शिखरले बीमाशुल्कसँगै नाफा पनि बढायो, बीमाकोषमा १ अर्ब ३६ करोड बढी

काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ करोड ५० लाख रुपैयाँ बराबरको खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को सो अवधिसम्म ४३ करोड ४० लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सले बीमाशुल्कसँगै खुद नाफामा पनि सुधार गरेको छ । गत आवको असोजसम्म १२ करोड २३ लाख रुपैयाँ बराबरको नाफा कमाएको कम्पनीले चालु आवको सो अवधिसम्ममा १३ करोड ३६ लाख रुपैयाँ बराबरको नाफा कमाउन सफल भएको छ । हाल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३०.४० रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२६.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.९१ गुणा रहेको छ । इन्स्योरेन्सको चुक्ता पुँजी पनि बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी बढाएको इन्स्योरेन्सले बीमा कोष पनि बलियो बनाउँदै गएको छ । यो अवधिमा इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २१.८२ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमाससम्ममा इन्स्योरेन्सको बीमा कोषको रकम १ अर्ब ११ करोड रुपैयाँ थियो । त्यस्तै, महाविपत्ति कोष पनि बढेर १३ करोड २३ लाख रुपैयाँ पुगेको छ । इन्स्योरेन्सले हालसम्म ३ हजार ६१४ वटा दाबीबाट ४७ करोड २७ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ । त्यस्तै, १३ हजार ३८७ वटा दाबीको २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ ।

सिटिजन लाइफ जीवन बीमाकोष ४ अर्ब नाघ्यो, बीमाशुल्क आर्जनमा पनि शत प्रतिशत वृद्धि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आक्रामक रुपमा बजार विस्तार गरेको छ । कम्पनीले सार्वजनिक गरेको आ.व. २०७८/०७९ को पहिलो त्रैमासिकको वित्तीय विवरणमा धेरै सूचकाङ्कको वृद्धि उच्च दरको रहेको छ । कम्पनीको जीवन बीमाकोष १११ प्रतिशतले वृद्धि भएर रु.४ अर्ब २४ करोड ५५ लाख पुगेको छ । गत आ. व. को सोही अवधिमा कम्पनीको जीवन बीमाकोष रु. २ अर्ब ८२ लाख रहेको थियो । त्यस्तै, बीमा शुल्क पनि १०० प्रतिशत वृद्धि भएको छ । असोज मसान्तसम्ममा कम्पनीले रु. १ अर्व २४ करोड ३२ लाख कुल बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले रु. ६२ करोड ८ लाख संकलन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ५९ करोड १० लाखबाट करिव ४४ प्रतिशतले बढाएर ८५ करोड ३ लाख रुपैयाँ बनाएको छ । कम्पनीले लगानी, बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा करिव ५१ प्रतिशतले वृद्धि गरी रु. १६ करोड ५१ लाख पुर्याएको छ । जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम रु ६ अर्व ८९ करोड मध्ये करिब ७२ रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गरेको छ ।

कफी खेती बीमालेख जारी, प्रिमियम बीमाङ्कको पाँच प्रतिशत तिर्नुपर्ने

काठमाडौं । बीमा समितिले कफी खेती बीमालेख जारी गरेको छ । समितिले कार्त्तिक २९ गते कफी खेतीमा हुने क्षतिविरुद्ध बीमा गर्नका लागि उत्पादनमा आधारित उक्त बीमालेख जारी गरेको हो । कफी खेती बीमाले अग्नीजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, भूमिजन्य क्षति, चट्याङ्जन्य क्षति, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोग वा कीराजन्य कारणले हुने क्षतिको रक्षावरण गर्दछ । कफी खेती बीमालेख जारी गर्दा बीमालेख जारी भएको समय (घण्टा र मिनेट सहित) तथा जोखिम प्रारम्भ हुने मिति उल्लेख गर्नुपर्ने र बीमालेखमा उल्लेख भएका सम्पूर्ण शर्तहरु बीमितले पालना गर्नुपर्ने प्रावधान रहेको छ । यस बीमालेख अन्तर्गत कफीको उत्पादन (चेरी) वा बोट वा दुबैको बीमा गर्न सकिने र यस बीमालेख अनुसार जारी कफी खेतीको बीमाशुल्क बीमाङ्क रकमको पाँच प्रतिशतका दरले लाग्ने व्यवस्था गरिएको छ । यसैगरी, सामूहिकरुपमा वा साझेदारीमा गरिएको कफी खेतीको बीमाका हकमा बीमालेखमा आवद्ध प्रत्येक व्यक्तिको छुट्टा छुट्टै दुर्घटना बीमा गरेको हुनुपर्ने र यस्तो बीमालेख जारी भइसकेपछि बीमाङ्क रकम परिवर्तन गर्न नपाइने प्रावधान रहेको छ । बीमितले बीमाशुल्क वापत भुक्तानी गरेको रकम बीमकको बैङ्क खातामा प्राप्त नभएसम्म बीमकले बीमालेख जारी गर्न नपाउने तर अनुदानमा प्राप्त हुने बीमालेखको हकमा भने अनुदानबाट प्राप्त हुने रकम कट्टा गरी बाँकी रकम बीमकको बैङ्क खातामा जम्मा गरेपछि बीमालेख जारी गर्न पाउने व्यवस्था रहेको छ ।