निर्जीवन बीमा कम्पनीहरुले नगद लाभांश नदिने

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले यो वर्ष नगद लाभांश नदिने भएका छन् । नियामक निकाय बीमा समितिले नगद लाभांश वितरण गर्न रोक लगाएसँगै कम्पनीहरुले यो वर्ष सेयरधनीलाई नगद लाभांश नदिने भएका हुन् । समितिले कोरोना बीमाको दाबी भुक्तानी नभएसम्म कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाएको हो । यससँगै सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले नगद लाभांश वितरण गर्न नपाएपनि बोनस सेयर भने वितरण गर्न पाउने छन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुलाई कोरोना बीमाको दाबी भुक्तानी नगरेसम्म नगद लाभांश वितरण नगर्न निर्देशन दिएको बताएका छन् । ‘कोरोना बीमा पोलिसी ल्याएको दुई वर्ष नाघिसक्यो, बीमितिले अहिलेसम्म भुक्तानी पाएका छैनन्, यस्तो अवस्थामा नगद लाभांश वितरण गर्न उचित हुँदैन, त्यसैले उक्त रकम भुक्तानी नभएसम्म कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिइएको हो,’ कार्यकारी निर्देशक पौडेलले भने । समितिको पछिल्लो तथ्यांक अनुसार १ लाख ५९ हजार २२५ वटा दाबी वापत १४ अर्ब ९३ करोड ६६ लाख रुपैयाँ बराबरको दाबी परेको छ । त्यसमध्ये पुल मार्फत ३ अर्ब ५० करोड रुपैयाँ र बीमा कम्पनीहरुबाट १ अर्ब २८ करोड ७८ लाख रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । र, बाँकी रहेको १० अर्ब १५ करोड १४ लाख रुपैयाँ बराबरको दाबी अझै भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ । कार्यकारी निर्देशक पौडेलले लामो समयदेखि बीमितको दावी भुक्तानी दिन नसकेको अवस्थामा नगद लाभांश दिनु उचित नहुने भएर लाभांशमा रोक लगाइएको बताए । साथै, सेयरधनीले यो वर्ष लाभांश नपाउँदा खासै असर नपर्ने समेत उनले बताएका छन् । ‘अहिलेको अवस्थामा लाभांशभन्दा पनि दावी भुक्तानी महत्वपूर्ण हो, यो वर्ष सेयरधनीले नगद नपाउँदा केही पनि हुने होइन, त्यसैले हामीले लाभांशभन्दा पनि दावी भुक्तानीलाई प्राथमिकतामा राखेर यो निर्देशन दिएका हौं,’ उनले विकासन्युजसँग भने । कम्पनीहरुलाई बलियो बनाउन समेत यो निर्देशन दिइएको पौडेल बताउँछन् । यद्पि समितिले हालसम्म कम्पनीहरुलाई लिखित रुपमा भने निर्देशन दिएको छैन । कम्पनीहरुको प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत गरेपछि मात्रै वितरण गर्न बाटो खुल्ने छ । त्यसैले समितिले लिखित नभई मौखिक रुपमै निर्देशन दिएपनि निर्जीवन बीमा कम्पनीहरुले यो कार्यान्वयनमा ल्याउनै पर्ने देखिन्छ । ‘कम्पनीहरुले सेयरधनीलाई नगद लाभांश भन्दा बोनस सेयर दिए भने आफै बलियो हुँदै जान्छन्, त्यहि उद्देश्यले पनि कम्पनीहरुलाई यो वर्ष नगद लाभांश नदिनु भनेर मौखिक रुपमा भनेका छौं,’ विकासन्युजसँग बोल्दै उनले भने । साथै, समितिले यसअघि भुकम्पको बेलामा पनि कम्पनीहरुको नगद लाभांशमा रोक लगाएको थियो । २ कम्पनीले गरे लाभांश घोषणा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १८ वटा नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएका छन् । जसमध्ये २ कम्पनीले मात्रै गत वर्षको लाभांश घोषणा गरेका छन् । हालसम्म हिमालयन जनरल र प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरिसकेका छन् । जसमध्ये हिमालयन जनरलले ६.६५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सले ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिसकेको छ । बीमा समितिले भने हालसम्म स्वीकृति दिएको छैन ।

बीमा क्षेत्रमै उत्कृष्ट बन्यो शिखर इन्स्योरेन्स, पायो कर्पोरेट एक्सेलेन्स अवार्ड

काठमाडौं । शिखर इन्स्योरेन्स ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले जीवन तथा निर्जीवन बीमा विधातर्फ शिखर इन्स्योरेन्सलाई उक्त अवार्ड प्रदान गरेको हो । क्लबले विभिन्न वित्तीय तथा गैर वित्तीय सुचकांकहरु तथा अन्य विभिन्न ५ वटा आधारहरूमा विश्लेषण गरी यो अवार्ड प्रदान गरेको जनाएको छ । जसमा सुशासन तथा व्यावसायिक कृयाकलापमा नविनता, ग्राहक सन्तुष्टि तथा ग्राहक विस्तार, सम्मानजनक ब्राण्ड पहिचान र समावेशी तथा निष्पक्ष रोजगारको वातावरण तथा उत्कृष्ट रोजगारीको अनुभव लगायतका आधारहरू छन् । इन्स्योरेन्सले हाल १०६ वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ, जहाँ ६१० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । शिखर इन्स्योरेन्सले मौसमी सूचकांकमा आधारित कृषि बीमा, शतप्रतिशत नगदरहित स्वास्थ्य बीमा, मोटर अतिरिक्त लाभ बीमा, दक्क मनिस्थिति बीमा, कोभिड १९ भ्याक्सिन तथा अन्य भ्याक्सिनको प्रयोगशाला परिक्षण बीमा जस्ता नविनतम बीमाको सुरुवात गरी नेपालमा बीमाको विस्तार गर्न उल्लेखनिय योगदान पुऱ्याउँदै आइरहेको छ। इन्स्योरेन्सलाई विगतमा पनि अन्य विभिन्न निकायहरुबाट बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी अफ द इयर तथा बेष्ट इन्स्योरेन्स कम्पनी अफ द इयरबाट सम्मान प्रदान गरिएको थियो । साथै शिखर इन्स्योरेन्स ‘ए’ रेटिङ प्राप्त नेपालको पहिलो तथा एक मात्र बीमा कम्पनीका रुपमा रहेको छ ।

बीमक संघको अध्यक्षमा क्षेत्री निर्विरोध, उपाध्यक्षमा बैदवार र महासचिवमा खड्का

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको संगठन नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् । पुस २३ गते भएको संघको अधिवेशनमा क्षेत्रीको नेतृत्वमा ९ जनाको नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने समय सम्ममा सबै पदाधिकारीमा एक/एक जना र कार्यसमिति सदस्यमा ५ जनाको मात्र उम्मेदवारी दर्ता भएको नवनिर्वाचित अध्यक्ष क्षेत्रीले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष क्षेत्री सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी यसअघि संघको महासचिवमा थिए । त्यस्तै, उपाध्यक्षमा बिरेन्द्र बैदवार चयन भएका छन् । उनी सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै, महासचिवमा नेको इन्स्योरेन्सका सीईओ अशोक खड्का चयन भएका छन् । कोषाध्यक्षमा युगेशभक्त बादे श्रेष्ठ निर्विरोध चयन भएका छन् । श्रेष्ठ आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिृकत हुन् । त्यसैगरी, कार्यसमिति सदस्यमा ५ जना चयन भएका छन् । जसमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्रचार्य, अजोड इन्स्योरेन्सका कुमार बहादुर खत्री, राष्ट्रिय बीमा कम्पनीका सुवास कोइराला, जनरल इन्स्योरेन्सका रामचन्द्र श्रेष्ठ र ओरियन्टलका बिनोद घाते निर्विरोध चयन भएका छन् । संघको वार्षिक साधारणसभा शुक्रबार अपरान्ह ४ बजे बस्दै छ । साधारणसभापछि नयाँ नेतृत्वकाे औपचारिक घोषणा कार्यक्राम रहेको छ ।