मधेसमा स्वास्थ्य बीमा गराउने साढे ७ लाखभन्दा बढी

धनुषा । मधेस प्रदेशमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । सरकारले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउन ल्याएको यस कार्यक्रमअन्तर्गत यही साउन १६ गतेसम्म प्रदेशका आठै जिल्लाबाट सात लाख ७९ हजार दुई सय ६५ जनाले स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा बोर्डका मधेस प्रदेश संयोजक रामेन्द्रप्रसाद कुशवाहाले जानकारी दिए । यससँगै प्रदेशमा बीमा गराउनेको सङ्ख्या करिब १३ प्रतिशत पुगेको छ । मधेस प्रदेशमा राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार ६१ लाख १४ हजार छ सय कूल जनसङ्ख्या रहेको छ । उनले स्थानीय तह तथा प्रदेश सरकारसँग समन्वय गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको बताए ।  प्रदेश सरकारको आर्थिक सहयोगमा मधेसका सहिद परिवारलाई निःशुल्क बीमा गरिएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको रु ४० लाखले  केही सहिद परिवारलाई बीमामा आबद्ध गरिएको उनले बताए । सबै सहिद परिवारको पहिचान गर्न नसकिएर, ठेगाना यकिन गर्न नसकेर र कतिपय परिवार बसाइसराइ गरेर गएकाले पूर्ण रूपमा सहिद परिवारलाई बीमामा समावेश गर्न कठिन भएको उनको भनाइ छ ।  उनका अनुसार सरकारले सञ्चालनमा ल्याएका आधारभूत अस्पताललाई बीमा सेवाअन्तर्गत ल्याउने प्रयास भइरहेको छ । साथै, क्यान्सर, मुटु रोग, डायलासिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी जस्ता जटिल रोगका बिरामीका लागि प्रमाणको आधारमा थप रु एक लाखको बीमा सीमा थप गरिएको छ ।  नियमित नवीकरण गरिएकामा भुक्तानी शुल्कमा सहुलियत व्यवस्था पनि गरिएको छ । मधेस प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रम २०७३ सालदेखि सुरु भएको हो भने २०७५ सालबाट आठ वटै जिल्लामा विस्तार गरिएको थियो ।  बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीलाई घरदैलोमै पठाएर नागरिकलाई बीमामा सहभागी गराउने अभियानमा रहेको प्रदेश संयोजक कुशवाहाले जानकारी दिए । रासस  

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ओम हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच सम्झौता भएको छ ।  सम्झौताअनुसार बीमित, अभिकर्ता तथा कर्मचारीलाई अब ओम हस्पिटलमा उपचार सेवा लिँदा १० प्रतिशत छुट प्राप्त हुनेछ ।  साथै हेल्थ चेकअप प्याकेजमा विशेष सहुलियत दिइने आईएमई लाइफ इन्सोरेन्सले जनाएको छ ।  उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (आईएमई लाइफ मोबाइल एप) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् । अभिकर्ता तथा कर्मचारीले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुट सुविधाको लाभ लिन सक्ने छन् ।

राष्ट्रिय बीमा कम्पनीको नाफा ४४ करोड, १ अर्ब ३७ करोड बीमाशुल्क

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत वर्ष ४४ कराेड रूपैयाँ खुद नाफा गरेकाे छ । कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ४४ करोड रुपैयाँ खुद नाफा गरेको हाे । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ३७ करोड बीमा शुल्क आर्जन गरेको जनाएकाे छ । कम्पनीका अनुसार खुद सम्पत्ति १७ अर्ब रूपैयाँ पुगेकाे छ ।  गत असारसम्म कम्पनीकाे प्रतिसेयर बुक भ्यालु ६ हजार ३७५ रुपैयाँ रहेको छ । त्यसैगरी प्रतिसेयर आम्दानी (ईपीएस) १६२ रुपैयाँ रहेको छ भने सोल्भेन्सी मार्जिन २.७३ गुणा रहेको छ । चुक्ता पुँजी २६ करोड ६६ लाख ४९ हजार ५९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।