सन नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८० रुपैयाँसम्म दिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लागि जीवन बीमा कोषको बिमांकीय मूल्याङ्कनका आधारमा नयाँ बोनसदर घोषणा गरेको हो ।  कम्पनीको आर्थिक वर्ष २०८०/८१ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट असार १५ स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम गरिएको हो । यससँगै कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार २३ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८० रुपैयाँसम्म बोनस दर तोकेको छ । सनलाइफ सावधिक जीवन बीमालेखमा ० देखि १९ वर्ष अवधिको प्रतिहजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५२ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ, ३० वर्षभन्दा माथि अवधिको प्रतिहजार ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।  भाग्योदय जीवन बीमालेख र बाल समृद्ध जीवन बीमालेखमा ० देखि १९ वर्ष अवधिको प्रतिहजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५२ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ बोनसदर तोकिएको छ ।  सावधिक सुनौलो जीवन बीमा र सुनौलो बाल समृद्धि जीवन बीमामा ० देखि १९ वर्ष अवधिका प्रतिहजार ३० रुपैयाँ र २० वर्षदेखि माथि अवधिको ५२ रुपैयाँ बोनसदर कायम गरेको छ । नवीन आजीवन जीवन बीमा योजना ० देखि १९ वर्ष अवधिको प्रतिहजार ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ६२ रुपैयाँ, २५ वर्षदेखि माथि अवधिको प्रतिहजार ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यस्तै, १५ वर्षे सार्थक आजीवन जीवन बीमालेखमा सबै बीमा अवधिमा प्रतिहजार ३९ रुपैयाँ, धनधान्य जीवन बीमालेखमा ० देखि १९ वर्ष अवधिको प्रतिहजार २३ रुपैयाँ र २० वर्षभन्दा माथि अवधिको प्रतिहजार २५ रुपैयाँ, धनलक्ष्मी बीमा योजनामा ० देखि १९ वर्ष अवधिको प्रतिहजार २३ रुपैयाँ, धनञ्जय जीवन बीमा योजना र नव धनलक्ष्मी जीवन बीमालेखमा ० देखि १४ वर्ष अवधिको प्रतिहजार २३ रुपैयाँ, २० वर्षदेखि माथि अवधिको प्रतिहजार २५ रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।

साउन १ देखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने, नागरिकले सहजै सुविधा लिनसक्ने

काठमाडौं । साउन १ देखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले सामुदायिक तथा निजी सबै स्वास्थ्य संस्थाहरुलाई परिपत्र गर्दै रिफरको व्यवस्था हटाइएको जानकारी दिएको हो ।   स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेको थियो । बोर्डकाअनुसार  प्रथम सेवा विन्दुको रुपमा नराख्ने निर्णय भएकाले २०८२ श्रावण १ गतेबाट रिफरको सिस्टम हटाइएको छ ।  बोर्डले सबै स्वास्थ्य संस्थालाई गरेको परिपत्रमा भनिएको छ– 'उपरोक्त सम्बन्धमा स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (५) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेकाले मिति २०८२ श्रावन १ गतेबाट उक्त संस्था प्रथम सेवा विन्दुको रुपमा नरहने व्यहोरा निर्णयानुसार (कार्यकारी निर्देशकस्तर) अनुरोध छ ।' प्रदिप पौडेल स्वास्थ्य मन्त्री भएर आएदेखि नै स्वास्थ्य बिमा सुधारका लागि उनले पहल गर्दै आएका छन् । खासगरी उनकै अग्रसरतामा एक उच्चस्तरीय संयन्त्र बनाइएको थियो । सोही संयन्त्रले दिएको सुझावका आधारमा स्वास्थ्य बीमामा रिर्फरको सिस्टम हटाइएको छ ।  पौडेलले स्वास्थ्य बीमा संकटमा रहेको औल्याउँदै बुढिगण्डकीमा लिएजस्तै पेट्रोल, डिजेल, ग्यास तथा रिचार्ज कार्डमा लाग्ने करबाट थोरै लिएर बीमा कोषमा जाने व्यवस्था गर्नुपर्ने बताउँदै आएका छन् । उनकाअनुसार मालपोतदेखि अन्य लगाइएका करबाट थोरै प्रतिशत कोषमा जाने व्यवस्था गर्नुपर्छ ।  

सन नेपाल लाइफको एएमएलरसीएफटी सम्बन्धी विशेष तालिम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले ‘मनी लन्डरिङ तथा आतंकवादी गतिविधिमा वित्तीय सहयोग (एएमएलरसीएफटी)’ सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सन नेपालले विद्यमान कानुनी मापदण्ड र नियमनकारी निकायको निर्देशनलाई ध्यानमा राख्दै यो प्रशिक्षणको आयोजना गरेको हो । उक्त प्रशिक्षण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाईंसहित विभिन्न विभागीय प्रमुख, प्रदेश प्रमुख तथा वरिष्ठ व्यवस्थापकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीका कानुनी विभाग प्रमुख सुवास भण्डारीले एएमएलरसीएफटी सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणमा एएमएलरसीएफटी ऐनका प्रमुख प्रावधानहरू, रिपोर्टिङ दायित्व, वित्तीय सूचना इकाइ (एफआईयू) को भूमिका तथा बीमा कम्पनीहरूमा लागू हुने नीतिगत र व्यवहारिक पक्षहरूबारे व्यापक छलफल गरिएको थियो।   ब्रान्ड विभागसहित सबै विभागले नियामक निकायको मापदण्डअनुसार कार्य गर्नुपर्ने स्पष्ट सन्देश यस तालिमले दिएको कम्पनीको भनाइ छ ।