लो दुई वर्षको जस्तो ग्रोथ देखिँदैन,’ सगरमाथा इन्स्योरेन्सका सीईओ समेत रहेका क्षेत्रीले सबै कम्पनीको प्रतिनिधित्व गर्दै बताए । आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीले कूल ९ अर्ब ७० करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका थिए । कम्पनीहरुले ६ लाख ८३ हजार वटा बीमालेख बिक्री गरी सो मात्राको प्रिमियम संकलन गर्न सफल भएका थिए । त्यस्तै, अघिल्लो आव अर्थात आव २०७७/७८ को सोही अवधिमा निर्जीवन बीमा व्यवसायबाट ७ करोड ७० लाख रुपैयाँ बराबरको प्रिमियम उठेको थियो । गत साउनको तुलनामा भदौमा निर्जीवन कम्पनीहरुको बिजनेस औषतमा २४.०६ प्रतिशतले घटेको छ । बीमा समितिका अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीले भदौमा मात्रै ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको बिजनेश गरेका छन् । जुन साउनको तुलनामा एक अर्ब ७ करोड रुपैयाँले घटी हो । कम्पनीहरुले साउनमा ४ अर्ब ४७ करोड रुपैयाँ बराबरको बिजनेश अर्थात बीमाशुल्क आर्जन गरेका थिए । यता जीवन बीमा कम्पनीहरुको पनि व्यवसाय खस्किँदै गएको देखिन्छ । गत साउनमा १५ अर्ब ५ करोडको बिजनेस भएकोमा भदौ एक महिनामै घटेर १० अर्ब ९७ करोड रुपैयाँमा झरेको थियो । जीवन बीमा कम्पनीहरुको छाता संगठन जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले जीवन बीमा कम्पनीकोे लागि चालु आवको पहिलो त्रैमास राम्रो नभएको बताएका छन् । ‘पहिलो क्वाटर त्यति राम्रो भएन, बिजनेस डाउन छन्,’ उनले विकासन्युजसँग भने- ‘चालु आवमा जीवन बीमाको बिजनेस गत वर्षको तुलनामा ८/१० प्रतिशतले घटेको छ ।’ बीमा समितिका अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले ३७ अर्ब ८९ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए । तर चालु आवमा भने उक्त रकममा ८/१० प्रतिशत गिरावट देखिने श्रेष्ठले बताए । किन छायो मन्दी ? निर्जीवन बीमा क्षेत्रको बिजनेस घट्नुको प्रमुख कारण गाडी आयातमा गरिएको प्रतिबन्ध हो । जसको कारण दशैं तिहारमा नयाँ सवारी साधनहरु नेपाल भित्रिन पाएनन् । त्यसको प्रत्यक्ष असर बीमा व्यवसायमा परेको जानकारहरु बताउँछन् । निर्जीवन बीमा कम्पनीका सीईओहरुको छाता संगठन बीमक संघका अध्यक्ष चंकी क्षेत्री पनि सवारी साधानको आयातमा गरिएको प्रतिबन्धको असर बीमामा परेको स्वीकार्छन् । र, भएका स्टकहरु पनि सकिन थालेसँगै बिजनेस ठप्प भएको उनी बताउँछन् । त्यस्तै, कम्पनीहरुको बिजनेसमा ह्रास आउनुको अर्को कारण बैंकहरुबाट ऋण नपाउनु हो । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउन गाह्रो भएको छ । जसले गर्दा ऋण लिएर बाइक स्कुटर तथा गाडी किन्नेहरुले किन्न पाएका छैनन् । र, त्यसको असर बीमा परेको छ । कारोना कालमा जोखिम नै भएपनि बीमा व्यवसायमा असर देखिएको थिएन । तर पछिल्लो समय त्यसको असर बीमा व्यवसायमा पनि पर्न थालेको सीईओ चंकीको भनाई छ । ‘समग्र अर्थतन्त्र नै सुस्ताएपछि सबैतिर चेन इफेक्ट त परिहाल्छ,’ उनले थपे । जीवन बीमाको बिजनेस घट्नुमा पनि विभिन्न कारणहरु छन् । मेटलाइफ इन्स्योरेन्सका सीईओ समेत रहेका श्रेष्ठका अनुसार पछिल्लो महिनाको बिजनेस घट्नुको प्रमुख कारण चाडपर्वको अवसरमा परेको लामो बिदा नै हो । यसका साथै देशको खस्कँदो आर्थिक अवस्था र बैंकको बढ्दो व्याजदरको प्रभाव बीमा क्षेत्रमा परेको उनको भनाई छ ।
सानिमा जीआईसीको सीईओमा उपाध्याय नियुक्त, बीमा क्षेत्रमा दुई दशक बढीको अनुभव
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् । कार्त्तिक ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल एक आपसपमा गाभिएपछि सानिमा जीआईसी इन्स्योरेन्सबाट कार्त्तिक ७ गतेदेखि एकीकृत कारोबार भएको हो । यससँगै कम्पनीको सीईओमा सानिमा जनरलका सीईओ उपाध्यायलाई नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव तथा नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठले जानकारी गराए । विगत दुई दशकदेखि बीमा क्षेत्रमा कार्यरत उपाध्यायले २०७७ जेठदेखि सानिमा जनरल इन्स्योरेन्समा सीईओको कार्यभार सम्हाल्दै आएका थिए । सानिमा जनरलमा आउनु अघि उनी प्रिमियर इन्स्योरेन्स कम्पनीमा सीईओ थिए । उनले उक्त कम्पनीमा ४/४ वर्षको दुई कार्यकाल बिताएका थिए । त्यस्तै, कम्पनीको सञ्चालक समितिमा अध्यक्षसहित ६ जना नियुक्त भएका छन् । कम्पनीको अध्यक्षमा कुनाल कयाल नियुक्त भएका छन् भने सञ्चालकमा डा. हेमन्त कुमार दवाडी, सोनाम ग्याछो, कृष्ण बोहरा, मिता मुरारका अग्रवाल र प्रकाशमान श्रेष्ठ रहेका छन् ।