सिटिजन लाइफका संस्थापकले डेढ महिनाभित्र ५० प्रतिशत रकम जम्मा गर्नुपर्ने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीले आगामी डेढ महिनाभित्र थप ५० प्रतिशत रकम थप्नुपर्ने भएका छन् । इन्स्योरेन्सले शुक्रबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीलाई सेयर बापतको थप ५० प्रतिशत रकम थप्न आग्रह गरेको हो । साउन १२ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको हालको चुक्ता पुँजी बढाउनको लागि साविकको संस्थापक सेयरधनीलाई उक्त आग्रह गरेको हो । साउन २० गते सूचना जारी गर्दै कम्पनीले आगामी डेढ महिनाभित्र रकम जम्मा गर्न आग्रह गरेको हो । यससँगै कम्पनीका साविकका संस्थापक सेयरधनीहरुले असोज ७ गतेभित्रमा ५० प्रतिशत रकम विभिन्न बैंक खातामा जम्मा गर्नुपर्ने छ । जसको लागि कम्पनीले नेपाल इन्भेष्टमेन्ट, कुमारी, हिमालयन र सानिमा बैंकको खाता नम्बर समेत उपलब्ध गराएको छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ तोकिदिए पछि इन्स्योरेन्सले पुँजी वृद्धिको प्रकृया बढाएको हो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । संस्थापक सेयरधनीले थप ५० प्रतिशत रकम थपेपछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । त्यसपछि कम्पनीले आईपीओ जारी गर्ने छ ।
सभाले पारित गर्यो सूर्या लाइफ र ज्योति लाइफ मर्जरमा जाने प्रस्ताव
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स र ज्योति लाइफ इन्सयोरेन्स मर्जरमा जाने प्रस्ताव पारित भएको छ । कम्पनीको बिहीबार बसेको साधरणसभा बैठकले सूर्या लाईफ र ज्योति लाइफ मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । सभाले सेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णयको अनुमोदन गर्ने निर्णय पनि गरेको छ । यस्तै सभाले कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरु नियूक्त गर्ने सिलसिलामा कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्याङ्कन कार्य गर्नका लागि मुल्याङ्कनकर्ता नियूक्त गर्ने तथा पारिश्रमिक तोक्ने गरी संचालक समितिबाट भएको निर्णय अनुमोदन गरेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा सम्पन्न भएको सभामा कम्पनीका शेयरधनी, संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सहायक महाप्रबन्धक, व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
नेपाल लाईफको संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्व कति ?
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर साधारणमा परिणत भएको छ । बिहीबार मात्रै इन्स्योरेन्सको ७३ लाख ८७ हजार १६९ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ६० र ४० प्रतिशत रहेको थियो ।