थप ४ स्थानमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम थप ४ वटा स्थानमा सम्पन्न भएकाे छ । सुनसरीको राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा इन्स्योरेन्सकाे कार्यक्रम सम्पन्न भएको छ । यस अन्तर्गत मंसिर ७ गते गुलरियाको बबई बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०५ जना विद्यार्थीको सहभागिता थियो । सो कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले प्रशिक्षण दिएका थिए । यस्तै मंसिर ८ गते राजापुरको अमर सहिद बहुमुखि क्याम्पसमा ९५ जना विद्यार्थीको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । साेही दिन मंसिर ८ गते वीरगञ्जको बीपीसी कलेजमा पनि बीमा जागरण सम्बन्धी कार्यक्रम संचालन भएको थियो । कलेजका संयोजक मनोज वर्णवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ४८ जनाको उपस्थिति रहेको थियो । महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले सो कार्यक्रममा प्रशिक्षण दिएका थिए । त्यसैगरी मंसिर ११ गते शनिबार काभ्रेको धुलिखेल मेडिकल कलेजमा कम्पनीका बनेपा प्रमुख रिकेश कायष्थको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । एमबिबिएस, बिडिएस र व्यवस्थापनका ५२ जना विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा महालक्ष्मी लाईफका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
राष्ट्रिय बीमा कम्पनीले सीईओ माग्यो, इच्छुकले मंसिर २६ गतेभित्र आवेदन दिइसक्नु पर्ने
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि दरखास्त आव्हान गरिएको छ । कम्पनीले रिक्त रहेको सीईओ पदमा खुला प्रतिस्पर्धाका आधार पदपूर्ति गर्नका लागि मंसिर १२ गते दरखास्त आव्हान गरेको हो । उक्त पदको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ । यससँगै उनीहरुले आगामी मंसिर २६ गतेभित्र कार्यलय समयमा काठमाडौंको रामशाहपथस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्ने हुन्छ । यो पदको लागि बीमा, व्यवस्थापन लगायत विभिन्न विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भएका कम्तीमा ५ वर्ष वा आर्थिक क्षेत्रमा भए ८ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभव सहित कम्तीमा ७ वर्षको अनुभव हुनुपर्ने छ । त्यस्तै, चार्टर्ड एकाउन्टेन्सी, वा व्यवस्थापन, बीमा, अर्थशास्त्र, वाणिज्य शास्त्र, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपात्रि हासिल गरी कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्पनीमा १२ वर्ष, बैंक वा वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १३ वर्षको अनुभव हुनुपर्ने छ । त्यसैगरी, आवेदकको उमेर दरखास्त दिने अन्तिम मितिमा ६५ वर्ष ननाघेका हुनुपर्ने छ ।
गुराँस लाइफकाे ५.७८ प्रतिशत लाभांश पारित
काठमाडाैं । गुराँस लाइफ इन्स्याेरेन्सकाे ५.७८ प्रतिशत लाभांश पारित भएकाे छ । मंसिर १० गते बसेकाे कम्पनीकाे ११ औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस सेयर र ०.२८ प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) नगद लाभांश पाउने छन् । बैंककाे ११औंं वार्षिक साधारणसभाले बोनस शेयर जारी पश्चात् वृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पुँजीलाई सोही अनुरुप वृद्धि गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेकाे छ । साथसाथै सभाले संचालक समितिका अध्यक्ष तथा संचालकहरुको बैठक भत्ता वृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकी कम्पनीको नियमावलीमा संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन एवं स्वीकृतिको लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सो बमोजिम आवश्यक संशोधन गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।