रसुवामा आएको बाढीले क्षति हुँदा बीमा दावी १ अर्ब रुपैयाँ पुग्यो, कुन कम्पनीमा कति ?
काठमाडौं । गत असार २३ गते रसुवामा अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी १ अर्ब रुपैयाँ परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार साउन २२ गतेसम्म कुल ७८ बीमा दाबी बापत ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ माग गरिएको हो । त्यसमा ६ वटा सम्पत्ति बीमा, ९ वटा सामुद्रिक बीमा, ५ वटा इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा, १६ वटा मोटर बीमा (निजी) र ४२ वटा मोटर बीमा (सार्वजनिक) दाबी परेको छ । प्राधिकरणका अनुसार हिमालयन एभरेष्टमा ५५ करोड रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड ९६ लाख ३० हजार रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनी ८ करोड ७३ लाख रुपैयाँ र सानिमा जिआइसीमा ६ करोड ८४ लाख ८२ हजार रुपैयाँ बराबरको बीमा दाबी भएको छ । प्राधिकरणका अनुसार नेको इन्स्योरेन्स ५ करोड ६७ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ करोड ६५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा ९१ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी ७६ लाख ७० हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीमा ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्स २८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । लेहेन्दे खोलामा आएको बाढीका कारण नेपाल-चीन सीमामा रहेको मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरी राखिएका सवारीसाधन बगाएको थियो । यस्तै, रसुवागढी हाइड्रो पावरलगायत संरचनामा समेत बाढीले क्षति पुगेको थियो ।
सानिमा रिलायन्स र नारायणी सामुदायिक हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
चितवन । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र नारायणी सामुदायिक हस्पिटल चितवनबीच स्वास्थ्य उपचार सेवामा सहुलियतसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा. भक्तमान श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आवद्ध, बीमित, अभिकर्ता, कर्मचारीहरूले उपचारमा १० प्रतिशतसम्म सहुलियतको व्यवस्थासहित सम्झौता भएको कम्पनी क्षेत्र प्रबन्धक इशा प्रधानले जानकारी दिइन् । इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरी स्वास्थ्य सहुलियत दिन पाउँदा अस्पताल प्रशासन खुसी रहेको र आवश्यकता अनुसार थप सहयोग गर्न सकिने अध्यक्ष डा. भक्तमान श्रेष्ठले बताए । सम्झौता हस्ताक्षर गरेकै मितिबाट लागू भई दुई वर्ष अवधिसम्म कामय हुनेछ ।
नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न
काठमाडौं । ‘रिडिफाइनिङ सक्सेस’ भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरूलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसायसँग सम्वन्धित वर्तमान पाटोबारे विवेचनागरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । सम्मेलन कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको थियो । सम्मेलनमा विभागिय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारी गरी १५० जना भन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनमा सहभागि हुनुभएका कर्मचारीहरूलाई व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै पूर्वबैंकर अनिलकेशरी शाहले नेतृत्व विकास सम्बन्धमा तालिम दिएका थिए । यसैगरी नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले सम्पत्ति शुद्धिकरण सम्वन्धमा प्रशिक्षण प्रदान गर्दै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ति शुद्धिकरण गर्ने कार्य बढ्दै गएकोले यस तर्फ सचेत रहन आग्रह गरे । सम्मेलनमा आव २०८१/८२ मा उत्कृष्ट ठहरिएका शाखा कार्यालयलगायत वार्षिक लक्ष्य पुरा गर्ने शाखा कार्यालय र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए ।