सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा मोटिभेशन कार्यक्रम सम्पन्न
काठमाडाैं । सन नेपाल लाइफले विभिन्न ४ छुट्टा छुट्टै स्थानमा अभिकर्ता तालिम र मोटिभेशन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले म्याग्दी, बागलुङ्ग, बुर्तिबाङ्ग र पोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले समुद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै महाप्रबन्धक गौतमले कम्पनीको स्थापनाकालदेखि नै सचेतना कार्यक्रम, बीमा अभिकर्ता तालिम र बीमा जागरण सम्बन्धी विभिन्न कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने बताए । देशैभर शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
‘नन् ट्यारिफ बीमाको न्यूनतम दर रेट’ निर्देशिकामा इप्पानको आपत्ति, खारेज गर्न माग
काठमाडौं । बीमा समितिले हालै ‘नन् ट्यारिफ बीमाको न्यूनतम दर रेट’ निर्धारण गरी जारी गरेको निर्देशिकामा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आपत्ति जनाएको छ । समितिले निर्जीवन बीमा कम्पनीहरुलाई जारी गरेको उक्त निर्देशन आफुलाई थाहा नहुने गरी गुपचुपले गरिएको भन्दै इप्पानले आपत्ति जनाएको हो । जलविद्युतमा १०औं खर्ब लगानी रहेका सरोकारवालाहरुको साझा संस्था इप्पानलाई थाहा नहुने गरी निर्जीवन बीमा कम्पनीको प्रभावमा परि निर्देशन जारी गरेको र यसको पछाडि दुषित मनसाय रहेको इप्पानको ठहर छ । यससँगै, इप्पानले उक्त निर्देशनमा छानविन गरी दोषीलाई आवश्यक कारवाही गर्न र छिटोभन्दा छिटो खारेज गर्न अर्थमन्त्रीलाई आग्रह गरेको छ । इप्पानले असोज १५ गते एक विज्ञप्ति जारी गर्दै अर्थमन्त्री जर्नादर्न शर्मासँग उक्त माग राखेको हो । ‘हामीले विगत २७ वर्षदेखि बीमाशुल्क निरन्तर बुझाई रहेको भएतापनि क्षतिको दाबी पर्दा बीमा कम्पनीहरुबाट क्षतिको तुलनामा एकदम कम क्षतिपूर्ति पाउँदै आएका छौं । यो अवस्थामा बीमा समितिले पुरा क्षतिपूर्ति दिलाउन पहल गरि यो क्षेत्रलाई सहयोग गर्नुपर्ने समयमा मौसमविज्ञहरुको अध्ययन अनुसार सय वर्षको अन्तरालमा आउने बाढीले २०७८ आषाढ १ गते बागमती प्रदेश र गण्डकी प्रदेशका केही नदी बेशिन कोरिडोरहरुमा क्षति पुर्याएको दुहाई दिंदै बढि क्षतिपूर्ति दिनुपर्यो भन्ने बहानामा जारी मिति २०७८/०६/०६ गते बीमा समितिद्वारा निर्जिवन बीमा कम्पनीहरुलाई जारी गरिएको ‘मिनिमम प्रिमियम रेट फर नन् ट्यारिफ इन्स्योरेन्स बिजनेस’ निर्देशन घोर आपक्तिजनक र निन्दनीय छ ।’ इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न
काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले युवाहरुबीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न भएकाे छ। सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगरमा संचालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटिका संयोजक खडक नारायण उडाउले संचालन गरेकाे कार्यक्रममा जागरण अभियानका केन्द्रिय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्व बारेमा जानकारी दिएका थिए । कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रिय प्रमुख हिरा निरौलाले सहभागि युवाहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रम पछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटि समेत गठन गरेका थिए । त्यसैगरी आजै धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीमा पनि युवासँग महालक्ष्मी लाईफू बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले बीमा जागरणको महत्व जानकारी दिएका थिए । कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले प्रशिक्षण दिए । कार्यक्रमको संचालन नायव अधिकृत नरेश बहादुर सिंहले गरेका थिए ।