जनरल इन्स्योरेन्सको आईपीओ भर्न पिन कोड अनिवार्य चाहिने, कसरी लिने ?

काठमाडौं । जनरल इन्स्योरेन्सले निष्कासन गर्न लागेकाे प्राथमिक सेयर(आईपीओ)मा आवेदन दिन पिन कोड चाहिने भएको छ । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)ले नयाँ व्यवस्था गरेसँगै ‘मेरो सेयर’ सफ्टवेयरबाट आईपीओ भर्न अब पिन कोड चाहिने भएको हो । यसअघि मेरो सेयर प्रयोगकर्ताले सार्वजनिक निष्काशन भएका धितोपत्र खरिदको लागि आवेदन दिँदा वान टाइम पासवर्डको प्रयोग गर्नुपर्ने थियो । त्यसको सट्टामा सीडीएसले हालै मात्रै अनिवार्य रुपमा पिन कोड प्रयोग गर्नुपर्ने व्यवस्था गरेको हो । यो व्यवस्था लागू भएपछि पहिलो पटक जनरल इन्स्योरेन्सको सेयर जारी हुँदै छ । इन्स्योरेन्सको असोज ११ गतेदेखि ३० करोड रुपैयाँ बराबरको सेयर निष्काशन हुँदै छ । जसको लागि इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । उक्त सेयरमा ‘मेरो सेयर’ मार्फत आवेदन दिँदा अनिवार्य रूपमा पिन कोड चाहिने भएको छ । त्यसकाे लागि ‘मेराे सेयर’ प्रयाेगकर्ताले पहिले पिन नम्बर सेट गर्नुपर्ने हुन्छ । कसरी लिने पिन काेड ? पिन काेड ‘मेराे सेयर’ प्रयाेगकर्ता तथा लगानीकर्ता आफैले सेट गर्न सक्नेछन् । जसकाे लागि सर्वप्रथम मेरो सेयर प्रयोगकर्ताले ‘मेरो सेयर’ एप अर्थात ब्राउजर मार्फत ‘मेरो सेयर’ पोर्टलमा गई लग इन गर्नुपर्ने छ । ४ डिजिटको उक्त पिन कोड सेट गर्नको लागि प्रयोगकर्ताले मेरो सेयरमा पहिलो पटक लगइन गर्दा अनिवार्य पिन कोड सेट गर्नुपर्ने व्यवस्था रहेको छ । मेरो सेयर लगइन गर्दा युजरनेम, पासवर्ड राखेर लगइन गरेपछि पीन कोड हाल्ने अप्सन आउँछ । जुन तलको तस्विरमा देखाए जस्तै स्क्रिन देख्न सकिनेछ । जसमा उनीहरु आफैले ट्रान्सएक्सन पिन कोड सेट अप गर्नुपर्ने हुन्छ । तस्विरमा देखिएको ‘न्यु ट्रान्सएक्सन पिन’ बक्समा ४ डिजिट (अंक) को कोड राख्नुपर्ने हुन्छ । त्यससँगै तल रहेको कन्फर्म ट्रान्सएक्सन पिन भनिएको बक्समा अघि राखेको पिन कोड जस्ताको तस्तै राख्नुपर्ने हुन्छ । त्यसपछि माथि देखाइएकाे जस्तै  प्रोसिडको अप्सनमा क्लिक गरेपछि सोहि ब्राउजरको तल पटिको दाहिने कुनामा हरियो रङ्को ब्याकग्राउण्डमा पिन सेट भएको म्यासेज आउँछ । उक्त म्यासेज आएपछि प्रयोगकर्ताले पुनः मेरो सेयरमा लगइन गर्नु पर्ने छ । साथै, प्रयाेगकर्ताले उक्त पिन कसैलाई पनि सेयर गर्नुहुँदैन यानिकी गाेप्य राख्नु पर्ने छ । सेट गरिसकेको पिन कोड परिवर्तन गर्न मिल्छ कि मिल्दैन ? पिन कोड सेट गरिसकेपछि त्यसलाई परिवर्तन पनि गर्न सकिन्छ । जसको लागि मेरो सेयर लगइन गरेपछि देखिने स्क्रिनको राइट साइटको माथिल्लो कुनामा देखिएको आफ्नो नाममा क्लिक गर्नु पर्ने हुन्छ । त्यसपछि ‘वोन प्रोफाइल’, ‘चेञ्ज पासवर्ड’, ‘चेञ्ज ट्रान्सएक्सन पिन’ र ‘एक्टिभिटी लग’ भन्ने चार वटा अप्सन देखिन्छ । जसमध्ये पिन परिवर्तन गर्न चाहने प्रयोगकर्ताले ‘चेञ्ज ट्रान्सएक्सन पिन’ भन्नेमा क्लिक गर्नुपर्ने छ । त्यसपछि तलको तस्विरमा रहेको देखाइएको जस्तो स्क्रिन देखिन्छ । यससँगै, उक्त स्क्रिनमा देखिएको जस्तै प्रयोगकर्ताले ‘इन्टर याेर पासवर्ड ‘ भन्नेमा आफ्नाे पासवर्ड राख्नुपर्ने हुन्छ । त्यसपछि तलको ‘न्यु ट्रान्सएक्सन पिन’ मा नयाँ कोड अर्थात ४ डिजिटको अंक राख्नुपर्छ । र, सोही पिन तल्लो ‘कन्फ्रम ट्रान्सएक्सन पिन’ मागेको ठाउँमा जस्ताको जस्तै राखी ‘चेञ्ज ट्रान्सएक्सन पिन’ भन्ने बटनमा क्लिक गरेपछि पुरानो पिन कोड परिवर्तन हुन्छ । र, तल पटिको दाहिने कुनामा तल तस्विरमा देखाइएकाे जस्तै हरियो रङ्को ब्याकग्राउण्डमा पिन परिवर्तन भएको म्यासेज आउँछ । यसअघि मेरो सेयर सफ्टवेयरमा रहेको माई आश्वा मार्फत सार्वजनिक निष्काशन भएका सेयर आवेदन प्रविष्टि गर्दा वान टाइम पासवर्ड (ओटीपी) प्रयोग गर्नुपर्ने थियो । उक्त सेवालाई प्रतिस्थापन गरी सो को सट्टामा पर्सनल आईडेन्टीफिकेसन नम्बर(पीआईएन) कोडको व्यवस्था गरेको सीडीएससीले जानकारी गराएको छ । त्यसमा लगानीकर्ताले आफुले राखेकाे ४ डिजिटकाे पिन काेड राख्नु पर्ने हुन्छ । ‘मेरो सेयर’ सफ्टवेयरलाई थप सुरक्षित बनाउने उद्देश्यले सीडीएससीले याे नयाँ व्यवस्थाले लागू गरेकाे हाे । यसअघि प्रयाेग भइरहेकाे वान टाइम पासवर्ड (ओटीपी) ले बढी लाेड दिने भएकाे र सुरक्षाकाे हिसाबले पनि उपयुक्त नहुने भएकाेले याे पीन काेडकाे व्यवस्था गरिएकाे प्रमुख कार्यकारी अधिकृत(सीईओ) पूर्णप्रसाद आचार्यले बताए । मेरो सेयरमा पिनकोड सेट गर्दा उक्त कोड युजरको वेभ ब्राउजरले पासवर्डको रूपमा लिने भएकाले सो पिनकोड परिवर्तन गर्दा वा नयाँ सेट गर्दा सो पिनकोडलाई आफ्नो ब्राउजरमा सेभ नगर्न सीडीएससीले बताएको छ । यदी उक्त पिनकोड सेट गरिसकेपछी मेरो सेयर लगईन गर्दा ब्राउजरमा सेभ भएको पासवर्डले काम नगरेमा ब्राउजरमा सेभ भएको पासवर्ड प्रयोग नगरी आफैले पासवर्ड टाइप गरी मेरो सेयर लगनइन गर्न संस्थाले जानकारी गराएको छ । सम्बन्धित समाचारः जनरल इन्स्योरेन्सकाे आईपीओ भाेलिदेखि भर्न पाइने

जनरल इन्स्योरेन्सकाे आईपीओ भाेलिदेखि भर्न पाइने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले निष्काशन गर्न लागेको प्राथमिक सेयर (आईपीओ)मा भोलि (असोज ११ गते)देखि आवेदन दिन पाइने भएको छ । कम्पनीले भोलिदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले गत भदौ २५ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको थियो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १४ गते बैंकिङ समय पश्चात हुने छ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०४.०२ रुपैयाँ र प्रतिसेयर आम्दानी २.२५ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ११५.९ रुपैयाँ र १७.३८ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।

सानिमा लाइफको सीईओमा मुखिया, तीन विश्वविद्यालयबाट मास्टर्स, नयाँ प्रडक्टमा विशेष दख्खल

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया नियुक्त भएका छन् । मुखियालाई बीमा समितिले शुक्रबार नियुक्तीका लागि स्विकृति दिएको हो । बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्नको लागि बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले स्वीकृति दिनुपर्ने कानुनी व्यवस्था छ । मुखिया रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीमा डेपुटी सिइओको रुपमा रहेका थिए । प्रमुख कार्यकारी अधिकृत पदमा उनले ४ वर्षका लागि नियुक्ती पाएका हुन् । सानिमा लाइफमा सीईओ पद खाली थियो । कम्पनी २०७४ सालमा संचालनमा आएको भएपनि महाप्रबन्धकको रुपमा शिवराम तिमिल्सिनाले व्यवस्थापनको नेतृत्व गरिरहेका थिए । मुखियाले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय गरी ३ विश्वविद्यालयबाट स्नातकोत्तर तह (मास्टर्स डिग्री) गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्समा, काठमाडौं विश्वविद्यालयबाट म्यानेजमेन्टमा र पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेसन विषयमा मास्टर्स गरेका हुन् । नेपाल लाइफ इन्स्यारेन्स कम्पनीमा १० वर्ष काम गरेका मुखिया सो कम्पनीको एसिस्टेन्ट जनरल म्यानेजरको जिम्मेवारीमै रहेकै बेला रिलायवल लाइफ इन्स्यारेन्स कम्पनीको डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा गएका थिए । बीमा क्षेत्रमा करिब १५ वर्ष काम गरेको अनुभव भएका मुखिया बीमा बजारमा नयाँ नयाँ प्रडक्ट ल्याउनेमा खास दख्खद राख्ने व्यक्तिका रुपमा परिचित छन् । उनले अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) मा प्रोजेक्ट कन्सल्ट्यान्टको रुपमा पनि काम गरेको अनुभव संगालेका छन् ।