यूनियन लाइफ इन्स्योरेन्सको पनि भोलिदेखि सेयर कारोबार हुने
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर साउन १७ गते आइतबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर सोमबार (साउन १८ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘यूएलआई’ दिइएको छ । नेप्सेले इन्स्योरेन्सको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ११५.१३ रुपैयाँ र अधिकतम ३४५.३९ रुपैयाँ तोकेको छ । यससँगै भोलिको कारोबारमा संस्थाको सेयर उक्त रेञ्जभित्र रहेर कारोबार हुने छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गर्दैछौंः सिईओ अर्याल
२०७४ सालमा बीमा समितिबाट जीवन बीमा व्यवसाय गर्ने लाइसेन्स पाएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अझै पनि सर्वसाधारणको लागि सेयर (आईपीओ) जारी गरेको छैन । कम्पनीले आईपीओ जारी नगरेको कारण २ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्नेमा अझै पनि १ अर्ब ४० करोड रुपैयाँ मात्रै चुक्ता पुँजी छ । कम्पनीले अहिले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले ६० लाख कित्ता सेयर प्रिमियम मूल्यमा विक्री गर्न लागेपनि सबै प्रक्रिया पूरा नभएको कारण प्रिमियम मूल्यमा आउने नआउने यकिन छैन । कम्पनीले साउन २५ गते आफ्नो तेस्रो वार्षिक साधारणसभा बोलाइसकेको छ । कम्पनीको जीवन बीमा कोषमा करिब २ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । सल्भेन्सी मार्जिन १.५ भए पुग्नेमा १.८२ छ । जगेडा कोषमा ३३ करोड रुपैयाँ पुगेको छ भने कम्पनीले गत असार मसान्तसम्ममा २ अर्ब १६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । अहिलेसम्म २३ शाखा र १४५ उपशाखा गरी कम्पनी नेपालभर आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । कम्पनीले बिमितलाई मनीव्याक पोलिसीमा प्रतिहजार रुपैयाँमा २२ देखि ३२ र आवधिक जीवन बीमा पोलिसीमा ३० देखि ७५ रुपैयाँसम्म बोनस दिने गरेको छ । व्यवसाय विस्तारसँगै ‘सस्टेनेवल विजनेस’को मान्यतामा रहेको सन नेपाल लाइफले किन प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लाग्यो, कम्पनीको कम्पनीको अहिलेको अवस्था कस्तो छ र अवका दिनमा कसरी अघि बढ्ने रणनीति बनाइरहेको छ भन्ने लगायतका विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालसँग गरिएको कुराकानीः हामीले लामो समयसम्म कोरोना भाइरसको त्रास भोग्यौं, अहिले विस्तारै रिभाइव हुने प्रयत्न गरिरहेका छौं । कोरोनाकालमा अनुभव र सिकाई कस्तो रह्यो ? विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो सम्पूर्ण क्षेत्र र समग्र अर्थतन्त्रलाई असर गरेको छ । कोरोनाले कसैलाई पूर्ण रुपमा क्षति पुर्याएको छ भने कसैलाई केही कम क्षति पुर्याएको छ । समग्रमा भने सबैलाई नोक्सान नै भएको छ । बीमा कम्पनीहरु पर्फर्मेन्समा पनि केही हिट गरेको छ । गत आवको तुलनामा केही सुधार भएको होला तर समस्या भने अझै पनि छ । कोरोनाकै कारण प्रिमियम घटेको देखिन्छ । खर्च बढेको देखिन्छ । व्याजदर घटेको छ । यी सबै सूचकहरु हेर्दा बीमा कम्पनीहरुको वित्तीय अवस्था के कस्तो हुन्छ, त्यो भने हेर्न नै बाँकी छ । अर्को, प्रविधि प्रयोगको विषय पनि महत्वपूर्ण हो । बीमा क्षेत्रलाई के कसरी प्रविधिमैत्री बनाउन सकिन्छ । कोरोना महामारीमा पनि सामाजिक दूरी कायम गरेर व्यवसायिक प्रवद्ध्र्रन कसरी गर्न सकिन्छ भन्ने तर्फ हामीले सोच्नु पर्छ । जबसम्म इन्टरनेटमार्फत नै सर्भिस दिन सक्ने मेकानिजम बनाउन सक्दैनौं, तबसम्म व्यवसायिक ग्रोअप गर्न सकिँदैन भन्ने सन्देश यो महामारीले दिएको छ । यसमा नियामक निकायले पनि डिजिटाइज गर्न निर्देशन दिइसकेको छ । आशा गरौं, विस्तारै यसको प्रयोग बढ्ला । डिजिटल सर्भिस तथा अनलाइन प्लेटफर्महरुको प्रयोगबिना हामी अगाडि बढ्न सक्दैनौं भन्ने मेरो बुझाई छ । सन नेपाल लाइफ इन्स्योरेन्ससँगै लाइसेन्स पाएका अन्य कम्पनीले आईपीओ जारी गरिसके, तपाईंहरुले किन ढिला गर्नुभएको ? कम्पनी स्थापना हुँदा नियमनकारी सर्त भनेको संस्थापक सेयर ७० प्रतिशत र सर्वसाधारण सेयर ३० प्रतिशत गरी २ अर्ब रुपैयाँ पूँजी पुर्याउने भन्ने हो । तर, कहिले आईपीओ ल्याउने भन्ने कुनै निश्चित अवधि नतोकिएको, नियमनकारी मापदण्डहरु पनि परिवर्तन भएको लगायतका कारणहरुले ढिलो भएको हो । अब ल्याउँछौं । अब कहिले आउँछ ? तयारी अन्तिम अवस्थामा पुगिसकेको छ । चाुल आर्थिक वर्षभित्र पक्कै आउँछ । प्रिमियममा आईपीओ ल्याउन लाग्नु भएको हो ? पछिल्लो समय धितोपत्र सम्बन्धि संरचनाहरु परिवर्तन भएको छ । योग्यता पुगेका कम्पनीहरुले मात्रै प्रिमियममा आईपीओ जारी गर्न पाउँछन् । आजको दिनमा हामीले ती योग्यताहरु पूरा गरेका छौं । सबै मापदण्डहरु पालना गर्न सकियो भने प्रिमियममा पनि आईपीओ आउन सक्छ । तर, यो नियमनकारी संयन्त्रसँग जोडिएको विषय पनि हो । सबै विषयहरु मिल्यो भने मात्रै प्रिमियममा पनि जान सकिन्छ भन्ने मान्यतामा कोसिस गरिरहेका छौं । अहिलेसम्मका बीमा कम्पनीहरुले बुक भ्यालुमै आईपीओ ल्याए तर, सन नेपालले फरक ढंगले सोच्नुको कारण के हो ? प्रिमियम मूल्यमा आईपीओ जारी गर्न पाइने पहिलो कुरा हो । धितोपत्र निस्कासन सम्बन्धी व्यवस्था अद्यावधिक भएको कारणले यो परिस्थिति सिर्जना भएको छ । यो व्यवस्था तथा यो अवधारणा हाम्रो बजारमा हालसालै मात्रै आएको हो । यसमा केही सर्तहरु पनि छन् । विद्यमान व्यवस्थाले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिने भएकोले हामीले पनि त्यसको प्रयास गरेका हौं । कम्पनीको समग्र पफर्मेन्स कस्तो छ ? सन्तोषजनक नै छ । हामीले कम्पनी स्थापना गर्ने समयमा जुन लक्ष्य लिएका थियौं, त्यसलाई अनुसरण गर्दै अगाडि बढिरहेका छौं । कम्पनीका सम्पूर्ण परिसूचकहरु सकारात्मक नै छन् । हाम्रो पहिलो प्राथमिकता जनशक्तिको सीप अभिवृद्धि गर्ने र त्यसको व्यवस्थापन नै हो । त्यसमा हामी लागिरहेका नै छौं । हामी जसरी अगाडि बढ्न खोजेका थियौं, त्यसका लागि सम्पूर्ण रुपले तयार छौं । हाम्रो भोलिको दिशा के हुन्छ ? कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा हामी सचेत छौं । सम्पूर्ण कर्मचारी पनि सोही किसिमले काम गरिरहेका छन् । आजसम्म व्यवसायिक रुपमा पनि हामी अव्बल नै छौं । जीवन बीमामा पहिलो प्रिमियमको नेक्सस अन्तिम किस्तासँग जोडिएको हुन्छ । त्यो अन्तिम अवस्थासम्म पुग्न सकिएन भने आज गरिएको बिजनेस भोलि कोल्याप्स हुन्छ । आज हामीले अनराइट गरेको व्यवसाय भोलि कुनै किसिमले निरन्तर हुन सकेन भने कम्पनीको जीवनमा अझ खराब अवस्था सिर्जना हुन सक्छ । त्यसले कम्पनीको नेटवर्थमा नकारात्मक असर पर्छ । यस्तो अवस्था आउन नदिनको लागि हामी अहिले नै सचेत भएर काम गरिरहेका छौं । व्यवसाय विस्तार र प्रवद्र्धनको आधारमा हामी कुन स्थितिमा छौं भन्ने विषय त बजारले हेरेको छ । बजारमा कुल प्रिमियमलाई हेर्ने हो भने सन नेपालको हिस्सा त कम छ नि है ? प्रिमियमको विषयमा बजारमा धेरै प्रश्नहरु उठेका छन् । यी प्रश्नहरु आफै उत्तरित छन् । यो विषयमा म धेरै प्रवेश गर्न चाहन्नँ । हाम्रो फोकस भनेको दीर्घकालीन व्यवसाय हो । जीबन बीमा भनेको आज गरेर भोलि त्यसको नतिजा देखिने होइन । यो व्यक्तिले आफ्नो जीवनकाल भरिका लागि गर्ने लगानी हो । यसको निरन्तरता हुन सकेन भने त्यो कहिँ न कहिँ त्रुटिपूर्ण हुन्छ । भोलिका दिनमा त्यसका दीगोपना माथि नै प्रश्न उठ्छ । हामीले यो विषयलाई मनन् गरेर अगाडि बढ्नु पर्छ र सोही किसिमले व्यवसाय गर्नुपर्छ । हाम्रो फोकस पहिलो प्रिमियम भन्दा पनि रिन्युएबल प्रिमियम ग्यारेन्टी होस् भन्ने हो । व्यवसायले निरन्तरता पाओस् भन्ने हाम्रो मुख्य प्राथमिकता हो । सन नेपाल इन्स्योरेन्स कम्पनीको शाखा सञ्जाल र जनशक्तिको अवस्था कस्तो छ ? शाखा सञ्जाल विस्तारमा हामी नेपालभर नै छौं । सबै जिल्लाहरुमा हाम्रो उपस्थिति छ । बीमाको प्रकृति नै बजारिकरणमै बढी फोकस गर्ने हो । बजारिकरणको ओरेन्टेसनका लागि हामीले उपशाखा भनेर पनि राखेका छौं । ती उपशाखाहरु र शाखाहरु करिब डेढ सय वटा छन् । शाखाहरु २३ वटा मात्रै छन् । हामीले बनाएको संरचना कस्तो हो भन्ने विषयले पनि महत्व राख्छ । देशभर ३ सयको हाराहारीमा हामीसँग कर्मचारीहरु हुनुहुन्छ । अहिले बिजनेस विस्तार गर्नको लागि सन नेपालको फोकस केमा हो ? हाम्रो फोकस भनेको ‘ट्राडिस्नल पोलिसी’मै हो । एजेन्सी बिल्डअप गर्ने, ओरेन्टेसन गर्ने नै हाम्रो अहिलेको मुख्य प्राथमिकता हो । नयाँ कम्पनी बजारमा आइसकेपछि त्यसको संरचना निर्माण नै मुख्य विषय हुन्छ । त्यसका लागि धेरै समय दिनु पर्ने हुन्छ । धेरै विषयहरु सिकाउनु पर्ने हुन्छ । कम्पनी कसरी अगाडि बढ्न सकछ ? कसरी बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ ? भन्ने विषयले नै पहिलो प्राथमिकता पाउँछ । यो आर्थिक वर्षदेखि हामीले माइक्रो इन्स्योरेन्समा फोकस गर्ने योजना बनाएका छौं । हामी सुरुमा त्यसको विस्तारलाई ध्यान दिन्छौं । अब त्यसलाई कसरी व्यवस्थित किसिमले अगाडि बढाउन सकिन्छ भन्ने कुरामै हाम्रो ध्यान जान्छ । बीमा कम्पनीको एजेन्टको कर्जा र अहिले पोलिसी सरेन्डरको विषयले निकै चर्चा पाएको छ ? नयाँ कम्पनीलाई यसको प्रभाव कतिको छ ? पहिला, एजेन्टको कर्जाको विषयमा कुरा गरौं । कम्पनीहरुले व्यवसाय प्रवद्र्धन गर्नका लागि वा अभिकर्ताको क्षमता अभिबृद्धि गर्नको लागि कर्जा दिएको होला । व्यवसाय प्रबद्र्धन गर्न दिइएको सापटी वा कर्जा व्यवसाय सम्बद्ध असुली प्रक्रियामा आधारित हुन्छ । अन्य कर्जाको विषयमा छलफल गर्न उपयुक्त छैन होला । अर्को सरेन्डरको विषय, व्यक्तिले आफ्नो जीवनकालका लागि जीवन बीमा गर्छ । व्यक्तिले २/३ वर्षपछि सरेन्डर गर्छु भनेर बीमा गर्दैन । केही गरेर कुनै गम्भीर समस्या आयो भने प्रिमियम तिर्न नसक्ने अवस्था आउन सक्छ । अथवा विदेश नै जानुपर्ने अवस्था आउन सक्छ । त्यसका लागि मात्रै यो एक प्रकारको छुट हो । जुन सबैका लागि लागू हुने विषय भएन । तर, यसैलाई आधार बनाएर बीमा गर्नुहोस् भनेर कन्भिन्स गरेमा केही वर्षपछि सरेन्डर हुने समस्या देखापर्छ । तपाईंले यो पोलिसी सरेन्डर गर्न सक्नु हुन्छ भनेर पोलिसी विक्री गर्नु हुँदैन । गलत मार्केटिङ गर्नु भएन । जति वर्षको बीमा गरिएको हुन्छ निरन्तर रुपमा प्रिमियम तिर्न सक्नु पर्छ । बीचमै सरेन्डर गर्न मिल्दैन भन्ने किसिमले अघि बढ्नु पर्छ । सन नेपाल लाइफको सन्दर्भमा भन्ने हो नियम विपरित कर्जा वा सरेन्डरको समस्या छैन । जीवन बीमा कम्पनीहरुको संख्या पनि धेरै भएकोले अस्वस्थ प्रतिस्पर्धा हुन लाग्यो भन्ने गुनासो सुनिन्छ, अहिलेको अवस्था कस्तो महसुस गर्नुभएको छ ? संख्यात्मकभन्दा पनि गुणात्मक प्रतिस्पर्धा हुनुपर्छ भन्ने विश्वास गर्नुपर्छ । संख्या धेरै वा थोरैले केही फरक पर्दैन । तर, ओरेन्टेसनको कारणले गर्दा बजारमा केही अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । प्रतिस्पर्धा सकारात्मक नै हुनु पर्छ । कम्पनीको संख्या बढी भएको हो ? त्यो म कसरी भनौं ? नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा नेपाली बीमा क्षेत्रको योगदान करिब ३ प्रतिशत मात्रै छ । यो संख्या कम हो कि, बढी हो कि, कम हो भने बढाउनको लागि कम्पनीको संख्या थप गर्नुपर्छ वा कम्पनीको संख्या कम गरेर ठूलो कम्पनी बनाएर जानुपर्छ भन्ने विषय छ राज्यको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले यसमा काम गर्ने होला । कम्पनीको संख्याको विषयमा भन्दा पनि बजारमा कस्तो अवस्था छ, कति पारदर्शी रुपमा काम गर्न सकिएको छ भन्ने विषयमा बढी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ । अहिलेसम्म कस्ता प्रकारका प्रडक्टमा बढी आकर्षण छ ? हाम्रो सबै दीर्घकालिन पोलिसीहरु नै छन् । सर्टटर्मका पोलिसीहरु हामीसँग छैनन् । हामीले अब सर्टटर्मका पोलिसीहरुमा जानु पर्छ भन्ने योजना बनाएका छौं । अहिलेसम्मका पोलिसीहरुमा राम्रै आकर्षण नै छ । आवश्यकता अनुसार विभिन्न पोलिसीहरु ल्याउने प्रयास पनि हामी गर्नेछौं । बीमा कम्पनीहरुले नर्मल पोलिसीहरुमा बढी फोकस गर्ने हो कि वा टर्म पोलिसीहरुमा फोकस गर्ने हो ? यसमा दुईटा पाटो छ । कोरोना भाइरस जस्तो परिस्थितिमा टर्म पोलिसी पनि प्रभावकारी नै हुन्छन् । तर, दीर्घकालिन रुपमा परम्परागत पोलिसीहरु नै राम्रो र बढी प्रभावकारी हुन्छ जस्तो लाग्छ । टर्म पोलिसीमा प्रोटेक्सन चाहिँ बढी चाहिँन्छ । एउटा राम्रो, अर्को नराम्रो भन्ने भन्दा पनि दुवैलाई समान तरिकाले अगाडि बढायो भने राम्रो हुने र बीमा बजार पनि प्रभावकारी हुन्छ । बजारमा देखिने गरी नयाँ के काम गर्दै हुनुहुन्छ ? हामी बजारमै छौं । नेपाली बीमा क्षेत्रको इतिहासमा सबैभन्दा बढी ‘मास मिटिङ’ गरेर बीमा सम्बन्धि सचेतना जगाउने कम्पनी सन नेपाल लाइफ नै होला । सुरुवाती चरणमा हामीले प्रत्येक जिल्लामा मास मिटिङ गरेका छौं । आफुले गरिरहेको काम ‘पर्फेक्ट’ रुपमा गर्न सक्नुपर्छ । त्यो किसिमको सर्भिस हामीले दिन सकेका छौं । बीमा कम्पनीहरुका मालिक बिमित हुन् । उनीहरुलाई कसरी खुसी पार्न सकिन्छ, त्यसतर्फ हामीले ध्यान दिनु पर्छ । सन नेपालले त्यसतर्फ ध्यान दिइरहेको छ । हामीले सर्भिस किन्ने होइन, बेच्ने सिद्धान्तलाई आत्मसाथ गरिरहेका छौं । हामी हरेक परिसूचकमा अब्बल छौं । बजारले के गरिरहेको छ भन्ने कुरामा दौडिने भन्दा पनि आफ्नो लक्ष्य र उद्देश्यमा हामी अडिक छौं । अन्त्यमा, तपाईंका सम्पूर्ण बीमितहरुलाई सन्देश के छ ? हामीले प्रवाह गरेको सेवा पारदर्शी नै छ । हामीले दिने सेवा प्रवाहमा कुनै कन्फ्युजन छ भने हामीलाई भन्न सक्नु हुन्छ । ‘सन नेपाल लाइफ छ जहाँ, जीवन बीमा छ त्यहाँ’ भन्ने हाम्रो नारा नै छ । नारा जस्तै हामीले काम पनि गरिरहेका छौं । हामी हरेक ठाउँमा पुगेका छौं । घरघरमा गएर हामीले सेवा दिइरहेका छौं । सम्पूर्ण बीमितहरुलाई ढुक्क हुन हामी अनुरोध गर्छौं । बीमा जीवनभरका लागि गरिने लगानी हो । बुझेर जीवन बीमा गर्न चाहनु हुन्छ भने सन नेपालमै आउनुस् भन्ने अनुरोध पनि सम्पूर्णलाई गर्न चाहन्छु ।
ज्योति लाईफले हस्तान्तरण गर्यो ललितपुर महानगरका कर्मचारीको मृत्यु दावी भुक्तानी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका कर्मचारीको १० लाख ९४ हजार ५ सय रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका कर्मचारी स्व बिक्रम अवालेको सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी बापत उनकी श्रीमती बिमला श्रेष्ठ अवालेलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो । स्व. अवालेको गत बैशाख २९ गते कोरोना सन्क्रमणको कारण मृत्यु भएको थियो । महानगरपालिकाका कर्मचारीहरु कुनै पनि महामारी वा बिपदको परिस्थितिमा समेत निरन्तर सेवामा रहने हुँदा कर्मचारी तथा कर्मचारीको परिवारको आर्थिक सुरक्षार्थ सम्पूर्ण कर्मचारीको सामुहिक म्यादी जीवन बीमा ज्योति लाईफ इन्स्योरेन्समा गरिएको थियो । ज्योति लाईफले आफ्नो स्थापनादेखि नै विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीको आवश्यकता एवम बजेटको आधारमा विभिन्न सुबिधा लिन मिल्ने गरी कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा योजना बिक्री गर्दै आएको छ । ज्योति लाईफले सार्वजनिक तथा अन्य सेवामा अनवरत खटिने कर्मचारीको लागि सुलभ तथा सहुलियत पूर्ण बीमा सेवा प्रदान गर्ने कार्यलाई आफ्नो प्राथमिकमा राखेको छ । ललितपुर महानगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख चिरिबाबु महर्जनले स्व. अवाले अत्यन्त मेहनती कर्मचारी रहेको र उनको निधनले महानगरपालिकालाइ अपुरणिय क्षती भएको कुरा व्यक्त गर्दै स्व अवालेको श्रीमती बिमला श्रेष्ठ अवालेलाई महानगरपालिकामा रोजगारिको व्यवस्था समेत गरिसकेको बताए । त्यस्तै, ज्योति लाईफका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले कर्मचारीको जोखिमको लागि महानगरपालिकाले पहल गरेको कर्मचारी बीमा मार्फत सहयोग गर्न सकेकोमा महानगरपालिकालाई धन्यबाद दिँदै, सो रकमले शोक सन्तप्त परिवारको घाउमा थोरै भए पनि मलम लगाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । ललितपुर महानगरपालिकाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा महानगरपालिका तथा ज्योति लाईफका अन्य पदाधिकारीको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो।