बीमा समितिको अध्यक्ष पद खाली, चापागाई बसे विदामा

काठमाडौं । बीमा क्षेत्रकाे नियामक निकाय बीमा समितिमा अध्यक्षकाे कुर्सी खाली भएको छ । मंगलबारदेखि अध्यक्ष चिरञ्जीवि चापागाई विदामा बसेका छन् । चार वर्षे कार्यकाल सकिन एक साता बाँकी हुँदा उनी विदामा बसेका हुन् । उनले २०७३ पुस २४ गते नियुक्त पत्र पाएका थिए । अर्को कार्यकालको लागि सरकारले पुनः नियुक्ती नगरेमा चापागाईले २३ गते औपचारिक रुपमा बीमा समितिबाट विदा लिने छन् । अध्यक्ष चापागाई मंगलबारदेखि विदामा बसेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । चापागाईले समितिमा थप एक कार्यकाल काम गर्ने इच्छा राखे पनि नेकपा विभाजनपछि उनको निरन्तरताको सम्भावना कम रहेको जानकारहरु बताउँछन् । शुरुमा १० वटा जीवन र ३ वटा निर्जीवन बीमा कम्पनीलाई लाईसेन्स वितरण गरेको भनेर पुराना कम्पनीको तर्फबाट आलोचना खेप्नु परेपनि चापागाईको चार वर्षे कार्यकाल सफल भएको छ । चार वर्षको अवधिमा बीमाको पहुँच ७ प्रतिशतबाट २७ प्रतिशत पुग्नु, कुल ग्राहस्थ्य उत्पादामा बीमा क्षेत्रको योगदान १.५ प्रतिशतबाट ३ प्रतिशत पुग्नु, यस अवधिमा बीमा क्षेत्रमा करिव ४ अर्ब रुपैयाँ थप लगानी हुनु, हजारौको संख्यामा रोजगारी वृद्धि हुनु चापागाईको पालामा देखिने विकासका सूचकाङ्क हुन् । बीमा कम्पनीहरुले जोखिममा आधारित भएर पुँजी कोषको प्रबन्ध गर्नुपर्ने नियम लागू गर्नु, एनएफआरएस लागू गर्नु, संस्थागत सुशासन निर्देशिका संशोधन गरी खुकुलो बनाएर बजारलाई सहजीकरण गर्नु उनका सकारात्मक प्रयास थिए । बीमा बजारसँग सम्बन्धित पक्षको समास्या सुन्ने र समाधानका लागि सक्रिया भएर लाग्ने उनको कार्यशैली बीमा क्षेत्रका धेरैले मनपराएका थिए । तर पछिल्लो समय कोभिड–१९ बीमाबारे बीमा समितिले लिएका लिएकाे नीति र निर्णयलाई लिएर बजारमा उनको आलोचना हुँदै अाएकाे छ । नयाँ बीमा ऐन संसदबाट पारित गराउन नसक्नु, बीमा कम्पनीहरुको नियमनका लागि कडा रुपमा प्रस्तुत हुन नसक्नु उनको अर्को कमजोरी रह्यो । यद्यपी पूर्व अध्यक्ष डा फत्तबहादुर केसीले ८ वर्षसम्म गतिहिन बनाएकाे बीमा क्षेत्रलाई गतिशित बनाउने कार्यमा अध्यक्ष चापागाइ सफल भएका छन् ।

टाईसुट छ, कमाई राम्रो छ, सामाजिक काम गर्न पाइन्छ

बीमा भन्ने बित्तिकै एउटा सुरक्षणको पाटो भयो भने अर्को बचतको कुरा आउँछ । लगानी भन्नाले आर्थिक क्षेत्रमा उद्यमशीलता छ भन्ने हुन सक्छ । तपाईंको पेशासँग सम्बन्धित आर्थिक क्रियाकलापसँग संलग्न नहुनुस् भनेर बीमाले भन्दैन । त्यसैकारण अन्य कुनै पेशा व्यवसायमा संलग्न व्यक्ति पनि बीमा क्षेत्रसँग प्रत्येक्ष परोक्ष जोडिएर काम गर्न सक्ने अवस्था रहन्छ । बीमाले उद्यमशिलतामा गर्नुस्, साथसाथै आफ्नो भविष्य सुनिश्चित गर्नको लागि आफ्नो लागि सुरक्षण गर्दै जानुस् भन्छ । जोखिमको सुरक्षा गर्ने र थोरै थोरै फजुल खर्च घटाएर बीमाका लगानी गर्दै जान सकिन्छ । बचत गर्ने प्रकृयाले नै भविष्यमा प्रतिफल पनि दिन्छ । प्रतिफल दिने भएकोले बीमामा लगानी गर्ने भनिएको हो । अर्को भनेको कुनै पनि उद्योग खोल्नका लागि ५ लाख लाग्ने छ भने तुरुन्तै ५ लाख रुपैयाँको आवश्यकता पर्छ । तर, वार्षिक ५० हजार रुपैयाँको दरले २० वर्षको बीमा गराउनु भयो भने १० लाख बिमांक बराबरको बीमा गराउन सकिने भयो । बीमाको बोनसदर अनुसार बिमांक रकम सोभन्दा कति बढी आउँछ भन्ने अर्काे सम्भावना भने बाँकी नै रहन्छ । अर्काे फाइदा, ५० हजार रुपैयाँ तिरेर बीमा गराएको व्यक्तिको बीमा अवधि पूरा नभई वा तुरुन्तै नै कुनै कारणवस मृत्यू भयो भने बिमांक रकम १० लाख रुपैयाँ तत्काल पाइन्छ । तर, आजको दिनमा नै बैकमा ५० हजार रुपैयाँ राख्नुभयो भने त्यस्तो हुँदैन । हाम्रो कानुनी संयन्त्रहरुले जीवन बीमालाई लगानी बीमा भनेका छन् । लगानी बीमा भन्नुको कारण अहिलेदेखि बीमामा पैसा हाल्नुभयो भने त्यसले भोलि ठूलो प्रतिफल दिन्छ भन्ने हो । दीर्घकालिन प्रकृतिका क्यास भ्यालू पोलिसीहरु छन्, तिनीहरुलाई लगानी बीमा भनेको हो । त्यहाँ लगानीको प्रकृया के हुन्छ भने बीमामा लगाउन २० हजार रुपैयाँले ५ लाख रुपैयाँ बराबरको बीमा हुन्छ । तर, २० हजार रुपैयाले ५ लाख लगानी गरेर खोल्नुपर्ने उद्योग खोल्न सकिदैन । लगानी भनेको आफ्नो जीवनलाई व्यवस्थित गर्नको लागि, जोखिम सुरक्षण गर्नको लागि गरिको व्यवस्था हो । जीवन बीमाको मुख्य उदेश्य भनेको जोखिमको सुरक्षा गर्ने हो । दोस्रो कुरा बचत हो । युवा सहभागिता बीमा भनेको प्राविधिक विषय हो । बीमा बुझ्यो भने सहज छ । बीमाले कसैलाई कुनैपनि भेदभाव गर्दैन । बीमा गराउनु भनेको सामाजिक कार्य पनि हो । यही रुपमा बुझेर पनि युवावर्ग बीमा क्षेत्रमा आउनु पर्छ । दक्षता भएका युवा बीमा क्षेत्रमा आवश्यक छ । युनिभर्सिटीमा डिग्री लिदैमा बीमा गर्न सक्छ भन्ने छैन । यो सामाजिक घुलमेलसँग समेत सम्बन्धित हो । युनिभर्सिटीले निकालेका विद्यार्थीले पनि केही अनुभव हाँसिल गर्न आवश्यक छ । सवा एक लाख युवा अहिले बीमामा सक्रिय छन् । २० हजार युवा त बीमा क्षेत्रमा कर्मचारी नै छन् । यस्तै, राज्यले बीमामा सहभाागिता बढाउन युवा लक्षित कार्यक्रमहरु संचालन गर्न आवश्यक छ । युवालाई बीमामा आउ भनेर आव्हान गरेर मात्रै हुँदैन । अवसर दिएर नै सहभागिता बढाउन सकिन्छ । बीमा क्षेत्रमा काम गर्नेहरुलाई पनि केही चुनौतिहरु पक्कै छन् । यो क्षेत्रमा विश्वसनियताको प्रश्न उठ्न सक्छ, पारदर्शिताका पश्नहरु उठ्न सक्छ, प्रोफेसनालिजमकै प्रश्न उठन् सक्छ । त्यसकारण बीमा यस्तो आर्थिक क्षेत्र हो, यहाँ धैर्यता भएका युवामात्र टिक्न सक्छन् । बीमा क्षेत्रमा काम गर्ने सबै जना टाइसुट नै लगाएर हिडछन् भन्ने छैन । तर बीमा सेवा र कमाई दुवै हुने पेशाँ भने हो । भर्जिन ल्याण्ड होइन आजको दिनमा बीमा क्षेत्र भर्जिन ल्याण्ड होइन । हाम्रोमा बीमा क्षेत्रको २००४ सालदेखि आजसम्म आइपुग्दा ७३ वर्षको इतिहास छ । ७३ वर्षसम्म बीमा औपचारिक रुपमा संचालन भइरहेको छ । बीमा क्षेत्र उद्योगको रुपमा विकास भइरहेको छ । कोरोना महामारीको असर बीमा क्षेत्रमा परेपनि कम्पनीहरुले आफ्नो व्यवसाय बढाएकै छन् । अहिले यही आर्थिक वर्षको कुरा गर्दा पनि असार मसान्त यता बीमा कम्पनीहरुले गत वर्षको भन्दा धेरै परिसुचकमा राम्रो प्रगति गरेका छन् । बीमा आवश्यक भएको व्यक्ति समक्ष बीमा पुग्नु पर्छ भन्ने एउटा पाटो हो भने अर्को भनेको सबैलाई बीमाको फ्रेमवर्क भित्र कसरी ल्याउने भन्ने हो । बीमाको वातावरण बनाउने भनेको नियमनकारी निकायको कुरा हो । यस्तै, राज्यका अरु सबै अंग र संयन्त्रहरुले पनि बीमालाई आफ्नो ठाउँबाट प्रबद्र्धन गर्ने हो । किनभने बीमाले व्यक्तिको आर्थिर रक्षावरणको साथै राज्यको प्राथमिकता र चाहना अनुसारको क्षेत्रमा लगानीको लागि छरिएर रहेको पुँजीलाई एकत्रित गरी मेगा प्रोजेक्ट संचालन गर्न पनि सहयोग पुर्याउँछ । (सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालसँग विकासन्युजका लागि नविन पोखरेलले गरेको कुराकानीमा आधारित)

एशियन लाइफले सार्वजनिक गर्यो नयाँ बोनस दर, सबैभन्दा बढी आजीवन बीमालेखमा पाइने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा समितिले स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो । समितिले कम्पनीको आर्थिक वर्ष २०७४/७५ को आर्थिक स्थितिको लेखाजोखा दर दायित्व मूल्याङ्कन बीमांकीय प्रतिवेदन स्वीकृत गरेपछि बोनस दर सार्वजनिक गरिएको इन्स्योरेन्सले जनाएको छ । यससँगै कम्पनीले प्रतिहजार वार्षिक न्युनतम ४२ रुपैयाँदेखि ८७ रुपैयाँसम्म बाेनस  वितरण गर्ने भएकाे छ । कम्पनीको सावधिक र बालबच्चाको सावधिक जीवन बीमालेखमा दुबैमा न्युनतम ४२ रुपैयाँदेखि अधिकतम ७६ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । त्यस्तै, सावधिक तथा आजीवन बीमालेखमा न्युनतम ५१ रुपैयाँदेखि अधिकतम ८७ रुपैयाँसम्म निर्धारण गरिएको छ । जुन कम्पनीले जारी गरेको बीमालेख मध्येकै उच्च बोनसदर हो । त्यसैगरी अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा प्रतिहजार वार्षिक न्युनतम ४३ र अधिकतम ७९ रुपैयाँ बोनस पाइने कम्पनीले जनाएको छ । यस्ताे छ कम्पनीले सार्वजनिक गरेकाे नयाँ बाेनसदर