रिलायबल लाइफ इन्स्याेरेन्सले भुक्तानी गर्याे ४ कराेड बीमा दाबी
काठमाडाैं । रिलायबल लाइफ इन्स्याेरेन्सले ४ कराेड दाबी बीमा रकम भुक्तानी गरेकाे छ । कम्पनीले सुलभ जिवन बीमा दाबी भुक्तानी बापतको ४ कराेड रुपैयाँ स्व. हरि पन्तकी श्रीमति परु देवी पन्तलाई हस्तान्तरण गरेकाे हाे । कञ्चनपुरका स्व. हरी पन्तले २०७६ साल असोजमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुलभ बीमा योजना अन्तर्गत चार करोड सावधिक बीमा गरेका थिए । उनले बीमाकाे पहिलो किस्ता बापत सात लाख रुपैयाँ प्रिमियम तिरेका थिए । पन्तको बीमा गरेको एक महिनापछि २०७६ कात्तिकमा मृत्यु भएकाे थियाे । बीमा समितीका अध्यक्ष सुर्य बहादुर सिलवालले पन्तकी श्रीमतिलाई उक्त रकम बराबारकाे चेक हस्तान्तरण गरेका थिए ।
रिलायबल नेपाल लाइफले सार्वजनिक गर्यो नयाँ बोनस दर, सबैभन्दा बढी सावधिक बीमालेखमा
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा समितिले स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो । समितिले कम्पनीको आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा दर दायित्व मूल्याङ्कन बीमांकीय प्रतिवेदन स्वीकृत गरेपछि बोनस दर सार्वजनिक गरिएको इन्स्योरेन्सले जनाएको छ । कम्पनीले सञ्चालनमा ल्याएको विभिन्न प्रकारका नाफामा सरिक हुने गरी जारी गरिएको जीवन बीमालेखहरु अन्तर्गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्क बमोजिम बोनस दर निर्धारण गरेको हो । यससँगै कम्पनीले विभिन्न बीमालेखमा प्रतिहजार वार्षिक न्युनतम १३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस वितरण गर्ने भएको छ । कम्पनीको रिलायबल सावधिक जीवन बीमालेखमा प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । कम्पनीले २० वर्ष वा सो भन्दा माथिको लागि सावधिक जीवन बीमालेख गर्नेलाई प्रतिहजार ७० रुपैयाँ बोनस दिने भएको हो । जुन कम्पनीले जारी गरेको बीमालेख मध्येकै उच्च बोनस दर हो । त्यस्तै, रिलायबल लघु सावधिक जीवन बीमालेख, बीमा समिति लघु सावधिक जीवन बीमालेख र सावधिक तथा आजिवन बीमा योजनामा सबै बीमा अवधिको लागि प्रतिहजार ३० रुपैयाँ बोनस वितरण गरिने छ । त्यस्तै, सबैभन्दा न्युनतम रिलायबल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) मा प्रतिहजार १३ रुपैयाँ बोनस पाइने छ । जुन कम्पनीले सार्वजनिक गरेको बोनसदर मध्येकै न्युनतम बोनस दर हो । त्यसैगरी, रिलायबल सुलभ जीवन बीमालेख गर्ने बीमितले प्रतिहजार न्युनतम २० रुपैयाँ र अधिकतम ३७.७ रुपैयाँ बोनस पाउने छन् । बाल बच्चाको सावधिक बीमालेख अर्थात रिलायबल उच्च शिक्षा योजनामा प्रतिहजार न्युतनम ६० रुपैयाँ र अधिकतम ६५ रुपैयाँ बोनस पाइने छ । साथै, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्युनतम ५० र अधिकतम ५५ रुपैयाँ बोनस निर्धारण गरिएको कम्पनीले जनाएको छ । उक्त ८ प्रकारका बीमालेखमा हालसम्म ३२ हजार ३८ संख्यामा बीमालेख जारी भएको छ । जसमध्ये १५ देखि १९ वर्ष बीमा अवधिको रिलायबल सुलभ जीवन बीमालेख गर्नेको संख्या सबैभन्दा बढी रहेको छ । हालसम्म उक्त बीमालेख १२ हजार २८४ संख्यामा बिक्री भएको कम्पनीले जनाएको छ ।
अजोड इन्स्योरेन्सको सञ्चालकमा पौडेल र सुवेदी निर्वाचित
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालकमा पानुदत्त पौडेल र श्रृजना सुवेदी निर्वाचित भएका छन् । आज(बैशाख ७ गते) सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले दुई जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै, नवनिर्वाचित दुई जना सञ्चालक पौडेल र सुवेदी सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने छन् । कम्पनीले २०७७ फागुन मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालय, १० बीमा काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा कुल बीमाशुल्क ८८ करोड ४३ लाख रुपैयाँ संकलन गरि खुद नाफा ४ करोड ५६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बीमाकोषमा ६ करोड २३ लाख रुपैयाँ संचित रहेको कम्पनीले जनाएको छ । अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३ प्रतिशत, खुद नाफामा २४७.३९ प्रतिशत, एवं बीमाकोषमा १०४.०८ प्रतिशतले वृद्धि हासिल गर्न सफल भएको छ ।