आईएमई लाइफका बीमितले ७० रुपैयाँसम्म बोनस पाउने, कुनमा कति ?
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले अधिकतम ७० रुपैयाँ बोनस पाउने भएका छन् । आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गर्दै इन्स्योरेन्सले बीमितलाई प्रतिहजार अधिकतम ७० रुपैयाँ (प्रतिहजार) बोनस गर्ने भएको हो । उक्त नयाँ बोनसदर अनुसार कम्पनीका बीमितले प्रतिहजार न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् । इन्स्योरेन्सले विभिन्न ४ वटा बीमालेखका विभिन्न अविधिका बीमितलाई सो मात्राको बोनसदर वितरण गर्ने भएको हो । इन्स्योरेन्सले सावधिक जीवन बीमालेखका बीमितिलाई न्यूनतम ३० देखि अधिकतम ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । जसमा १४ वर्षसम्म अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४८ र २५ वा सोभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर तोकिएको छ । त्यस्तै, सावधिक तथा अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा पनि न्यूनतम ३० देखि अधिकतम ७० रुपैयाँ निर्धारण गरिएको छ । जसमा ९ वर्षसम्म अर्थात १४ वर्ष अवधिसम्मकाले बराबर अर्थात ३० रुपैयाँ, १५ देखि १९ सम्मकाले ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्मकाले ४८ र २५ वा सो भन्दा माथिकाले ७० रुपैयाँ बोनसदर पाउने छन् । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा पनि न्यूनतम ३० र अधिकतम ७० रुपैयाँ तोकिएको छ । जसमा ९ वर्षसम्मको अवधिकाले पाउने छैनन् भने त्यसमाथिकाले मात्रै पाउने छन् । १० देखि १४ वर्षको अवधिकाले प्रतिहजार ३०, १५ देखि १९ वर्ष अवधिकाले ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिकाले ४८ रुपैयाँ र सो भन्दा माथिको बीमा अवधिको लागि ७० रुपैयाँ बोनसदर तोकिएको छ । यता वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) बीमालेखका बीमितले सबैभन्दा कम अर्थात प्रतिहजार २० रुपैयाँ बोनसदर पाउने भएका छन् । जुन सबै बीमा अवधिकाले बराबर पाउने भएका हुन् । नियामक निकाय बीमा समितिले कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन स्वीकृत गरेसँगै इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको हो । जुन, समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि कायम हुने इन्स्योरेन्सले जनाएको छ ।
डेढ वर्षअघि नै बाहिरिँदै हिमालयन जनरलका सीईओ बज्राचार्य
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचार्य कम्पनीबाट बाहिरिने भएका छन् । ४ वर्षको लागि नियुक्त भएका बज्राचार्य डेढ वर्ष अघि नै इन्स्योरेन्सको उक्त पदबाट बाहिरन लागेका हुन् । इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनको कार्यकाल आगामी मसान्तसम्मको लागि मात्रै हुने गरी करार संशोधन गरेसँगै उनले २०७८ माघसम्म मात्रै कार्यभार सम्हाल्ने छन् । बज्राचार्य २०७६ साउन १ गते इन्स्यारेन्सको सीईओ पदमा नियुक्त भएका थिए । उनले आगामी ४ वर्ष इन्स्योरेन्सको सीईओ पदमा रहेर जिम्मेवारी सम्हाल्ने गरी करार सम्झौता गरेका थिए । तर उनी चार वर्ष नबित्दै उक्त पदबाट बाहिरिने भएका छन् । सीईओ बज्राचार्य र कम्पनीले एक आपसी सहमतिमा करार संशोधन गरी २०७८ माघ मसान्तसम्म मात्रै कायम गरेको इन्स्योरेन्सले जानकारी गराएको छ । माघ ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यससँगै आगामी फागुनदेखि इन्स्योरेन्सको सीईओ पद रिक्त हुने भएको छ ।
लाभांश परिमार्जन गर्दै ज्योति लाइफ इन्स्योरेन्सले बढायो बोनस सेयर
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले प्रस्तावित लाभांश परिमार्जन गरेको छ । माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले यसअघिको प्रस्तावित लाभांशलाई परिमार्जन गरेको हो । लाभांश परिमार्जन गरेसँगै इन्स्योरेन्सले सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । जुन अघिल्लो प्रस्तावित बोनसको तुलनामा बढी हो भने नगद घटी हो । यसअघि कार्त्तिक १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस र ५.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । इन्स्योरेन्सले नियामक निकाय बीमा समितिको स्वीकृतिसँगै लाभांशमा परिमार्जन गरेको हो । उक्त लाभांश अब इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्ने छ ।