हिमालयन जनरल इन्स्योरेन्सको सीईओ बन्दै विजयबहादुर शाह

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विजयबहादुर शाह नियुक्त हुने भएका छन् । इन्स्योरेन्सका सीईओ सुशील बज्राचार्य बाहिरिने भएसँगै उक्त पदमा शाहलाई नियुक्त गरिने प्रकृया अघि बढेको हो । सीईओ बज्राचार्य फागुनदेखि इन्स्योरेन्सबाट बाहिरिन लागेका हुन् । २०७६ साउन १ गते ४ वर्षको लागि नियुक्त भएका बज्राचार्य डेढ वर्ष अघि नै इन्स्योरेन्सको उक्त पदबाट बाहिरन लागेका हुन् । माघ ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आपसी सहमतिमा करार संशोधन गरी उनको कार्यकाल २०७८ माघ मसान्तसम्मको लागि मात्रै कायम गर्ने निर्णय गरेको हो । यससँगै फागुनबाट रिक्त हुन लागेका हिमालयन जनरल इन्स्योरेन्सको सीईओ पदमा शाहलाई नियुक्त गरिने श्रोतले जनाएको छ । शाह यसअघि नेपाल इन्स्योरेन्सको सीईओ थिए । आफ्नो ४ वर्षे कार्यकाल सफलता पूर्वक पुरा गरी उनी गत साउन ९ गते नेपाल इन्स्योरेन्सबाट बाहिरिएका थिए। उक्त कम्पनीबाट बिदा भएको ६ महिना अर्थात आफ्नो कुलिङ् पिरियड सकिएसँगै शाह हिमालयन जनरल इन्स्योरेन्समा आवद्ध हुन लागेका श्रोतले जनाएको छ । कुशल व्यवसायिक व्यवस्थापक रहेका शाहको बीमा क्षेत्रमा लामो अनुभव रहेको छ । उनको नेतृत्वमा विभिन्न कम्पनीले राम्रो फड्को मारेको देखिन्छ । नेपाल इन्स्योरेन्समा आवद्ध हुनुअघि शाह एनएलजी इन्स्योरेन्सको सीईओ थिए । उनले त्यहाँ मात्रै ८ वर्ष अर्थात दुई कार्यकाल सफलतापूर्वक बिताएका थिए । त्यसभन्दा अघि नेशनल इन्भेष्टमेन्ट एण्ड क्यापिटल मार्केटमा पनि सीईओ पद सम्हालेका शाह नेपाल बीमक संघको पूर्वअध्यक्ष समेत हुन् । उनले बीमाक संघको दुई पटकसम्म अध्यक्ष पद सम्हालेका हुन् । वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शाहले गोर्खा ब्रुअरी, सूर्य टोवाको, राष्ट्रिय प्रकृति संरक्षणकोष लगायतका कार्यालयमा काम गरिसकेका छन् । उनी विकासशील देशहरुका बीमा कम्पनी र नियमनकारी निकायको साझा संस्था एआईआरडीसीको अध्यक्ष समेत हुन् । उर्जाशील शाह नेपाल व्यवस्थापन संघबाट २०१४ मा वर्षको उत्कृष्ट व्यवस्थापकबाट सम्मानित समेत भएका थिए । ३५ वर्षभन्दा बढीको कार्यानुभव भएका शाह देशमा कार्यरत बीमा कम्पनीको साझा संघ नेपाल बीमक संघलाई संस्थागत गरी २ कार्यकाल अध्यक्ष भैसकेका छन् ।

सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको १० लाख रकम भुक्तानी

काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख बराबरको घातक रोगविरुद्धको दावी रकम हस्तानतरण गरेकाे छ । कम्पनीले इस्मा गाउँपालिका वडा नं. ४ गुल्मीका बीमित मधु खत्रीलाई उक्त रकम हस्तान्तरण गरेको हाे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले खत्रीलाई उक्त चेक हस्तान्तरण गरेका थिए । खत्रीले १० लाख बीमाङ्कको बीमालेख लिएको १ वर्ष बिते लगत्तै मृगौला फेल भएकाे कारण उनलाई बीमाशूल्क रकममा थप १६९० रुपैयाँ भुक्तान गरी कम्पनीले घातक रोग बापतको बीमाङ्क १० लाख खत्रीलाई हस्तान्तरण गरेको जनाएकाे छ । कम्पनीकाे अनुसार उक्त दावी पश्चात पनि उनको पोलिसीमा घातक रोग बाहेको सम्पूर्ण सुविधा यथावत रहि नरन्तर रहने छ ।  

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ छ । १० प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ पुग्ने छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बराबर हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट पनि १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।