शिखर इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । असोज ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । इन्स्योरेन्सले सो वर्षको नाफाबाट लाभांश वितरण नगरी उक्त रकम जगेडा कोषमा जम्मा गर्ने जानकारी गराएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा ४७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ४५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। साथै, कम्पनीले आर्थिक वर्ष २०७५/७६ को बीमा समितिबाट जारी निर्जीवन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धि निर्देशन बमोजिमको वित्तीय विवरणहरु तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरु पारित गरी बीमा समितिमा पेश गर्ने बैठकले निर्णय गरको छ । साथै, आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणहरुको पनि सैद्धान्तिक स्विकृतीको लागि बीमा समितिसमक्ष पेश गर्ने सञ्चालक समितिले निर्णय गरेको छ । यससँगै, उक्त वित्तीय विवरणहरु बीमा समितिले स्वीकृत गरे पश्चात कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ दुबैको वार्षिक साधारण सभा सकेसम्म छिटो गर्ने जानकारी गराएकाे छ ।

शिखरमा पाण्डेलाई पुनः नियुक्तिको अनुमति माग्दै समितिमा पत्राचार

काठमाडौ । शिखर इन्स्योरेन्स कम्पनीको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा दीपप्रकाश पाण्डेले पुन नियुक्त गर्ने निर्णय गरेको छ । पाण्डेलाई पुनः नियुक्तिको अनुमति माग्दै कम्पनी संचालक समितिले नियामक निकाय बीमा समितिमा अनुमति माग्दै पत्राचार गरेको छ । कुनै पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियक्तिको अनुमति बीमा समितिले दिनुपर्छ । कम्पनी संचालक समितिले पुनः नियुक्त गर्ने निर्णय गरेर अनुमतिको लागि बीमा समितिमा पत्राचार भएको स्रोतले जानकारी दियो । स्याउ तथा साइट्रस प्रजातिका फलहरुको बीमा गराएर शिखर इन्स्योरेन्सले पछिल्लो समय चर्चा समेत कमाएको छ । यसको अवधारणा प्रमुख कार्यकारी अधिकृत पाण्डेले नै जन्माएका हुन् । पाण्डेकै कार्यकालमा शिखर इन्स्योरेन्स कम्पनी २० वटा निर्जीवन बीमा कम्पनीहरु मध्येमा धेरै वटा परिसूचकमा पहिलो समेत रहेको छ । पाण्डे नेपाल बीमक संघकाे अध्यक्ष समेत हुन् ।

बाबु सचिव, दाजु आर्मी, बीमा क्षेत्रमा यसरी पसे डिसिओ खत्री

काठमाडौं । मान्छेको आफ्नै सपना हुन्छन् । र, यस्तो सपना बाल्यकालदेखि नै सुरु हुन्छ । जस्तो कि कुनै बच्चालाई ठूलो भएर तिमी के बन्छौं भनेर सोध्यो भने उसले डाक्टर, इन्जिनियर, पाइलट वा आफूलाई लागेको कुरा बताइहाल्छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसिओ) सुरेशप्रसाद खत्रीको पनि बाल्यकालमा आफ्नै सपना र सोंच थियो । उनी आफैलाई भने नेपाली सेनामा भर्ना हुने सपना थियो । तर, सानैदेखि आर्मी बन्ने उदेश्य राखेका डिसिओ खत्री आर्मी बन्ने प्रयासमै लागेनन् । उनी नेशनल लाइफ इन्स्यारेन्समा आवद्ध हुन पुगे । उनको साहिलो दाइ पहिला नै सेनामा भर्ना भइसकेका थिए, जुन बेला डिसिओ खत्री आएस्सी सकेकै थिएनन् । एउटा छोरा आर्मी भइसकेकोले बुबाले उनलाई पनि आर्मी बनाउँन इच्छा देखाएनन् । सोही कारण उनी आर्मीको साटो बीमा क्षेत्रमा प्रवेश गरे । सामान्य हिसाबले घरमा मात्र रहदा छोराको समय त्यतिकै बर्बाद होला भनेर केही कामको खोजी हुँदा बीमा क्षेत्रमा उनी आइपुगेका हुन् । स्नातक तहसम्म कानुन विषय अध्ययन गरेका उनले रोगजारीका लागि २०५१ सालमा नेशनल लाइफ इन्स्योरेन्सका काम गर्न पुगे । त्यो समयमा उनलाई लामो समय बीमा क्षेत्रमा नै काम गर्छु भन्ने लागकै थिएन । तर, नेशनल लाइफ उनको लागि टर्निङ्ग पोइन्ट बन्न पुग्यो । उनले एउटै संस्थामा २५ वर्ष निरन्तर काम गरे । अहिले उनको उमेर ५० वर्ष पुगिसकेको छ । उनलाई बीमा क्षेत्रमा अहिले नयाँ पुस्ताको आकर्षण बढेको देख्दा खुसी लागेको छ । नेसनल लाइफमा नयाँ पुस्ताको आकर्षण देख्दा भने उनलाई झनै खुसी लागेको छ । किनकि नयाँ पुस्ताको जोस र पुराना व्यक्तिहरुको अनुभवको उचित संयोजन गर्न सकियो भने कम्पनी राम्रो हुन्छ भन्ने निष्कर्ष उनको छ । पारिवारिक पृष्ठभूमि काठमाडौकोे विशाल नगरमा स्थायी घर भएका डिसीओ खत्री आफ्ना पुर्खाहरुको उद्गम थलो भने बझाङ्ग जिल्लामा रहेको बताउँछन् । उनका बुवा नेपाल सरकारको सचिवबाट २०५४ सालमा अवकाश पाएका थिए । बुबा रिटायर्ड भएपश्चात उनको परिवारै काठमाडौँ बस्न थालेको हो । सानैदेखि नै बुबा–आमाको छत्रछायाँमा बस्ने अवसर उनले पाएका थिए । उनी नेपाली बोलिचालीको भाषामा प्रयोग गरिने खानदानी परिवारमै जन्मे हुर्केका थिए । उनका ४ जना दाजुभाइ तथा एक जना बहिनी छन् । सोमध्ये कोही दाइ इन्जिनियर, कोही दाइ डक्टर तथा कोही आर्मी भएका छन् । यस्तै, उनको बहिनी पनि डक्टर छिन् । आफ्नै परिवारका विभिन्न सदस्यहरुले विभिन्न पेशा व्यवसाय अगाल्दा आफू भने घरमा खाली बस्नुको सट्टा केही काम गरौं भनेर बीमा क्षेत्रमा लागेको उनी बताउँछन् । तर, संयोग के भयो भने उनले नेशनल लाइफ इन्स्योरेन्समा प्रवेश गरेर बीमा क्षेत्रमा पहिलो पाइला राखेको पनि २५ वर्ष (रजत वर्ष) पुगुन्जेल सोही कम्पनीमा निरन्तर काम गरिरहेका छन् । आफू निकै सक्रिय स्वभावको रहेको उनी बताउँछन् । कुनै दिन बिहान कसरत गर्न नपाएमा उनलाई त्यो दिन नै साह्रै अफ्ठयारो महशुस भइरहन्छ । नियमित साढे ५ देखि ६ बजेसम्म उठ्ने उनको तालिका नै हो । बिहान सिरक फ्याकेर उठ्न अल्छी मान्नेहरुको लागि उनको सक्रियता प्रेरणा पनि हुन सक्छ । हरेक बिहान उनले केही न केही खेलमा आफूलाई व्यस्त राख्छन् । उनले खेल्ने खेल शरिरलाई कसरत र मनोरञ्जन दुबै हुने किसीमका हुन्छन् । उनले टेबल–टेनिस, ब्याडमिन्टन जस्ता खेल नियमित खेल्ने गरेका छन् । उनको बाल्यकाल आर्थिक अभाव झेल्नु नपर्ने किसिमको पारिवारिक पृष्ठभूमिमा हुर्कियो । बसन्त भवनको पटांगिनी बाल्यकालमा साथी सँगीहरुसँग खेलेको उनलाई धेरै सम्झना आउँने गर्छ । बाल्यकालको सबैभन्दा धेरै स्मरणमा उनलाई विशालनगरको बसन्त भवन दरवारकै आउँने गरेको छ । त्यहाँ साथीहरुले बिहान बेलुका विभिन्न खेलहरु खेल्ने गरेको थिए । खेलमा उनको विषेश रुची अहिले पनि छदै छ । बसन्त भवन दरबारमा एउटा ठूलो पटांगीनी जस्तो रहेको उनी बताउँछन् । त्यहाँ साईकल सिकेको तथा फुटबल खेलेको उनले कहिल्यै नभुल्ने बताउँछन् । अहिले पनि उनले कहिलेकाही साईकल चलाउँने गर्छन् । साइकल चलाउँदा विगतको याद उनलाई आउँने गर्छ । बाल्यकालका चंचले, अहिले शान्त बाल्यकालमा उनी चंचल स्वभावका थिए । उनलाई आफूले निकै चकचक गरेको याद छ । तर अहिले उनी निकै शान्त छन् । उमेर, व्यवहार परिस्थीति र व्यवहारिक समस्याले आफूमा परिवर्तन ल्याउँदै गएको उनले बताए । नेशनल लाइफले दिएको सबैभन्दा ठूलो उपलब्धी नेशनल लाइफमा सबैभन्दा ठूलो कुरा उनले एउटा राम्रो तथा परिपक्क टिम पाए । एक्लै गर्न नसकेको काममा पनि टिम सहयोगी हुने उनको अनुभव छ । आफूभन्दा अग्रजहरुबाट जे जति कुरा सिक्ने अवसर पाए, त्यसलाई नै उनले नेशनल लाइफ भित्रिनुको सबैभन्दा ठूलो उपलब्धीको रुपमा लिएका छन् । आनीबानी आफूले फिजिकल काममा समय बिताउने गरेको र त्यो बानी आफैलाई मन पर्ने उनी बताउँछन् । अरुलाई धेरै विश्वास गर्ने उनको बानी छ । कहिलेकाँही यो बानीले अप्ठेरो पार्ने उनको अनुभव छ । नेशनल लाइफको चुनौति अहिलेको बीमा बजारमा प्रतिस्पर्धा धेरै छ । बजारमा एकसेएक कम्पनीहरु प्रतिस्पर्धामा छन् । यस्तो अवस्थामा आगामी दिनमा नेशनल लाइफले आफ्नो बर्चस्व तथा सवरासत जोगाइराख्नु नै चुनौति हो भन्ने उनलाई लागेको छ । कोरोना भाइरस महामारी पछिको अवस्था के कस्तो हुने होला भन्ने विश्वव्यापी चिन्ता नेसनल लाइफ इन्स्यारेन्सको हकमा पनि लागू हुने उनको भनाइ छ । जीवन बीमा नै किन ? जोखिम छ भनेर नै जीवन बीमा गर्ने हो । जोखिम जो कोहिलाई हुने भएकाले जीवन बीमा गर्न आवश्यक छ । जीवन बीमा धनी, गरिब तथा मध्यम सबै वर्गका मानिसहरुले गर्न आवश्यक रहेको उनले बताए । बीमा गरेको लाभ त्यही व्यक्तिले पाउँछ जसले बीमा गर्छ । सोही कारण जीवन बीमा गर्न आवश्यक पनि छ भन्ने उनको भनाइ छ । भविष्यको बारेमा चिन्ता हटाउन, पारिवारिक रुपमा ढुक्क हुन तथा एक किसिमले आफूलाई सुरक्षित रहन जीबन बीमा नै एक उत्तम विकल्प रहेको उनले सुनाए ।