ज्योति र सूर्या लाइफ मर्जपछि सूर्यज्योति बन्ने, सीईओ खत्री, स्वाप रेसियो कति ?

काठमाडौं । ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न ज्योति लाइफको पाँचौं वार्षिक साधारण सभाले उक्त मर्जर प्रस्तावलाई पारित गरेको हो । सभाले मर्जरका लागि तय भएको सेयर स्वाप रेसियोलाई समेत स्वीकृति प्रदान गरेको छ । जसअनुसार दुई कम्पनी १ बराबर ०.८२४५ को अनुपातको रेसियोमा मर्ज हुने भएका छन् । त्यस्तै, सभाले मर्जर कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय पारित गरेको छ । सभाले मर्जर पश्चात् बन्ने कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी राख्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी, मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सूर्याका सीईओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने कम्पनीले जनाएको छ । त्यस्तै, मर्जर कार्यसँग सम्बन्धित प्रचलित कानुन, नियम, निर्देशिकाहरु बमोजिम अपनाउनुपर्ने तथा गनुपर्ने सम्पूर्ण कार्यहरु वा प्रकृयामा पुरा गरि अन्तिम स्वीकृति लिने सम्पूर्ण कामको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ । त्यसैगरी सभाले संचालक समितिले प्रस्तुत गर्ने आथिर्क वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । आथिर्क वर्ष २०७७/७८ को नाफा, नोक्सान, हिसाब, नगद प्रवाह लगायतका प्रस्ताव पारित गरेको छ । बाह्य लेखापरिक्षक नियुक्ती र नीजको पारिश्रमिक निर्धारण गर्ने र वर्तमान लेखापरिक्षक नै नियुक्तीका लागि योग्य हुने प्रस्ताव पारित गरेको छ ।

सूर्या लाइफका सीईओको तलब १ करोड

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले एक वर्षको अवधिमा करिब एक करोड रुपैषँ तलब भत्ता बुझेका छन् । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा सीईओलाई ९८ लाख ७८ हजार ७६५ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको हो । जसमध्ये इन्स्योरेन्सले सीईओ पवन कुमार खड्कालाई ४८ लाख ४५ हजार ९६८ रुपैयाँ र पूर्व सीईओ शिवनाथ पाण्डेलाई ५० लाख ३२ हजार ८०२ रुपैयाँ तलब भत्ता प्रदान गरेको हो । २०७७ कात्तिक मसान्तसम्म कम्पनीको सीईओमा शिवनाथ पाण्डे थिए । कम्पनीले संचालकहरुलाई संचालक समितिको बैठक भत्ता बापत १७ लाख ३५ हजार रुपैयाँ, मासिक भत्ता वापत ६ लाख ६९ हजार ६६६ रुपैयाँ र लेखापरीक्षण तथा अन्य समितिलाई बैठक भत्ता बापत ८ लाख ७२ हजार रुपैयाँ भूक्तानी गरेको छ । यस्तै कम्पनीले प्रवन्धक र सो भन्दा माथीका अन्य पदाधिकारीहरुलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा वापत २ करोड ९१ लाख ७१ हजार ४५० रुपैयाँ भुक्तानी गरेको छ ।

सूर्या लाइफले मार्यो नाफामा छलाङ, जीवन बीमा कोष १५ अर्ब पुग्यो, ईपीएस कति ?

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ८२.५४ प्रतिशत बढेर २० करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ३५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १२.६९ प्रतिशत बढेर २ अर्ब ५५ करोड २ लाख रुपैयाँ, जगेडा कोष २७.१२ प्रतिशत घटेर ७१ करोड २२ लाख रुपैयाँ, जीवन बीमा कोष २९.६५ प्रतिशत बढेर १४ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ र महावित्ति कोष ११ प्रतिशत बढेर १८ करोड १४ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क १३.३० प्रतिशत बढेर १ अर्ब २६ करोड ४९ लाख रुपैयाँ रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । तीन महिनाको अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १६ प्रतिशत बढेर १ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १३ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ६५ प्रतिशत बढेर ३१ करोड ८९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ३१ लख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीका अनुसार कम्पनीले ३३ करोड ५४ लाख कुल दाबी भुक्तानी गरेको छ । यस्तै, कम्पनीको ५३ लाख ६७ हजार दावी भुक्तानी गर्न बाँकी छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ११.९० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २२ पैसा रहेको छ ।