एसएलसी पास गरेकालाई शिखर इन्स्योरेन्समा अभिकर्ता बन्ने अवसर

काठमाडौं । निर्जीवन बीमा क्षेत्रकै अग्रणी शिखर इन्स्योरेन्स कम्पनीले नयाँ अभिकर्ता बन्ने अवसर खुलाएको छ । कम्पनीले बैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिने अभिकर्ता तालिम संचालन हुने र त्यसका लागि आवेदन दिने अवसर खुलाएकाे हाे । उक्त तालिमका लागि एसएलसी उत्तीर्ण नेपाली नागरिकले आवेदन दिनसक्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । जसमा अभिकर्ता बन्न इच्छुकले बैशाख १७ गते साँझ ५ बजेसम्म आवेदन दिन सक्ने छन् । उनीहरूले [email protected] मार्फत अनलाइन आवेदन समेत दिनसक्ने कम्पनीले व्यवस्था मिलाएको छ । कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो जटिल अवस्थामा पनि अवसर प्रदान गर्ने हेतुले कम्पनीले प्रविधिको पहुँच भएका र अभिकर्ता बन्ने इच्छा हुनेहरुका लागि जुममार्फत अभिकर्ता तालिम दिन लागेको हो । यस्तो तालिम हरेक बिहान ७ बजेदेखि १० बजे र दिउँसो ११ बजेदेखि २ बजे गरी दुई सिफ्टमा संचालन गरिनेछ ।

पुनर्बीमा कम्पनी एउटा मात्र थपिने, क्रस होल्डिङकाे सर्तले धेरै कम्पनी तनावमा

काठमाडौं । अब एउटा पुनर्बीमा कम्पनी थपिने भएको छ । त्यसको लागि बीमा समितिले पुनर्बीमा कम्पनी स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरेको छ । बीमा समितिले पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएकोले निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएकोले इच्छुक लगानीकर्तासँग प्रस्ताव माग गरेको छ । नयाँ कम्पनीको लागि न्युनतम पुँजी १० अर्ब रुपैयाँ तोकिएको छ । नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरिसकेका लगानीकर्ताले नयाँ कम्पनीमा नयाँ लगानी गर्न पाउने छैनन् । यस व्यवस्थाले नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरिसकेका नेपाल सरकार, बीमा कम्पनीहरु र यसको संस्थापक लगानीकर्ता नयाँ कम्पनीमा सेयरधनी बन्न पाउने छैनन् । पुराना लगानीकर्ता संलग्न वा क्रस होल्डिङ भेटिएमा त्यस्ता प्रस्ताव अमान्य हुने बीमा समितिले जनाएको छ । याे शर्तले धेरै कम्पनीहरूलाई तनाव हुने जानकारहरूले बताएका छन् । यसअघिका सबै प्रस्तावकले नेपाल पुनर्बीमाका प्रर्बद्धकलाई पनि सेयरधनी बनाएका थिए । यस व्यवस्था अनुसार नयाँ पुनर्बीमा कम्पनीमा १७ वटा निर्जीवन र ६ वटा जीवन बीमा कम्पनीहरुले लगानी गर्न नपाउने भएका छन् । साथै, आईएमई ग्रुप, विशाल ग्रुप, प्रभु बैंक, ग्लोवल आईएमई बैंक, एनआईसी एशिया लगायत नेपाल पुनर्बीमाका प्रर्बद्धकहरुले नयाँ कम्पनीमा लगानी गर्न पाउने छैनन् । दुई वा सोभन्दा बढी प्रस्तावहरु आएमा बीमा समितिको मूल्याङ्कनमा उच्च अंक प्राप्त गर्ने कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न अनुमति दिने बीमा समितिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । प्रस्ताव मूल्याङ्कनका आधार र विधि भने बीमा समितिले सार्वजनिक गरेको छैन । बरु सूचनाको अन्त्यमा कुनै कारण खुलाई वा नखुलाई कुनै पनि वा सबै प्रस्तावहरु बीमा समितिले अस्वीकृत गर्न सक्ने जनाइएको छ । प्रस्ताव पेश गर्न २१ दिनकाे समय दिइएको छ । जेठ ६ गते मध्यान्न १२ बजेभित्र प्रस्ताव दर्ता हुनु पर्ने समितिले जनाएकाे छ । यसअघि दर्ता भएका प्रस्तावहरु रद्द गरिएको बीमा समितिले जनाएको छ । पुराना प्रस्तावकले चाहेमा नयाँ प्रक्रियाअनुसार पुनः प्रस्ताव पेस गर्न भनिएको छ ।

गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

काठमाडाैं । गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् । कम्पनी संञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त बैठकले यस अघि कम्पनी सचिव रहेका बालमुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको छ ।