एकाएक दुई इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, तीन हाइड्रोमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । बिहीबारको बजारमा एकाएक दुई निर्जीवन बीमा कम्पनीमा इन्स्योरेन्समा लगानीकर्ताको आकर्षण देखिएको छ । बजारमा आईएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । नेपाल धितोपत्र बोर्डले लामो समयपछि गरेको निर्णयसँगै त्यसको प्रभाव दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा परेको हो । बोर्डले आईएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्स दुबैलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएसँगै लगानीकर्ताहरु यी कम्पनीको सेयरमा झुम्मिएका हुन् । बोर्डले अनुमति दिएसँगै आईएमई जनरल इन्स्योरेन्सको उच्च कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन २२ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बोर्डले कम्पनीलाई ४० प्रतिशतको हकप्रद सेयर जारी गर्न अनुमति दिएसँगै कम्पनीको सेयर कारोबार बढेको हो । आईएमई जनरलको सेयर कारोबार रकमसँगै सेयरमूल्य पनि बढेको छ । इन्स्योरेन्सको सेयर मूल्य एकैदिन ५० रुपैयाँले बढेर प्रतिकित्ता १२१७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ४.२८ प्रतिशतले बढी हो । त्यस्तै, बढी कारोबार गर्नेको तेश्रो स्थानमा शिखर इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको १७ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद जारी गर्न बोर्डको स्वीकृति पाएसँगै लगानीकर्ताहरु इन्स्योरेन्सको सेयरमा झुम्मिएका हुन् । त्यस्तै, शिखरको सेयर कारोबारसँगै सेयर मूल्य पनि बढेको छ । इन्स्योरेन्सको सेयर मूल्य ८६ रुपैयाँले बढेर प्रतिकित्ता २ हजार ९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ४.४७ प्रतिशतले बढी हो । दुई निर्जीवन बीमा कम्पनीले ९९ कराेड रूपैयाँकाे हकप्रद जारी गर्ने यता केही देखि उच्च कारोबार भइरहेको अपि पावर कम्पनी आज दोश्रो स्थानमा रहेको छ । कम्पनीको १८ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार भने प्रतिकित्ता ५५० रुपैयाँ भएको छ । त्यस्तै, बिहीबारको कूल कारोबार ५ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा २५ करोड रुपैयाँले घटी हो । अघिल्लो दिन अर्थात बुधबारको बजारमा ६ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबार घटेपनि सेयर मूल्य मापक नेप्से परिसूचक भने बढेको छ । गत दुई दिन निरन्तर घटेको बजार आज भने ३२.९६ अंकले बढेर २९३१.२६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.१४ प्रतिशतले बढेको हो । बजारमा अधिकांश समूह बढेका छन् । जसमध्ये सबैभन्दा बढी बढ्नेमा जीवन बीमा समूह रहेको छ । जो ४६२ अंकले बढेर १६ हजार ६५४ बिन्दुमा पुगेको छ । यता बैंकिङ्ग र म्युचुअल फण्ड समूह भने सामान्य अंकले घटेका छन् । दोहोरो अंकले बढेको बजारमा तीन वटा हाइड्रो कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमा मध्य भोटेकोशी जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी रहेका छन् । यी मध्ये दुई कम्पनी मध्य भोटेकोशी र तेह्रथुम पावरको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ भने बुद्धभूमी नेपालको ९.९७ प्रतिशतले बढेको छ । यससँगै, यी तीन वटै कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५५०, ६३५ र ३१६ रुपैयाँमा भएको छ ।

दुई निर्जीवन बीमा कम्पनीले ९९ कराेड रूपैयाँकाे हकप्रद जारी गर्ने

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीले ९९ करोड ५ लाख रूपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएका छन् । शिखर इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्सले अब छिट्टै नेपाली पुँजीबजारमा ९९ करोड ५ लाख ९१ हजार रूपैयाँ बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएका हुन् । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति दिएसँगै यी दुई इन्स्योरेन्सलाई सो मात्राको हकप्रद जारी गर्न बोटो खुला भएको हो ।  माघ ५ गते बसेको बोर्डको सञ्चालक समितिको बैठकले लामो समयअघिदेखि पाइपलाइनमा रहेका शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्सलाई हकप्रद जारी गर्न स्वीकृति दिएको बोर्डका कार्यकारी निर्देशन निरज गिरीले जानकारी दिए । जसमध्ये शिखर इन्स्योरेन्सले करिब ८ महिना र आईएमई जनरल इन्स्योरेन्सले करिब ५ महिनाको पर्खाइपछि बल्ल स्वीकृति पाएका हुन् । यससँगै शिखरले ३० प्रतिशत अर्थात ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । बोर्डले इन्स्योरेन्सलाई अंकित मूल्य एक सय रुपैयाँ दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रदको लागि स्वीकृति दिएको हो । उक्त हकप्रद सेयर निष्काशन गर्नको लागि इन्स्योरेन्सले निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । हाल शिखरको चुक्ता पुँजी एक अर्ब ७५ करोड ६१ लाख रुपैयाँ छ । ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रदपछि शिखर इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २८ करोड ३६ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै, गत भदौ १७ गते बोर्डसँग स्वीकृति मागेको आईएमई जनरल इन्स्योरेन्सले करिब ५ महिनापछि हकप्रदको लागि स्वीकृति पाएको छ । बोर्डले आईएमई जनरललाई ४० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँ दरका ४६ लाख ३० हजार ३४४ कित्ता अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ छ । ४६ करोड ३० लाख रुपैयाँपछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ६२ करोड ५ लाख रुपैयाँ पुग्ने छ । सूचीकृत कम्पनीको नियमकारी निकाय नेपाल धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्वबिहीन भएकाले हकप्रद तथा आईपीओको लागि अनुमति दिने कार्य भएको थिएन । हाल पनि बोर्ड नेतृत्वबिहीन नै रहेको छ । तर, बोर्डका कार्यकारी निर्देशक निरज गिरीले अध्यक्ष पदको जिम्मेवारी पाएपछि बोर्डले हकप्रद तथा आईपीओको अनुमति दिने कार्य शुरु गरेको हो । साथै, अब अन्य दुई कम्पनी हकप्रद सेयर निष्काशन गर्नेको पाइपलाइनमा छन् । जसमा अपि पावर कम्पनी र नेपाल फाइनान्स रहेका छन् । अब बोर्डले स्वीकृति दिएपछि अपि पावरलाई १ अर्ब ८ करोड रुपैयाँ र नेपाल फाइनान्सलाई ३४ करोड ५४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्री गर्न बाटो खुल्ने छ ।

नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । माघ ३ गते बिहान बसेको कम्पनी सञ्चालक समितिले उक्त प्रस्ताव गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।