नेपाल पुनर्बीमा कम्पनी नवौं वर्षमा प्रवेश, एशियाको सशक्त पुनर्बीमक बनाउने
काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आज नवौं बार्षिकोत्सव मनाउने भएको छ । वि.स. २०७१ कार्तिक २१ गते स्थापना भइ औपचारिक कारोबार सुुरु गरेको कम्पनीले यस अवधिमा विभिन्न उचाइ चुम्न सफल भएको छ । कम्पनीले विश्वका ३० भन्दा बढी देशहरुमा व्यवसायिक सम्बन्ध स्थापित गरी विभिन्न पोलिसी मार्फत करोडौं रुपैयाँ प्रिमियम नेपाल भित्राउन सफल भएको छ । कम्पनीले आफ्नो नवौं बार्षिकोत्सवको अवसरमा कम्पनीलाई स्थापना कालदेखि आजको अवस्थासम्म ल्याई पुर्याउन सहयोग गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, बीमा समिति लगायत सबै नियामक निकायहरु, बीमा समितिका पूर्व तथा वर्तमान अध्यक्ष तथा संचालकहरु, स्वदेशी तथा विदेशी बीमा तथा पुनर्बीमा कम्पनी, पुनर्बीमा दलाल, आकस्मिक बीमा कोष स्थापनाकालदेखि आजसम्म संचालक समिति र विभिन्न समिति, उपसमितिलाई आभार प्रकट गरेको छ । साथै कम्पनीमा योगदान गर्ने ब्यक्ति, उच्च व्यवस्थापनमा रही योगदान गर्ने वर्तमान तथा पूर्व कर्मचारीहरु, एक्चुरी, सर्भेयर, अभिकर्ता, परमार्शदाताहरु, अनुसन्धानकर्ता, नीति निर्माता, लगायत बीमा क्षेत्रमा कार्यरत सबै प्रति आभार ब्यक्त गरेको छ । यस कम्पनीलाई एशिया प्रशान्त क्षेत्रको एक सशक्त पुनर्बीमकको स्थानमा पुर्याउने प्रतिवद्धता कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेले गरेका छन् । कम्पनीको यस लक्ष्यलाई मूर्त रुप दिन सबैको सहयोग, सुझाव र सहकार्य चाहिने उनले बताए ।
कहिले खुल्छ सानिमा जीआईसीको सेयर कारोबार ?
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको सेयर कारोबार अर्को सातादेखि खुल्ने भएको छ । साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सानिमा जीआईसीको सेयर कारोबार अर्को सातादेखि खुल्ने कम्पनी श्रोतले बताएको छ । ‘सेयर कारोबार खुलाउने प्रकृया भइरहेको छ, सम्भवतः अर्को सातादेखि खुल्छ,’ श्रोतले भन्यो । साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स २०७९ असार २९ गते मर्जर प्रकृयामा गएका थिए । यससँगै नेप्सेले असार ३० गतेदेखि लागू हुने गरी दुबै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको छ । मर्जर प्रकृया सकिएसँगै कार्त्तिक ७ गतेदेखि सानिमा जीआईसीको नामबाट एकीकृत कारोबार भइसकेको छ । नियामक निकाय बीमा समितिले सैद्धान्तिक स्वीकृति दिएसँगै उक्त नामबाट एकीकृत कारोबार शुरु भएको हो ।
निर्जीवन बीमा कम्पनीको नाफा कोरोना बीमाले खाने, दुई वर्ष सेयरधनीको हात खाली
काठमाडौं । लामो समयसम्म रोकिएको कोरोना बीमाको दावी भुक्तानीको प्रकृया शुरु हुने भएको छ । अर्थमन्त्रालयले रकम निकासा गरेसँगै बीमितहरुलाई पहिलो चरणमा एक अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गरिने भएको हो । सरकार, बीमा समिति, बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनी मिलेर तत्काल सो मात्राको रकम बीमितहरुलाई वितरण गर्न लागेका हुन् । जसमा सरकारको ५५ प्रतिशत, बीमा समितिको ८ प्रतिशत, बीमा कम्पनीहरुको २५ प्रतिशत र बाँकी १२ प्रतिशत नेपाल रिको गरी कूल एक अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गरिने मोडालिटी तयार भएको छ । यसरी भुक्तानी गर्दा सबैभन्दा बढी मर्का नेपाल पुनर्बीमा कम्पनीलाई असर पर्ने देखिन्छ । त्यस्तै, सरकारले आफ्नो दायित्वअनुसारको रकम एकैपटक निकासा नगरिदिँदा बीमा कम्पनीहरुलाई पनि मर्का पर्ने बीमाका जानकारहरु बताउँछन् । सरकारले एक अर्ब रुपैयाँ मात्रै निकासा गरेर जिस्काएको एक कम्पनीका डीसीईओले विकासन्युजसँग बताए । ‘सरकारले जिस्कायो, थोरै रकम निकासा गरेर बीमा क्षेत्रको विश्वास गुमाउने काम गर्यो’ उनले भने- ‘अब कम्पनीले थप्नु पर्ने भएपछि नाफाबाट थप्छन्, नाफाबाट प्रोभिजन प्रर्याप्त रकम राखेका कम्पनीलाई फरक पर्दैन तर प्रोभिजन नगराखेका कम्पनीलाई सोझै असर पर्छ, त्योभन्दा बढी मर्का त मर्जमा गएका कम्पनीलाई पर्छ ।’ उनका अनुसार मर्जमा गई एकीकृत कारोबार गरिसकेका कम्पनीले दुबै कम्पनीको तिर्नुपर्ने भएकाले उक्त कम्पनीलाई बढी असर पर्नेछ । कोरोनाको दावी भुक्तानीको लागि सरकारले रकम दिन्छु भनी प्रतिवद्धता गरेकोले कम्पनीहरुले कोरोना बीमाको पैसा प्रोभिजन नगरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) कमल गौतम बताउँछन् । साथै, आफ्नो प्रतिवद्धता अनुसार सरकार अघि नबढ्दा कम्पनीहरुलाई असर पर्ने उनको भनाई छ । ‘नसोचेको ठुलै पैसा तिर्नुपर्ने भएपछि कम्पनीहरुमा सोझै नकारात्मक असर गर्छ, नाफा घट्छ,’ गौतमले भने । ‘नेपाल सरकार टाट पल्टेको हो की के हो, तिर्छु भनेर प्रतिवद्धता गरेको रकम तिर्नुपर्ने हो, तिरेन सरकारले नै त्यस्तो गरेपछि अरु कम्पनीको हालत के हुने हो ?’ अर्को कम्पनीका डीसीईओले विकासन्युजसँग भने । हालै दुई कम्पनी मर्ज भई एकीकृत कारोबार शुरु गरेको सानिमा जीआईसीका (साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स) सीईओ सुद्युम्न उपाध्यायले भने कोरोना बीमाको रकम थप्दा कम्पनीलाई कति असर पर्छ भन्नेमा एकिन नभएको बताएका छन् । मर्जरमा गएका कम्पनीको हकमा के हुन्छ भन्ने विषयमा आइतबार हुने बीमक संघसँगको बैठकमा छलफल गरिने उनले बताए । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पनि कोरोना दावी भुक्तानीले कम्पनीको नाफामा असर पर्ने बताए । तर नाफामा जति नै असर गरेपनि जनताले पाउने रकम पाए भने त्यहि नै ठूलो हुने उनको भनाई छ । ‘कम्पनीको नाफामा असर त गरिहाल्छ, त्योभन्दा पनि बीमितले पाउने रकम पाए भने त्यहि नै ठूलो हुन्छ, नाफा घाटा भन्या बिजनेसमा भइहाल्छ,’ क्षेत्रीले भने । लामो समयसम्म कोरोना बीमाको दावी भुक्तानी नहुँदा निर्जीवन बीमा क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । कारोना बीमा मापदण्ड, २०७७ अनुसार सरकारले आफ्नो दायित्व अनुसारको रकम निकासा नगर्दा यो क्षेत्रमा असर परेको क्षेत्री बताउँछन् । ‘कोरोना बीमाले बीमा क्षेत्रमा धेरै विकृति ल्यायो, सरकारले आफ्नो दायित्वअनुसार फटाफट सेटलमेन्ट गरिदिएको भए अहिले निर्जीवन कम्पनीहरुको बिजनेस छिट्टै बुम भइसक्थ्यो,’ उनले बताए । साथै, उनले बीमा समितिसँगै सबै कम्पनीहरुको धारणा जसरी हुन्छ यसलाई सक्दो चाडो सल्टाउनु रहेको बताए । जसको लागि सरकारको सहयोगको खाँचो परेको उनको भनाई छ । कारोना बीमाका बीमितलाई करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकोमा अर्थमन्त्रालयले हाल एक अर्ब रुपैयाँ निकासा गरेको हो । त्यसमा बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र सबै कम्पनीहरुले थपेको रकम सहित एक अर्ब ८१ करोड रुपैयाँ भुक्तानी हुने छ । त्यसपछि बाँकी रहेको ९ अर्ब रुपैयाँ बढी भुक्तानी हुन बाँकी रहन्छ । बाँकी रकमको भुक्तानी गर्दा पनि बीमा कम्पनीहरुले करिव दुई आर्थिक वर्षको नाफा गुमाउनुपर्नेछ । परिणाम दुई आर्थिक वर्ष निर्जीवन बीमा कम्पनीकाे लगानीकर्ताकाे हात खाली हुने भएकाे छ । भुक्तानीमा कसरी अघि बढ्ने भन्ने विषयमा पनि मन्त्रालयस्तरबाटै मोडालिटी तय भइसकेको छ । जसमा व्यक्तिगत बीमितलाई पहिलो प्राथमिकता दिइने छ । त्यसमध्ये पनि फर्ष्ट कम फर्ष्ट सर्भिसको आधारमा अर्थात शुरुमा दावी गर्ने बीमितलाई शुरुमै भुक्तानी गरिने छ । र, त्यसपछि निजामती कर्मचारी र संघ संस्थाका कर्मचारीलाई भुक्तानी गरिने बताइएको छ ।