मोटर बीमाको तेश्रो पक्ष बीमा पुल सञ्चालनमा, सीईओ अर्यालले उद्घाटन गरे भक्तपुरकाे उपशाखा
काठमाडाैं । नेपाल बीमक संघले मोटर बीमाको तेश्रो पक्ष बीमा पुल सञ्चालनमा ल्याएको छ । मोटर बीमा अन्तर्गत तेश्रो पक्ष बीमालेख जारी गर्दा देखिएका विसंगति तथा विकृतिलाई व्यवस्थित तथा बीमा व्यवसायलाई मर्यादित बनाउने अभिप्रायले संघले उक्त बीमा पुल सञ्चालनमा ल्याएकाे हाे । नेपालमा कार्यरत २० वटै निर्जीवन बीमा कम्पनीहरु मार्फत समानुपातिक तवरबाट व्यवसाय गर्ने निर्णय भएबमोजिम यस कम्पनीलाई भक्तपुर, विरगञ्ज र पाल्पा स्थित यातायात कार्यालय नजिक विस्तारित काउण्टर/उप शाखामार्फत तेश्रो पक्ष बीमालेख जारी गर्ने जिम्मेवारी रहेको छ । यसै सन्दर्भमा आश्विन ११ गते भक्तपुरमा उप शाखा कार्यालय संचालनमा ल्याइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले उक्त उपशाखाको उद्घाटन गर्दै सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनी मार्फत यातायात कार्यालयमा तेश्रोपक्ष बीमा गर्न आउने सेवाग्राहीहरुको लागि चुस्त, दुरुस्त, छिटो र उच्च स्तरको सेवा प्रवाह हुने बताए । साथै, उक्त कार्यक्रममा कम्पनीको उक्त उपशाखाबाट तेश्रोपक्ष बीमालेख खरिद गर्ने पहिलो ग्राहकलाई प्रमुख कार्यकारी अधिकृतको हस्तक्षरित बीमालेख समेत हस्तान्तरण गरिएको थियो । कोभिड १९ का कारण कम्पनीले औपचारिक कार्यक्रम आयोजना गर्न नसकेतापनी उक्त कार्यक्रममा कम्पनीका उच्च पदस्त कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
शिखर इन्स्योरेन्सको सीईओमा पाण्डेको निरन्तरता, समितिले दियाे सहमति
काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीप्रकाश पाण्डेलाई नियुक्त गर्ने सञ्चालक समितिकाे प्रस्ताव बीमा समितिले स्वीकृत गरेकाे छ । गत विहीबार बीमा समितिले पाण्डेको नियुक्तीमा सहमति दिएको सम्बद्ध स्रोतले बतायो । दुई साताअघि शिखर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले उनलाई पुनः चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न बीमा समितिसँग सहमति मागेको थियो । बीमा समितिको सहमति पत्र शिखर इन्स्योरेन्स कम्पनीले आइतबार प्राप्त गरेको छ । नेपाल बीमक संघकाे अध्यक्ष समेत रहेका पाण्डेकाे पुर्न नियुक्तीको विषय बीमा क्षेत्रमा निकै चासोको विषय बनेको थियो । भारतको सेन्ट जेभियर कलेजबाट विविएस र त्रिभुव विश्वविद्यालयबाट एमबीए गरेका पाण्डेले एभरेष्ट र शिखर इन्स्योरेन्समा गरि २५ वर्ष काम गरेका छन् । २०६१ सालमा स्थापना भएको शिखर इन्स्योरेन्स कम्पनीको व्यवस्थापकीय नेतृत्व गर्दै आएका पाण्डे १२ वर्षसम्म स्थायी कर्मचारी भएर काम गरेका थिए । बीमकको संस्थागत सुशासन निर्देशिकाले बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत करारमा मात्र नियुक्त हुनु पर्ने व्यवस्था गरिएपछि उनी २०७३ सालदेखि शिखरमा करारमा नियुक्त छन् । ‘शिखर इन्स्योरेन्सले पुँजी वृद्धि गर्दा लगानीकर्तासँग गरेको प्रतिवद्धता अनुसार हामी काम गछौं’ पाण्डेले विकासन्युसँग भने–‘नयाँ प्रडक्टहरु ल्याउने, प्रविधिको अधिकतम प्रयोग गर्दै सर्वसाधारणमा बीमाको पहुँच पुर्याउने काम गर्नुछ । समग्र बीमा क्षेत्रलाई गरिमा र प्रतिष्ठा माथि लैजान विगतमा भन्दा राम्रो भूमिका खेल्ने प्रयास गर्छु ।’ सम्बन्धित समाचार दीपप्रकाश पाण्डेको के गल्ती ?
जनरल इन्स्योरेन्सको आईपीओमा ५.३९ गुणा बढी आवेदन, कतिले भरे सेयर ?
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा मागभन्दा ५.३९ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईबीएलएस क्यापिटलका अनुसार साँझ ५ बजेसम्ममा ५ लाख १७ हजार ६ सय १३ जना आवेदकले एक करोड ४७ लाख १५ हजार ८ सय ७० कित्ता सेयरको लागि आवेदन दिएका छन् । कम्पनीले आइतबार (असोज ११ गते) बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको हो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । उक्त सेयरमा आवेदन दिन पिन कोड अनिवार्य चाहिने भएको छ । जनरल इन्स्योरेन्सको आईपीओ भर्न पिन कोड अनिवार्य चाहिने, कसरी लिने ? आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १४ गते बैंकिङ समय पश्चात हुने छ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०४.०२ रुपैयाँ र प्रतिसेयर आम्दानी २.२५ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ११५.९ रुपैयाँ र १७.३८ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।