रिलायन्स लाइफबाट हटे सिद्धार्थ बैंकका प्रतिनिधि खनाल
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सबाट सिद्धार्थ बैंकको प्रतिनिधि हटेका छन् । इन्स्योरेन्सको संस्थापक सञ्चालकमा बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका अर्जुनभद्र खनाल उक्त पदबाट हटेका हुन् । मंसिर ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालक खनालको मनोनय फिर्ता गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम इन्स्योरेन्सले मंसिर १४ गतेदेखि लागू हुने गरी खनाललाई कम्पनी सञ्चालक पदबाट हटाएको हो ।
जीवन बीमा कम्पनीहरुले एक महिनामै संकलन गरे १० अर्ब प्रिमियम, सूर्यालाई पछ्याउँदै सिटिजन
काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक महिनामै १० अर्ब बढी प्रिमियम संकलन गरेका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अनुसार सञ्चालित १९ वटा जीवन बीमा कम्पनीले कार्त्तिक महिनामा मात्रै १० अर्ब १९ करोड ८२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । कम्पनीहरुले जीवन र वैदेशिक रोजगार बीमालेख गरी कूल ७ लाख ३० हजार १६६ वटा बीमालेख बिक्री गरी सो मात्राको बीमाशुल्क आर्जन गरेका हुन् । एक महिनाको अवधिमा अर्ब बढी बीमाशुल्क संकलन गर्नेमा तीन कम्पनीहरु रहेका छन् । तीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बीमाशुल्क संकलन गरेको छ । यसअघि पनि अन्य कम्पनीलाई पछि पार्दै अघि बढिरहेको नेपाल लाइफले कार्त्तिक महिनामा मात्रै ११ हजार ९२२ वटा बीमालेख बिक्री गरी २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, बढी बीमाशुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन दोश्रोमा र नेशनल लाइफ इन्स्योरेन्स तेश्रो स्थानमा रहेको छन् । जसमध्ये लाइफ इन्स्योरेन्सले ५ हजार २५५ वटा बीमालेख बिक्री गरी कूल एक अर्ब ३३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले ४ हजार २४५ वटा पोलिसी बिक्री गरी एक अर्ब ८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी, सबैभन्दा बढी बीमालेख बिक्री गर्ने संख्याको आधारमा मेटलाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सले एक महिनामै ४ लाख ६ हजार ७३९ वटा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीले सो मात्राको बीमालेख बिक्री गरी ४६ करोड ४७ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, यूनियन लाइफले ६६ करोड ७२ लाख र एशियन लाइफले ५९ करोड ६९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।त्यसैगरी, न्यूनतम ३० करोडदेखि अधिकतम ४० करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गर्नेमा ५ जीवन बीमा कम्पनी रहेका छन् । जसमा प्राइम, सूर्या, सिटिजन, सन नेपाल र रिलायबल नेपाल लाइफ रहेका छन् । यीमध्ये सूर्या लाइफ र सिटिजन लाइफबीच टक्कर परेको छ । सूर्या लाइफले ३८ करोड ८९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्दा सिटिजन लाइफले ३८ करोड ७० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा संस्थानले २५ करोड ३४ लाख, ज्योति लाइफले २३ करोड ८० लाख र गुराँस लाइफले २२ करोड ३६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले कार्त्तिक महिनामा ८ सय १४ वटा बीमालेख जारी गरी १० करोड ८० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । उता बीमालेख संख्याको आधारमा गुराँस लाइफ इन्स्योरेन्स सबैभन्दा कम जारी गरेको छ । इन्स्योरेन्सले ८११ वटा मात्रै बीमालेख जारी गरेको छ । को तथ्यांक अनुसार जीवन बीमा कम्पनीले एक वर्षमा २३.२२ प्रतिशत बढी बीमाशुल्क संकलन गरेका छन् । २०७७ कार्त्तिकसम्ममा ३९ अर्ब २२ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका कम्पनीहरुले २०७८ कार्त्तिकसम्ममा ४८ अर्ब ३२ लाख रुपैयाँ बराबरको प्रिमियम उठाउन सफल भएका छन् । त्यस्तै, समीक्षा अवधिमा जीवन बीमालेख जारी संख्या पनि २१.२८ प्रतिशतले बढेको छ । कम्पनीहरुले चालु आवमा ९५ लाख ७ हजार ४२१ वटा पोलिसीहरु बिक्री गर्न सफल भएका छन् ।
बीमा कम्पनीहरुको पुँजी वृद्धि गरिँदै
काठमाडौं । बीमा कम्पनीहरुको ध्यान पुँजी वृद्धिमा गएको छ । बीमा समिति पनि कम्पनीहरुको पुँजी वृद्धि गराउने रणनीति लिँदै छ । त्यस्तै बीमा कम्पनीहरु पनि विभिन्न प्रक्रियाबाट पुँजी वृद्धिको तयारीमा जुटेका छन् । बीमा समितिले दोब्बर पुँजीको सीमामा राखेर नयाँ बीमा कम्पनीको लाइसेन्स खुला गर्न लागेको छ । निर्जीवन बीमा कम्पनीहरुको लागि न्यूनतम २ अर्ब पुँजी तोकेर नयाँ कम्पनीको लाइसेन्स खुला गर्ने तयारीमा बीमा समिति रहेको छ । बीमा समितिले जीवन बीमा कम्पनीको लागि पनि ४ वा ५ अर्ब चुक्ता पुँजीको मापदण्ड बनाउने बारे छलफल चलाएको छ । २०६५ सालमा बीमा समितिले बनाएको मस्यौदामा पनि निर्जीवन बीमा कम्पनीको लागि २ अर्ब र जीवन बीमा कम्पनीहरुको लागि ५ अर्ब चुक्ता पुँजीको प्रस्ताव गरिएको थियो । ‘बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्नै पर्छ’ समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालले भने- ‘पुराना कम्पनीहरु मर्जरमा जाउन् भनेर बीमा समितिले प्रेरित गरेको हो । तर मानेनन् । अब हामी पुँजी वृद्धिको माध्यमबाट मर्जमा जान दवाव सिर्जना गर्छौं ।’ नयाँ कम्पनीहरुको लागि भने शुरुमा नै न्यूनतम पुँजी वृद्धि गरिने उनले बताए । सञ्चालनमा रहेका बीमा कम्पनीहरुले बजार सानो भएको भन्दै नयाँ कम्पनी थप्न नहुनेमा जोड दिँदै आएका छन् । तर अध्यक्ष सिलवाल बीमा बजार विस्तारको लागि, बीमाको पहुँच वृद्धिको लागि नयाँ बीमा कम्पनी आवश्यक भएको बताउँछन् । ‘बीमाको पहुँच २६ प्रतिशत मात्र छन् । ग्रामिण क्षेत्रमा बीमा कम्पनीहरु गएनन् । लघुबीमा पनि हुन सकेन’ सिलवालले भने- ‘बजार विस्तार गर्न र ठूलो जोखिम बहन गर्नको लागि प्रयाप्त पूँजीसहितको बलिया कम्पनी आवश्यक छ ।’ बीमा समितिले पुँजी वृद्धि गर्न दवाव दिन लागेको सन्देश बीमकहरुले पनि पाइसकेका छन् । त्यसैले सञ्चालनमा रहेको कम्पनीहरुले यस वर्षको साधारणसभामा पुँजी वृद्धिको प्रस्ताव लैजाने भएका छन् । धेरै नाफा भएका कम्पनीहरु बोनस सेयर वितरण गरेर पुँजी वृद्धिको तयारीमा छन् भने सबै कम्पनीहरुले हकप्रद सेयर निष्काशनको तयारी गरिरहेका छन् । हाल जीवन बीमा कम्पनीहरुको पुँजी १८ करोड रूपैयाँदेखि ७ अर्ब १९ करोड रुपैयाँसम्म छ भने निर्जीवन बीमा कम्पनीहरुको पुँजी २६ करोड रूपैयाँदेखि १ अर्ब ७५ करोड रुपैयाँसम्म रहेको छ । चुक्ता पुँजी कसको कति छ ?