५ वटा जीवन बीमा कम्पनीको लाभांश घोषणा, सबैभन्दा बढी एशियन लाइफको
काठमाडौं । हालसम्म ५ वटा जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेका छन् । सञ्चालित १९ जीवन बीमा कम्पनीमध्ये ५ वटाले मात्रै अघिल्लो आवको लाभांश घोषणा गरेका हुन् । आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गर्नेमा एशियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ र प्राइम लाइफ इन्स्योरेन्स रहेका छन् । जसमध्ये प्राइम लाइफ इन्स्योरेन्सको लाभांश भने पारित भइसकेको छ । मंसिर १९ गते सम्पन्न प्राइम लाइफको वार्षिक साधारणसभाले १५.८७ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । इन्स्योरेन्सले सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । सूर्या लाइफ इन्स्योरेन्सले १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १२.७ प्रतिशत बोनस र ०.६६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । ज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सले पनि आर्थिक वर्ष २०७६/७७ को लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा सम्बन्धित कम्पनीको साधारणसभाले पारित गरेपछि मात्रै सम्बन्धित सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् । उता निर्जीवन बीमा कम्पनीमध्ये अधिकांशले आर्थिक वर्ष २०७६/७७ को लाभांश पारित पनि गरिसकेका छन् । तर हालसम्म आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गर्नेमा प्रिमियर इन्स्योरेन्स मात्रै रहेको छ भने बाँकीले हालसम्म उक्त वर्षको लाभांश घोषणा गरेका छैनन् । प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट भने सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
२०औं वार्षिकोत्सव मनाउँदै मेटलाइफ, ग्राहकलाई उत्कृष्ट सुरक्षा दिने प्रतिवद्धता
काठमाडौं । मेटलाइफ नेपालले स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । २०५८ साल मंसिरमा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेको मेटलाइफले यो साता स्थापनाको २० वर्ष मनाउन लागेको हो । सञ्चालनदेखि नै मेटलाइफले थुप्रै बीमा सेवा तथा सुविधाहरुको शुरुवात, प्रतिभा विकासमा टेवा, तथा देशभरि छरिएका धेरै मानिसहरुलाई लघुबीमा मार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बीमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ । ‘संसार परिवर्तनशील छ र निरन्तर परिवर्तन भइरहन्छ, यस परिवर्तनशील संसारमा एउटै स्थिर कुरा भनेको नेपालमा बसोबास गर्ने व्यक्ति, परिवार र समुदायलाई थप आत्मविश्वासी भविष्य निर्माण गर्न मद्दत गर्ने मेटलाइफको प्रतिवद्धता रहेको छ,’ मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बताए । साथै, उनले नपालमा मेटलाइफको २०औं सफल वर्षोत्सव मनाइरहँदा आफ्नो जीवनको हिस्सा बनाउने कम्पनीका ग्राहकहरु प्रति कृतज्ञता व्यक्त गरे भने कम्पनीलाई ग्राहकहरु प्रतिगुणस्तरीय सेवा तथा उत्कृष्ट अनुभव प्रदान गर्न प्रोत्साहन तथा सक्षम बनाउन सहयोग गर्ने बीमा क्षेत्रका नियामक संस्थाहरु, खटिएका कर्मचारी तथा एजेन्टहरु, तथा अन्य व्यापार साझेदारहरुलाई पनि धन्यवाद व्यक्त गरेका छन् । यसरी मेटलाइफले देशको जीवन बीमा क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्दै आफ्ना ग्राहकहरुमाझ अझ उत्कृष्ट सुरक्षा योजनाहरुका साथै प्रविधिमय अनुभवहरुको निरन्तर विकासमा अग्रसर रहिरहने उपाध्यक्ष तथा महाप्रबन्धक श्रेष्ठले बताए । विगत २० वर्षमा मेटलाइफ नेपालले २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको दाबी भुक्तानी, रोजगार तथा तालिमका अवसरहरु मार्फत ४० हजारभन्दा बढी पेशाको श्रृजना, २ हजार करोडको जीवन बीमा कोष तथा २ अर्ब ७४ करोडको जगेडा कोषको स्थापना गरि वित्तीय स्थायित्व कायम गरिसकेको छ । हाल मेटलाइफले नेपालमा १४ लाखभन्दा बढी ग्राहकहरुलाई जीवन बीमा सुरक्षण प्रदान गरिरहेको छ । मेटलाइफले व्यापारमा मात्र नभई आफ्ना ग्राहक, समुदाय र समाज कल्याणमा सकारात्मक प्रभाव पार्न सक्ने प्रयासहरु गर्दै आएको छ । मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।
प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा ७ जना निर्वाचित
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा ७ जना निर्वाचित भएका छन् । मंसिर १९ गते सम्पन्न इन्स्योरेन्सको १४औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक पदमा ७ जनालाई निर्वाचित गरेको हो । जसमध्ये संस्थापक सेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालक समितिको तर्फबाट एक जना रहेका छन् । संस्थापक सेयरधनीको तर्फबाट पियुष राज अर्याल, दिपेश अमात्य, डा. सन्तोष अग्रवाल र प्रमिला के.सि. थापा रहेका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट राजिव प्रसाद प्याकुरेल र सुरज श्रेष्ठले प्रतिनिधित्व गर्ने भएका छन् भने डा. रेशम थापाले स्वतन्त्र सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् । यससँगै यी नवनिर्वाचित सञ्चालकले आगामी ४ वर्षको कार्यकाल सम्हाल्ने छन् ।