प्राइम लाइफ इन्स्योरेन्सले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आगामी मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सले आगामी वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । इन्स्योरेन्सको चौधौं वार्षिक साधारणसभा आगामी मंसिर १९ गते हुँदै छ । सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र एक करोड ९० लाख रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । यससँगै मंसिर ८ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।
गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५.५००४ प्रतिशत बोनस सेयर पश्चात मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१८.०१ रुपैयाँ कायम भएको छ । जुन पछिल्लो कारोबारमा प्रतिकित्ता ६५२ रुपैयाँ रहेको थियो । यससँगै आज मंगलबारको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ६१८.०१ रुपैयाँदेखि नै शुरु हुने छ ।
बिमासम्बन्धी ठगीमा सम्लग्न देखिए कारबाही गर्छौँः समिति
काठमाडौं । बिमा व्यवसायमा जालसाजीपूर्ण कागजातका अधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बिमा समितिले निर्देशन दिएको छ । उक्त नियामक निकायले एक सूचना जारी गर्दै कीर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बिमासम्बन्धी कसुर हुने गरेको गुनासा आउन थालेकाले सतर्क रहनसमेत सम्बन्धित पक्षलाई जानकारी गराएको हो । समितिमा बिमा व्यवसायसँग सम्बद्ध विभिन्न व्यक्ति, समूह तथा संस्थामार्फत बिमाका नाममा विभिन्न कीर्ते र जालसाजीपूर्ण कागजात पेश गरी ठगी गर्ने गरेको, कीर्ते कागजात एवं विवरणका आधारमा बिमालेख तयार गर्ने गरेको र हुँदै नभएका घटनाका कीर्ते कागजात पेश गरी दाबी भुक्तानीको प्रयास गरेको गुनासा आउन थालेकाले यस्ता क्रियाकलाप नगर्न निर्देशन दिइएको बताइएको छ । यस्ता कानुनविपरीतका क्रियाकलापबाट बिमा व्यवसायमा नकारात्मक असर पर्ने र बिमीत तथा लाभग्राहीसमेत पीडित भई बिमाप्रति जनविश्वास घट्नाका साथै यसको साखमा समेत ह्रास आउने भएकाले यस्ता गलत क्रियाकलापमा सम्लग्न नहुन र सम्लग्न भएको देखिए कानुनबमोजिम कडा कारबाही गरिने समितिले जारी गरेको सूचनामा उल्लेख छ ।