कोरोना बीमाको पैसा नदिने मुडमा अर्थमन्त्रालय, बीमा क्षेत्रमा ११ अर्बको त्रास

काठमाडौं । अर्थमन्त्रालयले कोरोना बीमाको भुक्तानी विकल्पमा पुनर्विचार गर्न बीमा समितिलाई निर्देशन दिएको छ । कोरोना बीमाको दाबी भुक्तानीको लागि समितिले विकल्प दिएको ४ महिनापछि अर्थमन्त्रालयले त्यसमा पुनर्विचार गर्न समितिलाई पत्र पठाएको हो । बीमा समितिले गत असोजको दोश्रो सातामा नै दाबी भुक्तानी गर्नको लागि सरकारलाई ४ वटा विकल्प दिएको थियो । समितिले अर्थमन्त्री जनार्दन शर्माको आग्रह अनुसार नै कोरोना बीमाको दाबी बापतको ११ अर्ब रुपैयाँ भुक्तानीको लागि ४ वटा विकल्पसहितको सुझाव पठाएको थियो । जसमा सरकारको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्री गरेर प्राप्त हुने रकमबाट दावी भुक्तानी गर्ने, बीमा कम्पनीहरुले राज्यलाई बुझाउने कर, भ्याटमा छुट दिने वा समायोजन गरेर भएपनि दाबी भुक्तानी फछ्र्यौटमा सहजिकरण गरिदिने, कोभिड बीमा ऋणपत्र जारी गरेर प्राप्त रकमबाट भुक्तानी दिने र सरकारी बीमा कम्पनीले राष्ट्रसेवक कर्मचारीको बीमा गरेबापत प्राप्त रकमबाट भुक्तानी दिने गरी ४ वटा विकल्पहरु थिए । तर उक्त सुझावसहितको विकल्पमा अर्थमन्त्रालयले कुनै एउटा छानेर निर्णय गर्नुको साटो उल्टै पुनर्विचार गर्न भन्दै ४ महिनापछि समितिलाई पत्र पठाएको छ । यसको मतलब सरकार कोरोना बीमाको दावी भुक्तानीमा सहयोग नगर्ने मुडमा देखिएको उक्त पत्रले स्पष्ट रुपमा जनाएको बीमा समिति श्रोतले बताएको छ । ‘हामीले चार विकल्प प्रस्ताव गरेका थियौं, त्यसमा अर्थमन्त्रालयले केही पनि नभनि विकल्पहरुका बारेमा पुनविचार गर्न अर्को पत्र पठाएको छ, सो पत्रको अर्थ सरकार कोभिड बीमाको भुक्तानी गर्न तयार छैन । र, गर्नै परे पनि थोरै रकम मात्रै भुक्तानी गर्छ भन्ने हामीले बुझेका छौं,’ उच्च श्रोतले विकासन्युजसँग भन्यो । यो चार विकल्पबाहेक ५० प्रतिशत नेपाल सरकारले बेहोर्ने र बाँकी ५० प्रतिशत बीमा कम्पनी, बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी लगायतले बेहोर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । सरकारले गत आर्थिक वर्षको बजेटमा कोरोना बीमाको बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको थियो । त्यसपछि कोरोना बीमा गराउनेहरुको संख्या अझै बढेको थियो । तर, हालसम्म सरकारले यसको बारेमा एउटा ठोस निर्णय लिन नसक्दा कोरोना बीमा गर्नेहरु मारमा परेका छन् । कोरोना बीमाकाे दावी भुक्तानी बाफतकाे ११ अर्ब रूपैयाँ दिन सरकारले अटेर गरेपछि बीमा समितिले भने बीमा कम्पनीहरूलाई नगद लाभांश वितरणमा राेक लगाएकाे छ । दावी भुक्तानीमा अर्थकाे आनाकानी र बीमा समितिकाे निर्देशनहरूले बीमा क्षेत्र थप सशंकित बनेकाे छ ।

धमाधम निष्काशन हुँदै आईपीओ, इमर्जिङ्ग नेपालले पनि २६ गतेदेखि जारी गर्ने

काठमाडौं । इमर्जिङ्ग नेपालले आगामी माघ २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । र, बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणलाई जारी गरिने छ । यससँगै इच्छुक लगानीकर्ताले माघ २६ गतेदेखि छिटोमा फागुन १ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । उनीहरुले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । उक्त आईपीओ जारी गर्न इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको बुझाउँछ । हाल ५० करोड ४० हजार रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओपश्चात ५५ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ ।

हाथवेले आईएमई जनरल इन्स्योरेन्सको साधारण सेयर बेच्ने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आईएमई जनरल इन्स्योरेन्सको साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले इन्स्योरेन्सको २ लाख ९ हजार ८०९ कित्ता सेयर बिक्री गर्न लागेको हो । जसको लागि नियामक निकाय बीमा समितिको समेत स्वीकृति पाएको छ । समितिले माघ १६ गते मात्रै कम्पनीलाई सो मात्राको सेयर बिक्री गर्न स्वीकृति दिएको हो । यससँगै, कम्पनीले तीन महिनाभित्रमा सो मात्राको सेयर बिक्री गर्ने छ ।