जीवन बीमा कम्पनीहरुले पनि नगद लाभांश नदिने
काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका जीवन बीमा कम्पनीहरुले पनि नगद लाभांश वितरण नगर्ने भएका छन् । नियामक निकाय बीमा समितिले नगद लाभांश वितरणमा रोक लगाएसँगै उनीहरुले नगद लाभांश वितरण नगर्ने भएका हुन् । नियामक निकाय बीमा समितिले निर्जीवनलाई जस्तै जीवन बीमा कम्पनीलाई पनि रोक लगाएको हो । समितिले कम्पनीलाई थप बलियो बनाउन जीवन बीमा व्यवसाय गर्दै आएका १९ वटै इन्स्योरेन्सलाई उक्त निर्देशन दिएको हो । कम्पनीले भविष्यमा जोखिममा आधारित पुँजी कायम गर्नुपर्ने, आइपर्नसक्ने थप जोखिम बहन गर्न पुँजीकोषलाई सबल बनाउन सो निर्देशन दिइएको इन्स्योरेन्सका निर्देशक दिनेशकुमार लालले जनाएका छन् । उनका अनुसार जीवन बीमा कम्पनीहरुले अर्को व्यवस्था नभएसम्मको लागि बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि बाहेकको नगद लाभांश वितरण गर्न नपाउने भएका छन् । यद्दपि जीवन र निर्जीवन दुबै कम्पनीले बोनस सेयर भने जारी गर्न पाउने छन् । सम्बन्धित समाचार निर्जीवन बीमा कम्पनीहरुले नगद लाभांश नदिने
एशियन लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, तोक्यो बुक क्लोज मिति
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आगामी माघ २१ गते वार्षिक साधारणसभा गर्ने भएको छ । पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन आफ्नो १३औं साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभामा जान कम्पनीले आगामी माघ १२ गते बुक क्लोज गर्दै छ । यससँगै माघ ११ गतेसम्म कायम सेयरधनीले इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने छन् । सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस र कर सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, सभाले इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटलमा सामूहिक लगानी कोष सञ्चालन गर्न स्वीकृति लिन सञ्चालक समितिलाई अख्तियारी दिने छ ।
प्रिमियर इन्स्योरेन्सको लाभांश परिमार्जन, दोब्बरले बढ्यो बोनसदर
काठमाडौं । प्रिमियर इन्स्योरेन्सले प्रस्तावित लाभांश पारिमार्जन गरेको छ । कम्पनीले बीमा समितिको निर्देशन मान्दै यसअघि प्रस्ताव गरेको लाभांशमा परिमार्जन गरेको हो । पारिमार्जित लाभांश अनुसार कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । जुन बीमा समितिले स्वीकृति पनि गरिसकेको छ । कम्पनीले यसअघि प्रस्ताव गरेकोमा बोनसदर करिब दोब्बरले बढाएर र नगद लाभांशदर घटाएर प्रस्ताव गरेको हो । इन्स्योरेन्सले यसअघि सेयरधनीलाई बोनस र नगद लाभांश बराबर वितरण गर्ने प्रस्ताव गरेको थियो । तर बीमा समितिले नगद लाभांश वितरणमा रोक लगाएपछि इन्स्योरेन्सले लाभांशमा फेरबदल गरेको हो । यससँगै समितिले स्वीकृति दिएको परिमार्जित लाभांशलाई इन्स्योरेन्सको वार्षिक साधारणसभाले पारित गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने निश्चित हुन्छ । त्यस्तै, इन्स्योरेन्सले आगामी माघ २१ गते भर्च्युअल माध्यमबाट २८औं वार्षिक साधारणसभा गर्ने भएको छ । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी माघ ५ गते बुक क्लोज गर्दै छ । यससँगै माघ ४ गतेसम्म कायम सेयरधनीले प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर पाउने छन् ।