प्राइम लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध, प्रिमियमदेखि सबै भुक्तानी अनलाइनबाटै हुने
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) सँग आवद्ध भएको छ । इन्स्योरेन्सको भुक्तानी सम्बन्धी कारोबारहरुलाई एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा प्राइम लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । प्राइम लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीसँग जोडिए पछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । साथै, प्राइम लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइनमार्फत कनेक्ट आईपीएस ई पेमेन्टबाट वा ५ हजारभन्दा बढि बैंक शाखाहरुबाट सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।
जीवन बीमा कम्पनीको ३ खर्ब ५ अर्ब लगानी, कुन कम्पनीको कति ?
काठमाडौ । जीवन बीमा कम्पनीहरुको कुल लगानी ३ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ । बीमा समितिले निर्धारण गरेका क्षेत्रमा बीमा कम्पनीहरुले यस्तो लगानी गरेका हुन् । कम्पनीहरुले बीमा गराउँदा बिमितले बुझाएको रकम विभिन्न क्षेत्रमा लगानी गर्ने गर्छन् । बीमा समितिले प्रकाशित गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै लगानी गर्नेमा नेपाल लाइफ छ भने दोस्रोमा एलआईसी नेपाल छ । जीवन बीमा कम्पनीहरुले नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा, बाणिज्य बैकको मुद्धति निक्षेपमा, नेपाल पूवार्धार बैकको मुद्धति निक्षेमा लगानी गर्न पाउँछन् । यस्तै, घरजग्गा, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयर, सामुहिक लगानी कोष र नागरिक लगानीकोष लगायतमा लगानी गर्न मिल्ने व्यवस्था छ । बीमा समितिले दिएको जानकारी अनुसार नेपाल लाइफको कुल लगानी ७७ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने एलआईसी नेपालको कुल लगानी ५७ अर्ब ६३ करोड रुपैयाँ लगानी छ । यस्तै, राष्ट्रिय बीमा संस्थानको कुल लगानी २८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । नेशनल लाइफको ३४ अर्ब १७ करोड रुपैयाँ, मेट लाइफको २० अर्ब ६९ करोड रुपैयाँ र एशियन लाइफको २० अर्ब ८३ करोड रुपैयाँ कुल लगानी रहेको छ । सूर्या लाइफको कुल लगानी ९ अर्ब ३१ करोड रुपैयाँ छ भने गुँरास लाइफको ९ अर्ब ३१ करोड रुपैयाँ, प्राइम लाइफको १४ अर्ब ६ करोड रुपैयाँ र आइएमई लाइफको ३ अर्ब २६ करोड रुपैयाँ कुल लगानी रहेको छ । यस्तै, युनियन लाइफको ६ अर्ब १० करोड रुपैयाँ, ज्योति लाइफको ३ अर्ब ६५ करोड रुपैयाँ, सन नेपाल लाइफको २ अर्ब ८२ करोड रुपैयाँ, रिलायन्स लाइफको ३ अर्ब २० करोड रुपैयाँ र रिलायबल नेपाल लाइफको ३ अर्ब ८५ करोड रुपैयाँ कुल लगानी रहेको छ । समितिका अनुसार सिटिजन लाइफको ४ अर्ब २८ करोड रुपैयाँ, सानिमा लाइफको १ अर्ब ९८ करोड रुपैयाँ, प्रभु लाइफको २ अर्ब ३८ करोड रुपैयाँ र महालक्ष्मी लाइफको १ अर्ब ९० करोड रुपैयाँ कुल लगानी रहेको छ ।
राष्ट्र बैंकको नीतिगत व्यवस्थाले ब्लुचिप्स मानिने बीमा कम्पनीका सेयर पनि कर्जा लिन अयोग्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले सेयर बजारमा ब्लुचिप्स मानिने बीमा कम्पनीका सेयर पनि कर्जा प्रयोजनको लागि धितो राख्न ‘अयोग्य’ भएका छन् । आर्थिक वर्ष समाप्त भएको एक वर्ष पूरा हुँदा पनि अन्तिम लेखापरीक्षण नगर्ने संस्थाको धितोमा सेयर कर्जा दिन नपाइने व्यवस्थाको कारण राम्रा बीमा कम्पनीका सेयर धितो राखेर कर्जा लिन नपाइने भएको हो । राष्ट्र बैंकले केही दिनअघि जारी गरेको नयाँ सर्कुलरमा ‘आर्थिक वर्ष समाप्त भएको एक वर्ष अवधि पुरा हुँदा समेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाहरु’को सेयर धितो राखेर सेयरधितो कर्जा दिन नपाइने व्यवस्था छ । बीमा कम्पनीहरुको अन्तिम लेखापरीक्षण गर्नुअघि अन्य प्रक्रिया पनि पूरा गर्नुपर्ने प्राविधिक विषयप्रति नेपाल राष्ट्र बैंकले ध्यान नदिदा यस्तो समस्या आएको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले २०७४ सालदेखि बीमा कम्पनीहरुमा पनि नेपाल लेखामान (एनएफआरएस) लागू गरेको छ । एनएफआरएस अनुसार वित्तीय विवरण तयार पार्नुपर्ने तथा जीवन बीमा कम्पनीहरुको बिमांकीय मूल्यांकन गरेर मात्रै लेखापरीक्षण गराउनु पर्ने भएकोले लेखापरीक्षण गराउन ढिला भइरहेको बीमा समितिले पनि बताउँदै आएको छ । राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार आर्थिक वर्ष २०७५/७६ को अन्तिम लेखापरीक्षण गरिसकेका कम्पनीहरुको सेयर धितो राखेर मात्रै सेयरधितो कर्जा लिन पाइन्छ । बीमा समिति स्रोतले दिएको जानकारी अनुसार अधिकांश जीवन बीमा कम्पनी तथा केही निर्जीवन बीमा कम्पनीहरुले पनि आर्थिक वर्ष २०७५/७६ कै अन्तिम लेखापरीक्षण स्वीकृत गराएका छैनन् । बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुले उनीहरुका नियामक निकायबाट अन्तिम लेखापरीक्षण गराएको वित्तीय विवरण स्वीकृत गराउनु पर्छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति हो भने बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंक हो । राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार विगतका वर्षहरुमा राम्रो प्रतिफल दिएका, वित्तीय अवस्था बलियो भएका र व्यवसायिक रुपमा सफल मानिएका बीमा कम्पनीहरुको सेयरधितो राखेर कर्जा लिन नपाइने अवस्था सिर्जना भएको छ । बीमा समिति स्रोतका अनुसार जीवन बीमा क्षेत्रको सबैभन्दा राम्रो कम्पनी नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले पनि आर्थिक वर्ष २०७५/७६ को अन्तिम लेखापरीक्षण स्वीकृत गराएको छैन । यसैकारण नेपाल लाइफको सेयर धितो राखेर कर्जा लिनको लागि नयाँ व्यवस्थाले रोक्छ । जबकि हिजो नेपाल लाइफको सेयर २२ सय रुपैयाँको हाराहारीका कारोबार भएको छ । बीमा समिति स्रोतले अर्काे राम्रो जीवन बीमा कम्पनी नेसनल लाइफले पनि आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण गराएको छैन । सोही कारण सो कम्पनीको सेयर धितो राखेर कर्जा लिन अब पाइने छैन । यस्तै, लाइफ इन्स्योरेन्स कर्पाेरेसन (एलआइसी), एसिएन गुराँस, सूर्या, प्राइम जस्ता जीवन बीमा कम्पनीका सेयर धितो राखेर कर्जा लिन नपाइने अवस्था सिर्जना भएको छ । निर्जीवन बीमा कम्पनीतर्फ ओरेन्टल र राष्ट्रिय बीमा कम्पनीले लेखापरीक्षण स्वीकृतिको लागि समितिमा पेश नै गरेका छैनन् । सोही कारण प्रतिकित्ता १४ हजार रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको राष्ट्रिय बीमा कम्पनीको सेयर धितो राखेर पनि कर्जा पाइदैन । सो कम्पनीले पनि समयमै लेखापरीक्षण नगराएकोले यस्तो अवस्था आएको हो । नेसनल इन्स्योरेन्सले पनि लेखापरीक्षण प्रतिवेदन समितिमा पेश गरेको छैन । सम्बन्धित समाचार सेयर बजारमा सुन्निएको पुनर्बीमा कम्पनीलाई राष्ट्र बैंकको ‘रेडकार्ड’