प्राइम लाइफ इन्स्योरेन्सकाे बीमाशुल्क घरबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि अनलाइन सेवाको विस्तार गरेको छ । कम्पनीले आज (मंसिर २९ गते) एक समारोहकावीच नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) संग कनेक्ट आइपीएस तथा एनसीएचएल आइपीएस लगायतको सेवाको लागि सम्झौता गरेको छ । उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई तथा एनसीएचएलका तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । यो सेवा संगै अब बीमितहरुले घरमै बसी बीमाशुल्क लगायतको भूक्तानी गर्न सक्नेछन् भने अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमा आउनु नपर्ने भएको छ । ग्राहकहरुलाई छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले थप सुविधा स्वरुप घरमै बसी सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने भएका छन् । ग्राहक मैत्रि सेवामा जोड दिंदै आइरहेको कम्पनीले यो सेवासंगै ग्राहकहरुमा थप सन्तुष्टि बढ्ने विश्वास गरेको छ । कम्पनीका ग्राहकहरुले इसेवा, फोनपे, खल्ति जस्ता एप्सबाट समेत घरमै बसी अनलाइन सेवा मार्फत बीमाशुल्क लगायतको भुक्तानी गरिरहेकोमा कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस मार्फत समेत बीमाशुल्क भुक्तानी गर्न सक्ने भएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हालको विषम परिस्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन सकिने जानकारी गराउँदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने अवगत गराए । यस कम्पनीले देशभरमा विभिन्न १५० भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ ।

एशियन लाईफकाे सीईओमा दिनेशलाल श्रेष्ठ नियुक्त

काठमाडाैं । एसियन लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशलाल श्रेष्ठ नियुक्त भएका छन् । उनलाई सोमबार बीमा समितिले सीईओ बन्नको लागि स्वीकृती दिएकाे बीमा समिति स्राेतले जनाएकाे हाे । बीमा समितिले सीईओ बन्न स्वीकृती दिएसँगै उनी एसियिन लाइफको सीईओमा नियुक्त भएका हुन् । एसियन लाइफ इन्स्योरेन्सले उनलाई सीईओ बनाउनका लागि बीमा समितिमा तीन साताअघि  सिफारिस गरेको थियाे । उनी यसअघि गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रुपमा कार्यरत थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् । उनी विगत १८ वर्षदेखि बैकिङ क्षेत्रमा कार्यरत छन् । एसियन लाईफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठकाे कार्यकाल सकिएपछि विगत असारदेखि नै उक्त पद खाली थियाे भने हाेमबहादुर श्रेष्ठ निमित्त प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा थिए ।

अनलाईनबाटै ट्राभल्स मेडिक्लेम बीमालेख लिन सकिने, सगरमाथा इन्स्योरेन्स र सस्तो टिकेट्सबीच भयाे सम्झौता

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र सस्तो टिकेट्स प्रालिले वैदेशिक भ्रमणमा जाने व्यक्तीहरुको सुविधालाई ध्यानमा राखी सुविधाअनुसार आफ्नो घर वा कार्यालयबाट नै अनलाईनमार्फत ट्राभल्स मेडिक्लेम बीमालेख लिन सक्ने व्यवस्था मिलाएको छ । दुई कम्पनी बीच हालै भएको सम्झौतामा बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सस्तो टिकेट्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सम्राट दाहालले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताअनुसार सस्तो टिकेट्सका ग्राहकहरुले सस्तो टिकेट्समार्फत एरलाईन्सको टिकेट लिने समयमानै आफूलाई आवश्यक पर्ने ट्राभल्स मेडिक्लेम बीमालेख लिन सक्नेछन् । उक्त बीमालेखले यात्राका क्रममा हुने बिमारीका कारण श्रृजित हुने आकस्मिक औषधोपचार खर्च, हस्पिललाईजेशन खर्च र व्यक्तीगत दुर्घटना बीमा जोखिम बहन गर्नेछ । सो बीमालेखमा अतिरिक्त बीमा शुल्क तिरेर ब्यागेज हराएमा वा ढिला आईपुगेमा वा पासपोर्ट मिसप्लेश भएको समेत जोखिमको रक्षावरण लिन सकिनेछ । ट्राभल्स मेडिक्लेम बीमालेख लिनका लागि सस्तो टिकेट्सको वेबसाईटमा उपलब्ध फर्म पूर्णरुपमा भरी बीमालेख लिने व्यक्तीको फोटो र पासपोर्ट अपलोड गरे पश्चात उक्त बीमालेख प्राप्त हुनेछ र बीमालेखको वेब कपि प्रिन्ट गरी लिन सकिनेछ । कुनै कारणबस बीमालेखमा संशोधन गर्नु परेमा वा बीमालेख रद्ध गर्नु परेमा भने सक्कल बीमालेख सहित बीमित स्वयम् वा प्रतिनिधिमार्फत इन्स्योरेन्सको नजिकैको शाखा कार्यालयमा उपस्थित हुनुपर्ने जानकारी दिँदै कम्पनीलाई डिजिटाईजेशन गर्दै लाने नीतिअनुसार बीमालेख विक्री गर्ने फरक अवधारणा ल्याईएकोे कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए ।