प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा, चुक्ता पुँजी १ अर्ब १७ करोड नाघ्ने

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई करसहित ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ छ । ७ प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा भने घटी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तुलनामा ८.४२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

यूनियन लाइफले ल्यायो जीवन आवरण बीमा योजना, बीमाङ्क दुई गुणा पाइने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषता भएको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । यस योजनामा बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतीले मृत्यु भएमा थप बीमाङ्क रकम अर्थात दुई गुणा बीमाङ्क रकम र बोनस उपलब्ध हुने व्यवस्था रहेको छ । यसैगरी दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमको दुई गुणा बीमाङ्क रकम, अतिरिक्त दुर्घटना लाभ वापत एक करोडसम्म र बोनस रकम उपलब्ध हुनेछ । कम्पनीको अनुसार यस योजना लिन चाहनेहरुले न्युनतम एक लाख रुपैयाँदेखि आयश्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने छन् । साथै न्युनतम ७ वर्षदेखि अधिकतम २५ वर्षसम्मको अवधि कायम गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । यस बीमा योजना अन्तर्गत स्थायी अंगभंग सुविधा समेत उपलब्ध हुनेछ । उक्त बीमा योजना लिएका बीमितहरुले बीमालेख अन्तर्गत ऋण तथा समपर्ण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बताए । यस बीमा योजनामा भएका प्रावधानहरुबाट बीमा गर्ने व्यक्तिहरुले अधिक लाभ लिन सक्ने कर्णले बताए ।

मेटलाइफ फर्चयुन म्यागजिनको विश्वको उत्कृष्ट बीमा कम्पनीहरुको सूचिमा

काठमाडौं । मेटलाइफ फर्चयुन म्यागजिनको २०२२ को सबैभन्दा प्रशंसनीय बीमा कम्पनीहरुको सूचिमा परेको छ । कम्पनीले आइतबार विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । मेटलाइफको अनुसार  प्रशंसनीय मानिएका कम्पनीहरुको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरु समावेश गरिएको थियो । बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरुको पहिचानका लागि फर्चयुनले कर्न फेरि नामक विश्वव्यापि संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य गरेको थियो । यसमा बीमा कम्पनीको लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारणहरुमा बीमा उद्योगका कार्यकारीहरु, निर्देशकहरुसँग मिलेर फर्चुनले सर्वेक्षण गरेको थियो । मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिशेल खलाफले आफ्नो कम्पनी जीवन बीमा उद्योगमा सबैभन्दा प्रशंसनीय कम्पनीहरु मध्ये एक भएकोमा खुशी लागेको बताए । मेटलाइफका कर्मचारीहरुले कम्पनीको उद्देश्यलाई आत्मसाथ गर्दै ग्राहकहरुलाई गरिएको वाचा पूर्ति गर्न र आफ्ना समुदायहरुमा सकारात्मक परिवर्तन ल्याउन सँधै अग्रसर रहेकाले फर्चयुनले प्रदान गरेको यो मान्यता आफ्नै कर्मचारीहरुको मान्यता भएको सीइओ खलाफले बताए ।