बीमा कलेज स्थापना गर्दै समिति, कम्पनीको शाखासँगै अण्डरराइटिङ्गलाई व्यवस्थित बनाउने

काठमाडौं । बीमा समितिले बीमा कलेज स्थापना गर्ने भएको छ । समितिले बीमा शिक्षाको विकास गर्न चालु आर्थिक वर्षमा बीमा कलेज स्थापना गर्ने योजना बनाएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समितिको आर्थिक वर्ष २०७९/८० को कार्ययोजना अन्तर्गत सो कामलाई अघि बढाउने बताए । उनका अनुसार समितिले चालु आवमा बीमाको विकासलाई विशेष जोड दिँदै संस्थागत संरचनाको व्यवस्था गर्ने योजना बनाएको छ । जसमा बीमा कलेज स्थापनासँगै बीमा सूचना केन्द्र र बीमित हित संरक्षण कोष स्थापना गर्ने कार्यक्रमहरु छन् । उक्त बीमित हित संरक्षण कोष मार्फत बीमा कम्पनीले बीमा दायित्व भुक्तानी सम्बन्धमा सो कोषबाट रकम भुक्तानी गर्ने र बीमितको हित रक्षा हुने समितिले बताएको छ । नियमावली, नीति तथा रणनीतिक योजना तयार गर्ने समितिले यो कार्यक्रम अन्तर्गत बीमा नियमावलीको मसौदा तयार गर्ने भएको छ । त्यस्तै, बीमा क्षेत्रको थप विकास गर्न राष्ट्रिय बीमा नीति तयार गर्ने छ । रणनीतिक योजना तयार गरी कार्यान्वयनमा ल्याउने र बीमा समिति कर्मचारी सेवा, शर्त विनियमावली संशोधन गर्ने समितिको कार्ययोजना छ । बीमा सम्बन्धी कार्यविधि तथा ढाँचा तयार गर्ने यो कार्यक्रम अनुसार समितिले तेस्रो पक्ष सहजकर्तासम्बन्धी कार्यविधि तयार गर्ने छ । जसमार्फत तेश्रो पक्ष सहजकर्ताहरुले बीमा सेवा प्रवाह गर्ने छन् । जोखिममा आधारित निरीक्षण(आरबीएस)को ढाँचा अर्थात फ्रेमवर्क तयार गरी बीमकको जोखिम मापन गर्ने समितिको योजना छ । बीमा समितिको ग्याप एनालाइसिस् अन (एनएफआरएस) वेस फाइनान्सियल स्टेटमेन्टस् र वेभ एग्रिगेटर सम्बन्धी कार्यविधि तयार गर्दै छ । उक्त वेभ एग्रिगेटर मार्फत वेभमा आधारित सेवा प्रदायकहरुद्वारा सेवा प्रवाह हुने समितिको विश्वास छ । मार्गदर्शन, निर्देशिका तयार तथा संशोधन गर्ने कार्ययोजना बनाएको छ । यसमार्फत बीमा सूचना केन्द्र स्थापना, बीमित हित संरक्षण कोष स्थापना, जोखिम न्यूनीकरण गर्न बीमा पुल सम्बन्धी निर्देशिका तयार गर्ने समितिको योजना छ । त्यसैगरी, समितिले डिजिटल प्रणालीबाट बीमालेख जारी गर्ने सम्बन्धी मार्गदर्शन तयार गर्ने भएको छ । बीमा कम्पनी दर्ता तथा बीमा व्यवसाय स‌ंचालन सम्बन्धी निर्देशका, २०७३ संशोधन गर्ने समितिले जनाएको छ । बीमा समितिमा डिजिटलाईजेसनको शुरुवात गर्न सूचना प्रविधि सम्बन्धी कार्यविधि बन्ने भएको छ । बीमा कम्पनीको एयरमार्कको यथार्थ स्थिति यकिन गर्न एयरमार्क सम्बन्धी मार्गदर्शन तयार गर्ने । स्वास्थ्यसँग सम्बन्धित बीमा सेवा दिन क्लिनिकल ट्रायल बीमालेख तयार गर्ने समितिले जनाएको छ । त्यसैगरी, कम्पनीहरुको शाखा र संख्या व्यवस्थित बनाउन शाखा कार्यालय सम्बन्धी मार्गदर्शन बनाउने तयारीमा समिति छ । विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्था पारदर्शी तथा थप व्यवस्थित बनाउन समितिले थप गृहकार्य गर्ने छ । जसको लागि विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी मार्गदर्शन तयार गर्ने समितिको योजना छ । मोटर बीमादर सम्बन्धी निर्देशिका २०७३ संशोधन गर्ने र समग्र बीमा क्षेत्रको एमएल सीएफटी रिस्क एसेसमेन्ट अध्यावधिक गर्ने समितिले जनाएको छ । त्यस्तै, सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउँदै लाने छ । बीमाको दायरा विस्तार तथा नयाँ जीवन बीमालेखको विकास गर्न जीवन बीमालेख निर्देशिका, २०७८ संशोधन गर्ने छ । बीमा दावी उजुरीमा विवादित पक्षहरुबीच मिलापत्र गर्न बीमा दावी उजुरी सम्बन्धमा मेलमिलाप मार्गदर्शन तयार गर्ने समितिले जनाएको छ । रिस्क बेसड क्यापिटल लागू गरी कम्पनीको ग्याप एनालाइसिस् गर्न ओआरएसएसम्बन्धी निर्देशिका तयार गर्ने भएको छ । बीमालेख तयार तथा संशोधन यो विषय अन्तर्गत समितिले कृषकहरुलाई कृषि बीमाको दायरमा आउन सहज गराउन कृषि बीमालेख तयार गर्ने भएको छ । त्यस्तै, पिछडिएका तथा न्यून आय भएका वर्ग बीमाको दायरामा समावेश गर्न लघु बीमालेखहरु तयार गर्ने समितिको योजना छ । लघु बीमालेखहरु संशोधन गर्ने, गम्भिर तथा जटिल प्रकृतिका रोग हुन सक्ने व्यक्तिलाई बीमाको दायरमा समावेश गराउन घातक रोग बीमालेख तयार गर्ने छ । नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेख भए बमोजिम समितिले जडीबुटी खेतीको र खेलाडीहरुको बीमालेख तयार गर्ने छ । यसले बीमाको दायरा बढ्ने समितिको विश्लेषण छ । अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई विशेष प्राथमिकता समितिले जनचेना अभिवृद्धि विषय अन्तर्गत समितिले अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई विशेष प्राथमिकता दिने भएको छ । त्यसको लागि प्रदेश सरकार, महानगरपालिका तथा उपमहानगर पालिका, नगरपालिका तथा गाउँपालिका, नगरपालिका तथा गाउँपालिकाहरुको महासंघहरुसँग छलफल तथा अन्तरक्रिया गर्नेछ । जसमार्फत सरकारलाई दायित्व बोध गराउन, सर्वसाधारणलाई जनधनको बीमा गर्न प्रोत्साहन मिल्ने र एकघर एक बीमालेख सम्बन्धी छलफल तथा अन्तरक्रियाले नागरिकहरुमा बीमाको जनचेतना अभिवृद्धि हुने समितिले जनाएको छ । गुणस्तरीय बीमा सेवाको लागि कम्पनीहरुको संख्या कम गर्ने भएको छ । जसको लागि कम्पनीहरुलाई एक आपसमा गाभ्ने तथा गाभिने र प्राप्ति (मर्जर) सम्बन्धी छलफल तथा अन्तरक्रिया गर्ने समितिको योजना छ । बीमा क्षेत्रमा देखिएका कमी कमजोरीबारे जानकार भई बीमा क्षेत्रमा सुधार गर्ने, नेपाल प्रहरीसँग छलफल तथा अन्तरक्रिया गरी बीमा क्षेत्रमा आइपर्ने घटना, दावी उजुरीका सम्बन्धमा देखिएका कमी-कमजोरी तथा अनुसन्धान बारे जानकार भई समितिले थप गृहकार्य गर्ने छ । वित्तीय क्षेत्रका नियमनकारी निकायहरू बीचको समन्वय, भूमिका, दायित्वलाई थप प्रगाड बनाउने र बीमा क्षेत्रमा देखिएका कमी-कमजोरीहरुलाई सुधार गर्दै नीति निर्माणमा सहयोगको लागि समितिका सबैसँग सहकार्य गर्ने समितिले जनाएको छ । न्याय सम्पादन छिटो छरितो तथा न्यायपूर्ण गराउन न्यायाधिश तथा कानून व्यवसायीहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने छ । गो एएमएलसम्बन्धी छलफल तथा अन्तरक्रिया बढाई बीमकको सफ्टवेयर रिपोर्टिङ्गबाट देखिएका कमी-कमजोरीमा सुधार ल्याउने भएको छ । कृषि, पशुपंक्षी तथा जडिबुटी बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया गर्ने । कृषि मन्त्रालय, कृषक लगायत सरोकारवालाहरुसँग कृषि बीमा क्षेत्रमा सुधार हुने । पूनर्बीमा ब्रोकर तथा ब्रोकरसँग सम्बन्धित व्यवसाय व्यवस्थित गराउन थप गृहकार्य गर्ने छ । त्यस्तै, बीमा क्षेत्रमा सर्भेयर तथा अभिकर्ताले निर्वाह गर्ने भूमिका तथा बीमा क्षेत्रमा रहेको विकृतिलाई समाधान गर्दै गुणस्तरीय सेवा बृद्धि गराउने, बीमितहरुले भोग्नु परेको समस्या समाधान गर्ने, रिक्स बेसड क्यापिटल लागू गर्ने, बीमकको जोखिमलाई समयमा नै पहिचान भई सुधारको उपाय अवलम्बन गराउने, बीमाको क्षेत्रलाई थप प्रविधिमैत्री बनाउने, कम्पनी तथा समितिको वित्तीय पारदरर्शिता तथा लेखा प्रणाली र लेखापरीक्षण व्यवस्थित गर्ने छ । उद्योग वाणिज्य संघ तथा चेम्बरसँग छलफल तथा अन्तरक्रिया गरी बीमा क्षेत्रको विकासमा सहयोग पुग्ने समितिको विश्वास छ । बीमकका अण्डरराइटिङ्ग प्रक्रिया प्रभावकारी तथा व्यवस्थित गराउने, इन्जिनियरिङ्ग बीमामा आएका समस्या तथा चुनौतिका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गर्ने, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको बीमा सचेतना पदयात्रा गर्ने र बीमाको प्रचार-प्रसारका लागि विभिन्न स्थानमा डिजिटल होर्डिङ बोर्ड राख्ने समितिले जनाएको छ । बीमा विषयलाई पाठ्यक्रममा समावेश बीमा शिक्षालाई माध्यमिक तह तथा सीटीईभीटीको पाठ्यक्रममा थप गर्दै लान पहल गर्ने बीमा समितिको कार्ययोजना छ । यसअन्तर्गत पाठ्यक्रम विकास केन्द्र, माध्यमिक शिक्षा परिषद्, सीटीईभीटी विश्वविद्यालय तथा शिक्षा मन्त्रालय लगायतका सरोकारवालाहरुसँग छलफल गरी पाठ्यक्रम तयार गर्ने छ । बीमा विषयहरूमा विशेष अध्ययन वा अनुसन्धान बीमाको मोर्टालिटी टेबल सम्बन्धी अध्ययन गरी बीमादर समयसापेक्ष निर्धारण गर्न सहज हुने समितिको योजना छ । बीमा क्षेत्रमा आरबीएस लागू गर्न एक-एकवटा जीवन तथा निर्जीवन बीमकको पाइलट प्रोजेक्ट अर्थात अनुसन्धान गर्ने समितिले जनाएको छ । त्यस्तै, समितिले बीमासँगै बीमा दावी सम्बन्धी अनुसन्धान गर्ने र बीमा दावी उजुरी सम्बन्धी समस्याको पहिचान गर्ने योजना बनाएको छ ।

बीमा पोलिसी त्याग्नेको संख्या बढ्दो, १२ अर्ब बढीको सरेन्डर (कुनको कति ?)

काठमाडौं । हालसम्म १२ अर्ब १८ करोड रुपैयाँ बराबरको जीवन बीमालेख समपर्ण (सरेन्डर) भएका छन् । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा मात्रै बीमितहरुले ८१ लाख ८३० वटा बीमा पोलीसीबाट १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका हुन् । बीमा पोलिसी सरेन्डर गर्नु भनेको जीवन बीमा गरेर अवधि नपुग्दै रोक्नु हो । पछिल्लो समय उक्त संख्या बढ्दो छ । बीमितहरुले निश्चित वर्षको लागि भनेर जीवन बीमा गराउने र समय नपुगी उक्त पोलिसी बन्द गर्न थालेका छन् । सञ्चालित १९ बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी नेपाल लाइफको बीमितले बीमा पोलिसी त्यागेका छन् । यो अवधिमा सो कम्पनीका बीमितहरुले २६ हजार ६०३ वटा अर्थात ५ अर्ब १ करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका हुन् । त्यस्तै, बढी पोलिसी सरेन्डर गर्नेको दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । समीक्षा अवधिमा लाइफ इन्स्योरेन्सका बीमितले २ अर्ब ९३ करोड रुपैयाँ बराबरको पोलिसी रोकेका छन् । जुन संख्याको आधारमा ९ हजार ८६८ वटा पोलिसी हुन् । त्यस्तै, ५० करोडभन्दा बढी बीमालेख सरेन्डर गरेकामा नेशनल लाइफ, राष्ट्रिय बीमा संस्थान र एशियन लाइफबाट रहेको छ । यी कम्पनीका बीमितले क्रमशः ८५ करोड ९७ लाख, ८५ करोड ५५ लाख र ५८ करोड ९० लाख रुपैयाँ बराबरको बीमालेख निश्चित अवधि पुग्नु अगावै रोकिएका छन् । त्यसैगरी, अधिकांश कम्पनीहरुबाट १० करोडभन्दा बढी र ५० करोडभन्दा कम रुपैयाँका बीमा पोलिसी सरेन्डर भएका छन् । त्यसमा गुराँस लाइफ, मेटलाइफ, सूर्या लाइफ, प्राइम लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ र युनियन लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, सानिमा, ज्योती, महालक्ष्मी, सिटिजन, रिलायबल नेपाल, सन नेपाल र आइएमई लाइफको १० करोडभन्दा कमको पोलिसी सरेन्डर भएका छन् । जसमध्ये सानिमा, ज्योति र महालक्ष्मीको ६ करोडभन्दा बढीको, सिटिजनको ३ करोड बढी, रिलायबल नेपाल, सन नेपाल र आईएमई लाइफको एक वर्षको अवधिमा २ करोड बढीको बीमालेख सरेन्डर भएका हुन् । रकमका आधारमा सबैभन्दा कम बीमालेख सरेन्डर हुनेमा आईएमई लाइफ इन्स्योरेन्स रहेका छन् । समीक्षा अवधिमा इन्स्योरेन्सका बीमितले २ करोड ४० लाख रुपैयाँ बराबरको पोलिसी निश्चित समय नपुगी रोकेका हुन् । संख्याको आधारमा भने सानिमा लाइफ इन्स्योरेन्सको पोलिसी सबैभन्दा कम सरेन्डर भएको छ । यो अवधिमा इन्स्योरेन्सको २२६ वटा पोलिसी सरेन्डर भएका छन् । कुनको कति ?

रिलायन्स लाइफ इन्स्योरेन्सबाट सबै विवरण पायौं, अब अध्ययन गर्छौं : अध्यक्ष सिलवाल

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बाँके कोहलपुरका मृतक सर्जन बिकको बीमा गरेदेखिको सबै विवरणहरु बीमा समितिलाई बुझाएको छ । इन्स्योरेन्सले बीमा समितिको निर्देशन अनुसार २४ घण्टाभित्रै उक्त विवरणहरु समितिमा पेश गरेको हो । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले पनि इन्स्योरेन्सबाट सबै डकुमेन्टहरु पाइसकेको बताए । ‘कम्पनीबाट डकुमेन्ट झिकाइएको छ, अध्ययन हुन्छ, कानुनी प्रकृया अनुसार नै अध्ययन गरेर कमी कमजोरी पत्ता लगाउँछौं र थप निर्णय गर्छौं,’ उनले भने । यससँगै अब समितिका नियमन विभागले उक्त विषयमा थप अध्ययन गर्ने छ । र, कारवाहीको प्रकृया अघि बढाउने छ । इन्स्योरेन्सले साउन १६ गते बीमा समितिलाई बुझाएको सम्पूर्ण डकुमेन्टलाई एकमुष्ट रुपमा ‘पोलिसी डकेट’ भनिन्छ । जसमा पोलिसी जारी गर्दा बुझाएको डकुमेन्ट, अण्डराइटिङ् गरेको डकुमेन्ट, बीमितको आयश्रोत लगायतको सबै विवरणहरु समेटिने समितिका अध्यक्ष सिलवालले जानकारी गराए । इन्स्योरेन्सका अध्यक्ष तारा चन्द केडिया भने यो काण्डले बीमा क्षेत्रमै नराम्रो निजिर परेको र अब आम मानिसमा शंका पैदा हुनेमा चिन्ता व्यक्त गरे । यस्तो थियो घटना ? गरिब परिवारका २१ वर्षीय सर्जन बिकको परिवारलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ । २ महिला र ४ पुरुषको गिरोहले नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखेर बैंक खाता खोलिएको र बीमा गराइएको पाइए पछि सो ६ जना अहिले प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त २ करोड ५० लाख लिएकी २१ वर्षीया सपना मल्ल, मुख्य योजनाकार ३१ वर्षीय सञ्जीव अर्याल, सञ्जीव अर्यालसँग पूर्व चिनजान एवं बीमा एजेन्ट ३२ वर्षका सरदार अहमद खाँ, सपना मल्ललाई विदेश लैजाने भनि चिनाइएका व्यक्ति ३३ वर्षका टोपबहादुर राना क्षेत्री, काठमाडौंमा बीमाको भुक्तानि लिन सपना मल्ललाई ल्याउने ३८ वर्षका दीपक केसी र विवाह गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर प्रतिवादी सपना मल्ललाई सञ्जीवसँग चिनजान गराउने वर्ष २१ की ललिता सापकोटा रहेका छन् । वार्षिक आम्दानी २ लाख मात्रै भएका युवकको २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको छ । हत्यापछि इन्स्योरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको पनि बताए । जसमध्ये  सपना मल्लको खातामा आएको २ करोड ५० लाख रुपैयाँमा ८० लाख ३६ हजार रुपैयाँ सञ्जीव अर्यालको खातामा, ६० लाख दीपक केसीको खातामा, सपनाकी आमा छविकुमारी मल्लको खातामा १७ लाख ४६ हजार, सपना मल्लाको खातामा ४६ लाख ८९ हजार रहेको बताए । उक्त रकमबाट ३ लाख ३ हजार पाँच सय एटीएम कार्डबाट निकालिएको, स्वाइप गरेर निकालिएको रकम २ लाख ६९ हजार ९ सय र ५ हजार ३ सय १६ रुपैयाँ रिचार्ज गरिएको पाइएको बताए । मृतकसँग एकपटक विवाह दर्ताका बेलामा मात्रै भेट भएकोले विवाह नक्कली भएको प्रमाणित हुने बताए । २ करोड ५० लाख रुपैयाँ बराबरको इन्स्याेरेन्स गराइएका सर्जन बिकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको बताइएको थियो । मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि बिकको मृत्यु भएको थियो । सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकोमा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरी छाडिएको थियो । मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स लाइफ इन्स्याेरेन्सबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए ।