रिलायन्स लाइफद्वारा दुई करोड ५० लाखको मृत्यु दावी भुक्तानी
काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो । दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका संचालक समितिका अध्यक्ष तारा चन्द केडिया, संचालक जगदीश कुमार अग्रवाल लगायत कम्पनीका पधाधिकारीको उपस्तिथि रहेको थियो । कम्पनीले हालसम्म आठ करोड २३ लाख बराबरको दावी रकम भुक्तानी गरेको छ ।
प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने तयारीमा सिटिजन्स, रिलायबल र सन नेपाल
काठमाडौं । तीन वटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्काशनको तयारी थालेको छन् । बीमा समितिका अनुसार सिटिजन्स लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन गर्न बीमा समितिसँग प्रस्ताव गरेका छन् । तीन कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने तयारी गरेको र त्यसप्रति बीमा समिति पनि सकारात्मक रहेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । ‘नेपाल धितोपत्र बोर्डले तय गरेको सेयर निष्काशन सम्बन्धि विधि प्रक्रिया पूरा गरेर प्रिमियम मूल्यमा सेयर निष्काशन गर्छन् भने हामीले असहमति जनाउने ठाउँ हुँदैन, तर कम्पनीहरुको नेटवर्थलाई हेर्दा अंकित मूल्यमा धेरै प्रिमियम रकम थपिने सम्भावना कम छ,’ अध्यक्ष सिलवालले बताए । बजारको माग तथा विद्यमान कानुनी व्यवस्था अनुसार कम्पनीले प्रिमियम मूल्यका सेयर निष्काशनको तयारी गरिरहेको सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बताए । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले पनि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न लागिएको र यसतर्फ प्रारम्भिक गृहकार्य शुरु भइरहेको बताए । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक कमल गौतमले पनि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न सैद्धान्तिक सहमति लिएको र प्रकृयागत काम भैरहेको उनले बताए । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी पनि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने मनस्थितिमा रहेको छ । ‘प्रिमियम मूल्यमा साधारण सेयर निष्काशन गर्ने प्रस्ताव हामी विशेष साधारणसभा लैजाने तयारीमा छौं, साधारणसभाले पारित गरेपछि मात्र अरु प्रक्रिया अगाडि बढ्छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताए । त्यस्तै, नेपाल धितोपत्र बोर्डले पनि प्रिमियममा सेयर निष्काशन गर्ने सम्बन्धि विधि प्रक्रिया पूरा गरेका कम्पनीलाई प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न नरोक्ने बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताएका छन् । ‘इन्स्यारेन्स मात्रै होइन, कुनै पनि नयाँ कम्पनीले हाम्रो नियममा भएको व्यवस्था पुरा गर्यो भने प्रिमियममा सेयर निष्काशन गर्न पाउने छन्, हामीले रोक्दैनौं, स्वीकृति दिन्छौं, तर, प्रिमियममा सेयर निष्काशन गर्ने सम्बन्धीको सबै व्यवस्था भने पुरा गरेको हुनुपर्छ,’ उनले विकासन्युजसँग भने ।
रिलायबल नेपाल लाइफका सीईओ लोहनीले पाए निरन्तरता, साउन १८ गतेदेखि लागू हुने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले निरन्तरता पाएका छन् । नियामक निकाय बीमा समितिले उनको थप कार्यकालको लागि स्वीकृति दिएको हो । गत साउन १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ लोहनीको कार्यकाल थप्ने निर्णय गरेको थियो । उक्त निणर्यलाई बीमा समितिले आज (साउन १२ गते) स्वीकृत गरेसँगै उनको कार्यकाल आगामी ४ वर्ष सम्मको लागि थपिएको हो । चार वर्ष अघिदेखि इन्स्योरेन्सको सीईओ पदमा रहेका उनको हालको कार्यकाल आगामी साउन १७ गतेदेखि सकिँदै छ । यससँगै उनले आगामी साउन १८ गतेदेखि आगामी चार वर्षसम्म इन्स्योरेन्समा रहेर सीईओको कार्यभार सम्हल्ने छन् ।