तीन जीवन बीमा कम्पनीको लाभांशः सबैले बढाए, यस्तो छ इतिहास
काठमाडौं । हालसम्ममा विभिन्न तीन वटा जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत १२ वटा जीवन बीमा कम्पनीमध्ये ३ वटाले कार्त्तिक १४ गतेसम्ममा लाभांश घोषणा गरिसकेका हुन् । जसमा रिलायन्स लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेका हुन् । घोषित लाभांशमध्ये सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको रहेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७को नाफाबाट कूल १५.७८९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत बोनस र बाँकी नगद लाभांश रहेको छ । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सले पनि सेयरधनीलाई १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७८ को नाफाबाट १२.७ प्रतिशत बोनस र ०.६६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । त्यसैगरी, रिलायन्स लाइफले ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको लाभांश प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा सम्बन्धित संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । त्यसपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । सूर्या लाइफको लाभांश ५ वर्षयताकै उच्च सूर्या लाइफको प्रस्तावित १३.३६८४ प्रतिशत लाभांश ५ वर्ष यताकै उच्च हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६मा १०.५२६ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १२, आर्थिक वर्ष २०७३/७४ मा १२.६३ प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा १० प्रतिशत र आर्थिक वर्ष २०७१/७२ मा ५ प्रतिशत लाभांश वितरण गरेको थियो । प्राइम लाइफको पनि ३ वर्ष यताकै उच्च लाभांश प्राइम लाइफले प्रस्ताव गरेको १५.८७ प्रतिशत लाभांश पछिल्लो ३ वर्षयताकै उच्च हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १२.५ प्रतिशत र आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १३.१२ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले त्यसभन्दा अघि अर्थात आर्थिक वर्ष २०७२/७३ को नाफाबाट भने सेयरधनीलाई २६.१७ प्रतिशत लाभांश वितरण गरेको थियो । रिलायन्स लाइफका सेयरधनीलाई पहिलो लाभांश रिलायन्स लाइफ इन्स्योरेन्सले पहिलो पटक सेयरधनीलाई वितरण गर्न लागेको हो । गत आर्थिक वर्ष २०७७/७८ मा आईपीओ जारी गरी दोश्रो बजारमा प्रवेश गरेको कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २०७७ भदौ २३ गतेदेखि दोश्रो बजारको यात्रा शुरु गरेको हो । दोश्रो बजारमा कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता ३२२ रुपैयाँमा भएकाे थियाे । आजको दिन (२०७८ कार्त्तिक १४ गते) कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५६० रुपैयाँमा भएको छ । सूचीकृत छैनन् ६ वटा कम्पनी नेपालमा कूल १९ वटा जीवन बीमा कम्पनीहरुले जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । त्यसमध्ये १२ वटा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएका छन् भने बाँकी ७ वटा सूचीकृत हुन बाँकी छन् । ७ वटामध्ये राष्ट्रिय बीमा संस्थान पूर्ण सरकारको स्वामित्व रहेको कम्पनी हो । बाँकी रहेका ६ वटा कम्पनी अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ), सिटिजन्स लाइफ, आईएमई लाइफ, महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स भने नेप्सेमा सूचीकृत भएका छैनन् ।
ज्योति लाइफ इन्स्योरेन्सले साढे १० प्रतिशत लाभांश दिने
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कार्त्तिक १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै लागू हुने छ ।
महालक्ष्मी लिडर्स समिट-२०७८ सम्पन्न
काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे ‘महालक्ष्मी लिडर्स समिट-२०७८’ सम्पन्न भएकाे छ । कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरिबाट व्यवसायिक लक्ष्य पुरा गरेका बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो । समिटमा जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले आम जनतामा बीमाको पहुँच कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । विकसित मुलुकमा शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको जिम्मेवारी सरकारले लिएको हुन्छ । नेपाल जस्तो स्रोत साधन कम भएको देशमा बीमा क्षेत्रले त्यो दायित्व निर्वाह गरिरहेकोले अभिकर्ता पेशामा नेतृत्व कसरी विकास गर्ने, बीमालाई व्यवसायिक रुपमा संचालन गर्न कम्पनी र अभिकर्ताले गर्नु पर्ने कामहरुको विषयमा सहभागिहरुलाई तालिम दिइएको थियो । निम्न वर्गमा बीमाको पहुँच बृद्धि गर्न तथा युवा वर्गमा बीमा सम्बन्धि जनचेतना बृद्धिको लागि ‘युवा सँग-महालक्ष्मी लाईफ’ कार्यक्रमलाई अझै प्रभावकारी रुपमा गाउँ गाउँ सम्म पुर्याउने निर्णय समेत गरेको छ । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले तथा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । प्रबन्धक सिताराम धिमालले संचालन गरेकाे कार्यक्रमको पहिलो सत्रमा मोटिभेटर राजाबावु साह र दोस्रो सत्रमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले अभिकर्ता पेशामा नेतृत्व विकास सम्बन्धमा तालिम प्रदान गरेका थिए ।