जलविद्युत बीमाका चुनौती विषयमा इप्पान, बीमक संघ र पुनर्बीमा कम्पनीबीच छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, इप्पान नेपाल, बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग छलफल सम्पन्न भएको छ । जलविद्युत क्षेत्रको बीमाका सम्बन्धमा देखिएका समस्या एवम् चुनौतीहरू, इप्पानले उठाएका विषय र त्यस सम्बन्धमा नेपाल बीमक संघ तथा पुनर्बीमकहरूको धारणा लगायतका विषयमा छलफल गरी समाधान पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले जलविद्युत क्षेत्रको बीमामा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्दै सेवालाई दिगो एवं राम्रो बनाउने र लागत न्यून गर्ने सन्दर्भमा पहल सुरु गरिएको बताए । कार्यकारी निर्देशक सुवेदीले इप्पानले उठाएका जलविद्युत क्षेत्रको बीमा सम्बन्धी विषयहरूलाई प्राधिकरणले गम्भीर रूपमा लिएको उल्लेख गर्दै जलविद्युत र बीमा, व्यवसाय सँगसँगै सेवा पनि भएकाले यस सम्बन्धी समस्याको समाधानका लागि सन्तुलित विन्दु खोज्नुपर्ने र हाम्रो देशको जस्तै सामाजिक तथा आर्थिक परिवेश भएका र जलविद्युत विकास गर्दै आएका अन्य देशहरूको अभ्यास समेतलाई हेर्नुपर्ने आवश्यकता औंल्याए । कार्यकारी निर्देशक सुवेदीले जलविद्युत क्षेत्रको छुट्टै बीमालेख निर्माण, बीमा सचेतना अभिवृद्धि र जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समस्याहरूको समाधानका लागि आन्तरिक संयन्त्रलाई सबल बनाउनका लागि प्राधिकरणले पहल गर्ने जानकारी दिए । नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले जलविद्युत क्षेत्रको बीमामा देखिएका समस्या एवम् चुनौतीहरूको समाधानका लागि सम्बद्ध सरोकारवालाहरूबाट सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा इप्पानका पदाधिकारीहरूले जलविद्युत क्षेत्रको बीमाको प्रिमियममा हाल कायम रहेको बीमादरको व्यवस्था हटाउनुपर्ने, खुला बजार अर्थतन्त्रमा माग र आपूर्तिका आधारमा बजारले नै बीमादर निर्धारण गर्ने व्यवस्था गर्नुपर्ने, जलविद्युत क्षेत्रको छुट्टै बीमालेख निर्माण गर्नुपर्ने लगायतका धारणा राखेका थिए । कार्यक्रममा नेपाल बीमक संघका पदाधिकारीहरू र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले नेपालमा जलविद्युत क्षेत्रमा अत्यधिक जोखिम भएको भन्दै अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूले जलविद्युत क्षेत्रको बीमाको पुनर्बीमा गर्न नमानेको, अत्यधिक जोखिमका कारण स्वदेशी पुनर्बीमकले पनि कतिपय अवस्थामा पुनर्बीमा गर्न नसकेको, जोखिम बढेसँगै प्रिमियम नबढेमा आगामी दिनमा जलविद्युत क्षेत्रको पुनर्बीमा नै गर्न नसक्ने अवस्था आउनक्ने देखिएको, जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समस्याहरू समाधान गर्दै अघि बढ्न जलविद्युत क्षेत्रको छुट्टै बीमालेख निर्माण र सम्बद्ध सबैको सहभागितामा जलविद्युत क्षेत्रको बीमापुल बनाउनु आवश्यक रहेको लगायतका विचार व्यक्त गरेका थिए । कार्यक्रममा इप्पानका पदाधिकारीहरू, नेपाल बीमक संघका पदाधिकारीहरू र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।
अभिकर्ताको क्षमता विकासमा सूर्यज्योति लाइफको फोकस, स्टार एजेन्सी मिट सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘स्टार एजेन्सी मिट २०८२ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीका उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा नगरकोटमा रहेको होटल मिस्टिक माउण्टेनमा साउन १८ र १९ गते सहित दुई दिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका अध्यक्ष, केशव प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृत, प्रकाश बिक्रम खत्री लगाएत कम्पनीका उच्च व्यवस्थापनका कर्मचारीहरू र उत्कृष्ट कार्यसम्पादन गर्ने स्टार एजेन्सी म्यानेजर र चिफ एजेन्सी म्यानेजरहरूको उपस्थिति रहेको थियो । सूर्यज्योति लाइफले आफ्ना अभिकर्ताहरूको सीप तथा क्षमता अभिवृद्धि गर्नका लागि समय समयमा सीप तथा उत्प्रेरणा मूलक तालिमहरूको आयोजना गर्दै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कारोबार गर्न सफल भएका देशभरीका सर्वोत्कृष्ट एजेन्सीहरुलाई उक्त अवसरमा कम्पनीका चिफ बिजनेश अफिसर, फर्सुराम मरासिनीले 'व्यवसायिक समिक्षा र भावी रणनीति', चिफ बिजनेश अपरेशन, राजिव गुर्बाचार्यले जीवन बीमा व्यवसायको बृहत तालिम र तालिम तथा बिकाश विभाग प्रमुख, उत्तम आचार्यले एजेन्सी संरचना सम्बन्धि बृहत तालिम प्रदान गरेका थिए। यस किसिमिका सीपमूलक तालिम पश्चात अभिकर्ताहरुले आवश्यक योजना र रणनीति सम्बन्धि मार्गदर्शन पूर्ण रुपमा प्राप्त गरेको बताए । उक्त अवसरमा कम्पनीका अध्यक्ष भट्टराईले अभिकर्ताहरूको क्षमता अभिवृद्धिका लागि कम्पनी सदैव प्रयत्नशील रहेको साथै अभिकर्ताहरूको मेहनत,लगन र सकारात्मक व्यवसायिक गतिविधिले गर्दा नै सूर्यज्योति निरन्तर लक्ष्य हासिल गर्दै अघि बढिरहेको जसको सम्पूर्ण श्रेय अभिकर्ताहरुलाई नै जाने कुरा अध्यक्ष भट्टराईले व्यक्त गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनीका रूपमा स्थापित गर्नका लागि ३ मूलमन्त्र अवलम्बन गर्नुपर्ने जसमा अभिकर्ताहरूले आफ्नो टिम विस्तार गर्नु, कर्मचारीहरूले उत्कृष्ट सेवा उपलब्ध गराउनु र कम्पनीले बीमितहरूका लागि दरिलो विश्वास दिलाएर अघि बढेको खण्डमा सफलता अवश्य हासिल हुने कुरा प्रस्ट पारे । बीमित तथा अभिकर्ताहरुको सरल र सहजताका लागि नयाँनयाँ प्रविधिमैत्री सेवा विस्तार गर्दै लगेको र यसै अन्तर्गतको सूर्यज्योति ‘मोबाइल एप अभिकर्ता र बीमितहरूका लागि एकदमै उपयोगी भएको प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २ दिने वार्षिक समिक्षा तथा चालु आर्थिक वर्षको रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठी यही श्रावण १६ र १७ गते काठमाडौंस्थित होटल रोयल भिल्ला शिवपुरीमा आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, महाप्रवन्धक, विभिन्न विभागका प्रमुखहरू, तथा देशभरका शाखा प्रवन्धकहरूको सक्रिय सहभागिता रहेको थियो । गोष्ठीमा कम्पनीले आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण प्रस्तुत गर्दै, हासिल गरिएका उपलब्धिहरूको समिक्षा गरिएको थियो। साथै, चालु आर्थिक वर्ष २०८२/८३ का लागि तय गरिएका रणनीतिहरू र लक्ष्यहरू सम्बन्धमा विस्तृत छलफल गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले कम्पनीको आव २०८१/८२ को वार्षिक लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिने कर्मचारीहरुलाई धन्यवाद दिदै कम्पनीले बीमाशुल्कको लक्ष्य मात्र पुरा गरेको नभई कम्पनीको समग्र अवस्थामा राम्रो प्रगती गरेको र कम्पनीको लक्ष्य बमोजिम ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने कार्यमा समेत जोड दिए । साथै, नियमनकारी निकायको निर्देशनहरुको पूर्ण पालना गर्दै कर्मचारीहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने उपायहरूमा समेत सुझावहरू संकलन गरिएको थियो । गोष्ठीमा शाखास्तरीय चुनौतीहरू, बीमा सचेतना अभिवृद्धि कार्यक्रम, नविनतम बीमालेखहरु, डिजिटल पहुँच विस्तार र जोखिम व्यवस्थापन लगायतका महत्वपूर्ण विषयहरूमा समेत गहन छलफल भएको थियो । कार्यक्रमको समापन सत्रमा सहभागीहरूले आ-आफ्नो अनुभूतिका आधारमा, सुझाव र आगामी कार्ययोजनालाई प्रभावकारी बनाउने रणनीति प्रस्तुत गरेका थिए ।