नेपाल लाइफले दुई महिनामै कमायो साढे ७ अर्ब प्रिमियम, अरूले कति ? (सूचीसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले दुई महिनामै २८ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । उनीहरुले आर्थिक वर्ष २०७८/७९ को भदौ मसान्तसम्ममा कूल २८ अर्ब १५ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका हुन् । हाल सञ्चालित १९ वटा जीवन बीमा कम्पनीले गत साउन र भदौमा कूल ८७ लाख ९६ हजार ८८ वटा बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क उठाएका हुन् । कूल बीमालेखमध्ये ८२ लाख ८ हजार ५२५ वटा जीवन बीमालेख र ५ लाख ८७ हजार ५६३ वटा बैदेशिक रोजगार बीमालेख बिक्री भएका छन् । समिक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी प्रिमियम संकलन गरेको छ । कम्पनीले दुई महिनामा ११ लाख ६ हजार ३६४ वटा बीमालेख बिक्री गरी ७ अर्ब ६२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको हो । त्यस्तै, अन्य ५ वटा कम्पनीले एक अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ३४ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३ अर्ब ३६ करोड, नेशनल लाइफले २ अर्ब ४१ करोड, यूनियन लाइफले एक अर्ब ३५ करोड र एशियन लाइफले एक अर्ब ५ करोड रुपैयाँ बराबरको प्रिमियम आर्जन गर्न सफल भएका छन् । कसको कति ? बाँकी रहेका अन्य जीवन बीमा कम्पनीले भने अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये महालक्ष्मी लाइफले सबैभन्दा कम प्रिमियम संकलन गरेको छ । इन्स्योरेन्सले साउन र भदौ दुई महिनामा २८ हजार ८८१ वटा बीमालेख बिक्री गरी कूल २० करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । बीमालेखको आधारमा भने रिलायबल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी संख्यामा बीमालेख बिक्री गरेको छ । कम्पनीले चालु आवको दुई महिनामै सो मात्राको बीमालेखबाट कूल ६६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी कूल ३९ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । उनीहरुको कूल २ हजार १३५ वटा कार्यालय रहेका छन् । जहाँ ५ हजार ८९१ जना कर्मचारीहरु कार्यरत रहेका समितिले जनाएको छ । सम्बन्धित थप समाचार बीमा क्षेत्रले दुई महिनामै उठायो साढे ३४ अर्ब प्रिमियम, सबैभन्दा बढी जीवन बीमाको

बीमा क्षेत्रले दुई महिनामै उठायो साढे ३४ अर्ब प्रिमियम, सबैभन्दा बढी जीवन बीमाको

काठमाडौं । नेपालको बीमा क्षेत्रले दुई महिनामै साढे ३४ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेको छ । बीमा समितिका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीले गत साउन र भदौ मसान्तसम्ममा ३४ अर्ब ५३ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरिरसकेका छन् । जुन गत वर्षको भन्दा ३४.२२ प्रतिशत बढी हो । समितिको तथ्याङ्क अनुसार निर्जीवनभन्दा जीवन बीमा कम्पनीले बढी प्रिमियम उठाएका छन् । समीक्षा अवधिमा जीवन बीमा व्यवसायबाट २८ अर्ब १३ करोड रुपैयाँ र निर्जीवन बीमा व्यवसायबाट ६ अर्ब ३९ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन भएको छ । जुन गत वर्षको तुलनामा क्रमशः ३४.२४ र ३४.१३ प्रतिशतले बढी हो । २०७७ भदौमा जीवन बीमा कम्पनीले २० अर्ब ९६ करोड र निर्जीवन बीमा कम्पनीले ४ अर्ब ७७ करोड रूपैयाँ मात्रै बीमाशुल्क उठाएका थिए । त्यस्तै, भदौ महिनासम्ममा जीवन बीमा कम्पनीले ८७ लाख ९६ हजार ८८ वटा र निर्जीवन बीमा कम्पनीले ४ लाख ७३ हजार २३४ वटा बीमालेख जारी गरेका छन् । जुन २०७७ भदौको तुलनामा क्रमशः १०.८४ र ७.६६ प्रतिशतले बढी हो । समीक्षा अवधिसम्ममा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ३९ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको भदौको तुलनामा १७.९६ प्रतिशतले बढी हो । त्यस्तै, निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १५.९९ प्रतिशतले बढेर १९ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

महालक्ष्मी लाईफले रौतहट र बारामा गठन गर्यो राष्ट्रिय बीमा जागरण जिल्ला कमिटी

काठमाडौं । महालक्ष्मी लाईफको पूर्व घोषणा बमोजिम रौतहट र बारा जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटी गठन गरेको छ । रौतहट जिल्लामा राजेश कुमार शाहको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन भएको हो । असोज ९ गते रौतहटको दुर्गा भगवती गाउपालिका सामूदायिक भवनमा एक कार्यक्रम विच राष्ट्रिय बीमा जागरण जिल्ला कमिटिको गठन गरिएको हो । उक्त कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो । शंभु सिहंको अध्यक्षतामा संचालन भएको कार्यक्रममा महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिएका छन् । बीमा जागरण राष्ट्रिय अभियानका केन्द्रिय सदस्य रिषिकान्त गुप्ता, रामाशंकर प्रसाद यादव र गाउँपालिका वडा नं. ३ का अध्यक्ष डि के झाले बीमा जागरणको महत्व बारेमा प्रकाश पारेका थिए । त्यसैगरी बारा जिल्लाको निजगढमा एजेन्सी म्यानेजर विनोद खरेलको संयोजकत्वमा २१ सदस्यिय बारा जिल्ला राष्ट्रिय बीमा जागरण कमिटि गठन गरिएको छ । उक्त नवगठित कमिटिको अग्रसरतामा गौरीशंकर क्याम्पस, निजगढमा आज बीमा जनजागरण तथा सचेतना कार्यक्रम सञ्चालन भएको हो । ४५ जनाको सहभागिता रहेको कार्यक्रममा क्याम्पस प्रध्यानअध्यापक रामप्रसाद गौतमले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा कम्पनीका मार्केटिङ प्रमुख प्रशान्तराज धमला र एजेन्सी विभाग प्रमुख सिताराम धिमालले बीमाको महत्व र आवश्यकताको बारेमा प्रकाश पारेका थिए ।