सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन(आईपीओ)मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । साउन २० गतेदेखिनै निष्काशन गरेको उक्त सेयरमा पहिलो दिनमै २.२२ गुणाले ओभर सब्सक्राइब भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज अपरान्ह ५ बजेसम्म ७ लाख २८ हजार ८ सय ४० जनाले १ अर्ब २० करोड १८ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड २० लाख १८ हजार २ सय ६० कित्ता सेयरको लागि आवेदन दिईसकेका छन् । यो आइपिओमा निष्काशनको पहिलो दिन ५ बजेसम्मको तथ्यांकमा सेयर आवेदन गर्ने आवेदकको संख्या हालसम्मकै सबैभन्दा बढि रहेको छ । इन्स्योरेन्सले २० गतेबाट कूल ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको छ । इन्स्योरेन्सको आइपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसमा आवेदन दिने अन्तिम समय छिटोमा साउन २४ गते आइतबारसम्म रहेको छ । सम्बन्धित समाचार आईपीओ ल्याउन लागेको सानिमा लाइफले सेयर बजारमा मात्रै २१ करोड लगानी गर्ने
प्रिमियममा आईपीओ जारी गर्न रिलायबल लाइफले तोक्यो मूल्य, बीमा क्षेत्रमै पहिलो
काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको रिलायबल लाईफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डसँग स्वीकृति माग्दै उक्त प्रकृया अघि बढाएको हो । इन्स्योरेन्सले कूल ६० लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप ११२ रुपैयाँ प्रिमियममा आईपीओ जारी गर्न बोर्डसँगै स्वीकृति मागेको हो । यससँगै बोर्डले स्वीकृति दिएमा कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँमा (प्रमियम मूल्य सहित) १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । र, नेपाली बीमा बजारमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने नै कम्पनी पहिलो हुने छ । उक्त आईपीओ जारी गर्न कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
ज्योति लाईफले ३ दिन बीमा अभिकर्ता तालिम दिँदै, कम्तीमा एसईई पास हुनुपर्ने
काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्सले अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक व्यक्तिहरुका लागि जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्ने भएको छ । कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक न्युनतम एस.एल.सी. वा एस.ई.ई अथवा सो भन्दा माथिको शैक्षिक योग्यता भएका व्यक्तिहरुको लागि देशभरका शाखा तथा उपशाखामा तीन दिने जीवन बीमा अभिकर्ता तालिम संचालन गर्न लागिएको जनाएको छ । तालिमको बारेमा सम्पुर्ण जानकारी कम्पनीको वेबसाइटमा राखिएको जनाएको छ । अथवा ईच्छुक व्यक्तिहरुलाई कम्पनीको विभिन्न शाखा तथा उप शाखा कार्यालयमा सम्पर्क गर्न इन्स्योरेन्सले आग्रह गरेको छ ।