नेपाल पुनर्बीमा कम्पनीले डाक्यो एजीएम, बुक क्लाेज कहिले ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आगामी पुस २९ गते वार्षिक साधारणसभा(एजीएम) आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्केटमा आफ्नो पाचौं वार्षिक साधारणसभा गर्ने भएको हो । सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस १६ गते बुक क्लोज हुँदै छ । यससँगै पुस १५ गतेसम्म कम्पनीको सेयर होल्ड तथा खरिद गरेका लगानीकर्ता कम्पनीको साधारणसभामा भाग लिन योग्य हुने छ । सभाले सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकमलाई अनुमोदन गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट १ जना र सर्वसाधारण सेयरधनीबाट १ जना गरी जम्मा २ जना कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने सामान्य प्रस्ताव रहेको छ ।

बीमा समिति अध्यक्ष बन्ने प्रतिस्पर्धाः तीन प्रत्यासी रिङआउट, रेसमा थपिए लम्साल

काठमाडौं । राजनीतिक परिस्थितिमा आएको परिवर्तनले बीमा समितिको अध्यक्षको प्रत्यासी परिवर्तन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारुढ नेकपा विभाजन भएकोले प्रतिस्पर्धामा रहेका तीन जना प्रबल दाबेदार ‘रिङआउट’ भएका हुन् । सत्तारुढ नेकपा विभाजन नभएको अवस्थामा समितिका अहिलेकै अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र नेपाल स्टक एक्सचेञ्जका पूर्व अध्यक्ष टंक पनेरु प्रमुख दाबेदारमध्येमा थिए । तर, नेकपा विभाजन भइसकेकोले यी तीन जना नै प्रत्यासीको सम्भावना करिब समाप्त भएको छ । अध्यक्ष चापागाईं नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् । दाहाल समुहले प्रधानमन्त्री ओलीलाई पार्टीको अध्यक्ष पदबाट हटाएको घोषणा गरिसकेको छ । त्यसैले दाहाल निकट चापागाईंलाई ओली सरकारले अध्यक्ष बनाउने सम्भावना असाध्यै कम छ । यस्तै, अर्का प्रतिस्पर्धी महेश गुरागाईं निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई निकट हुन् । भट्टराईले मन्त्री भएको बेलामा आफू अध्यक्ष रहने नेपाल नागरिक उड्डयन प्राधिकरण संचालक समितिमा गुरागाईंलाई लगेका थिए । भट्टराई पनि नेकपाको ओली विराधी खेमामा खुलेर लागेका छन् । अर्का प्रतिस्पर्धी टंक पनेरु नेकपा वरिष्ठ नेता झलनाथ खनाल निकट मानिन्छन् । खनाल पनि ओली विरोधी नेकपामा संलग्न रहेकोले ओली सरकारले पनेरुलाई समितिको अध्यक्ष बनाउने सम्भावना कम छ । त्यसैकारण पनेरु पनि रिङआउट छन् । सिवाकोटीको पल्ला भारी, रेसमा थपिए लम्साल समितिको अध्यक्षको प्रतिस्पर्धामा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको पल्ला भारी भएको छ । प्रधानमन्त्री ओली निकट सिवाकोटीलाई गभर्नर बनाउन नसकेको गुन तिर्न पनि प्रधानमन्त्रीले बीमा समितिको अध्यक्ष बनाउने सम्भावना अधिक छ । डेपुटी गभर्नर सिवाकोटी इमान्दार र क्षमतावान व्यक्तिको रुपमा चिनिन्छन् । सत्तारुढ नेकपामा आएको हलचलले बीमा समितिको अध्यक्ष बन्ने रेसमा रमेश लम्सालको जवरजस्त उपस्थिति देखिएको छ । लम्साल पुनर्बीमा कम्पनीको संस्थापक प्रमुख कार्यकारी अधिकृत र बीमा क्षेत्रकै व्यक्ति हुन् । लम्साललाई पुनर्बीमा कम्पनीमा नेकपा नेता बामदेव गौतमले लगेका थिए । गौतम अहिले पनि नेकपाको कुन खेमामा लाग्छन् भन्ने स्पष्ट भइसकेको छैन । यस्तै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग पनि लम्सालको राम्रो सम्बन्ध छ । प्रधानमन्त्री ओलीलाई काँध थाप्ने नेताहरुमध्येमा पोखरेल अग्रपंतीमा आउँछन् । त्यसैकारण लम्साललाई वलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ । बीमा समितिका अध्यक्ष चापागाईंको कार्यकाल पुस २२ गतेदेखि सकिदैछ । सम्बन्धित सामग्री २०५८ सालदेखि ‘ल्याइते’को भरमा बीमा समिति, राम्रो काम गर्नेले पाएनन् धेरै समय

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । पुस ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कूल ५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको सेयर लाभांश र १ अर्ब ९ करोड रूपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो । उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्रको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । ३१ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आज पुस ७ गते मंगलबारको बजारमा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको थियो । बजार खुल्दा प्रतिकित्ता २ हजार १३८ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ३५१ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता २१३ रुपैयाँले बढी हो । जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको जीवन बीमा क्षेत्रकै सर्वाधिक करिब ५ अर्ब ५० करोड रूपैयाँ रहेको चुक्तापूँजी लाभांश वितरण पश्चात ७ अर्ब १९ करोड रूपैयाँ हुनेछ भने लगानी १०४ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ९४ अर्ब ८२ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ७७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको मंसिर समान्त सम्ममा जम्मा १३ अर्ब ३१ करोड रूपैयाँ बीमा शुल्क संकलन गरेको छ । १ लाख ६७ हजार ५ सय ६५ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी २८ लाख २० हजार १ सय ९६ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।