बोनसदरमा तीन बीमा कम्पनी : कसको बढ्यो ? कसको घट्यो ?

काठमाडौं । हालै विभिन्न तीन जीवन बीमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । जसमध्ये दुईले आर्थिक वर्ष २०७७/७८ को र अर्को एक इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बोनसदर सार्वजनिक गरेका हुन् । जसमा एशियन लाइफ र ज्योति लाइफले आर्थिक वर्ष २०७७/७८ को र गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बोनसदर सार्वजनिक गरी लागू गरेका छन् । यी तीन वटै कम्पनीले बीमा समितिको स्वीकृति पश्चात विभिन्न बीमालेखका बीमितलाई नयाँ बोनसदर लागू गरेका हुन् । एशियन लाइफले बढायो एशियन लाइफले आर्थिक वर्ष २०७७/७८ को नयाँ बोनसदर अघिल्लो वर्षको तुलनामा बढाएको छ । कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म दिने भएको छ । जबकी कम्पनीले अघिल्लो वर्ष बीमितलाई न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिएको थियो । नयाँ बोनसदर अनुसार इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमालेखबाट बीमितलाई अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । त्यस्तै, बालबालिकाको सावधिक जीवन बीमालेख, सावधिक जीवन बीमालेख र नव रन्त, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ बीमालेखका बीमितले न्यूनतम ४० रुपैयाँ बोनस पाउने छन् । ज्योति लाइफले घटायो ज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनस दिने भएको छ । कम्पनीले जारी गरेको विभिन्न बीमालेखमध्ये सावधिक र सावधिक तथा आजीवन बीमालेखका बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने छन् । तर उक्त बोनस २५ वा सोभन्दा बढी अवधिको लागि उक्त बीमालेख खरिद गर्नेले मात्रै पाउने छन् । त्यस्तै, १० देखि १४ वर्ष अवधिको ज्योति ईजी पे जीवन बीमा गर्नेले न्यूनतम २० रुपैयाँ बोनस पाउने भएका छन् । ज्योति लाइफले सार्वजनिक गरेको बोनसदर अघिल्लो आर्थिक वर्षको तुलनामा घटी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ बाट बीमितलाई न्यूनतम नै प्रतिहजार ४३ रुपैयाँ बोनस दिएको थियो । अधिकतम बोनसदर भने बराबर अर्थात ७५ रुपैयाँ नै थियो । गुराँस लाइफको बीमालेख बढ्यो, बोनसदर घट्यो गुराँस लाइफले हालै आर्थिक वर्ष २०७६/७७ को बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिको स्वीकृति पाए पश्चात इन्स्योरेन्सले सो आवको बोनसदर सार्वजनिक गरेको हो । नयाँ बोनसदर अनुसार बीमितले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने छन् । जुन अघिल्लो वर्षको तुलनामा घटी हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५र७६ बाट बीमितलाई न्यूनतम २३ रुपैयाँदेखि अधिकतम ८१ रुपैयाँसम्म वितरण गरेको थियो । गुराँस लाइफले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार सावधिक तथा आजीवन बीमाललेखका बीमितले सबैभन्दा बढी अर्थात ७५ रुपैयाँसम्मको बोनस पाउने भएका छन् । अघिल्लो आवमा यो बीमालेखका बीमितले अधिकतम ८१ रुपैयाँ बोनस पाएका थिए । त्यस्तै, गुराँस सुरक्षीत भविष्य जीवन बीमालेखका बीमितले सबैभन्दा कम अर्थात प्रतिहजार २० रुपैयाँ बोनस पाउने छन् । जुन अघिल्लो आवमा २३ रुपैयाँ थियो । समीक्षा अवधिमा इन्स्योरेन्सले बीमालेखको संख्या भने बढाएको देखिन्छ । अघिल्लो आवमा ५ वटा मात्रै बीमालेख बिक्री गरेको इन्स्योरेन्सले आव २०७६/७७ मा थप एउटा (वार्षिक नगद फिर्ता नामक) बीमालेख बीमितलाई बिक्री गरेको थियो । उक्त बोनसदर कम्पनीले भुक्तानी गर्ने बीमालेख अनुसारको दावीहरुमा तथा चालु बीमालेखहरुमा लागू हुने छ । साथै, अर्को बीमाङ्कीय प्रतिवेदन अनुसार बीमा समितिबाट अर्को व्यवस्था नभएसम्म कम्पनीहरुले सोहि अनुसारको बोनसदर कायम गर्ने छन् ।

ज्योति र सूर्या लाइफको मर्जर प्रस्ताव पारित, १९ प्रतिशत संस्थापक सेयर साधारणमा परिवर्तन गरिने

काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीकाे विशेष साधरण सभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग गाँभ्ने प्रारम्भिक सम्झौतापत्रको मस्यौदालाई स्वीकृति गरेको छ । मंगलबार बसेकाे सभाले उक्त सम्झौतापत्रको मस्यौदालाई स्वीकृति गरेको हाे । सभाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, सेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णय अनुमोदन गरेको छ । यस्तै, कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता तथा लेखापरिक्षकको नियुक्ती गर्ने सम्बन्धमा कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्याङ्कन कार्य  गर्नका लागि संचालक समितिबाट मुल्याङ्कनकर्ता नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने गरी भएको निर्णय सभाले अनुमोदन गरेकाे छ । साथै, सभाले कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना क्रमश ७०:३० को अनुपातमा रहेकोमा संस्थापक समूहको १९ प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिवर्तन गरी कम्पनीको सेयर स्वमित्व संरचना ५१:४९ प्रतिशतको अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ।

कतिमा खुल्छ हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर दोश्रो बजारमा सूचीकृत भएको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्जर पश्चात बनेको हिमालयन एभरेष्टको सेयर साउन २४ गते नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको २ करोड २३ लाख ९९ हजार ३६७ कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै इन्स्योरेन्सको सेयर भोलि अर्थात साउन २४ गतेदेखि दोश्रो बजारमा कारोबार हुने छ । इन्स्योरेन्सको सेयर कारोबार एचईआईको सिम्बोलबाट हुने छ । जसको लागि पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता ५१०.४८ रुपैयाँ तोकिदिएको छ । यससँगै भोलिको पहिलो कारोबारमा इन्स्योरेन्सको सेयर प्रतिकित्ता ५१०.४८ रुपैयाँमा किनबेच हुने छ । सम्बन्धित सामाग्री : हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार भोलिदेखि खुल्ने हिमालयन एभरेष्ट मर्जर : कम्पनी मख्ख, नियामक प्रफुल्ल हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच एकिकृत कारोबार शुरू, यस्तो हुनेछ कर्पोरेट लोगो हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीचको मर्जर पारित, साउनदेखि नै एकीकृत कारोबार गर्ने हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता, बीमा क्षेत्रमै पहिलो मर्जर