राष्ट्रिय जीवन बीमाले १० वर्षसम्म व्यतीत बीमालेखमा ५० प्रतिशत विलम्ब शुल्क छुट दिने

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले विलम्ब शुल्क छुट दिने भएको छ । कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान)का बीमितहरुको एक वर्ष वा सो भन्दा बढी अवधि व्यतीत भएका बीमा शुल्कमा लागेको विलम्ब शुल्कमा छुट दिने भएको हो ।  विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकहरूलाई मध्यनजर गर्दै कम्पनीले १५ दिन अर्थात् असार २५ गतेसम्मका बीमालेख नवीकरण गरेमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको हो । कम्पनीका अनुसार १० वर्षभन्दा बढी व्यतीत भएका बीमालेख यस विलम्ब शुल्क योजनामा समावेश गरिने छैन । यस्तै, विलम्ब शुल्कमा छुटको सुविधा बीमा लेख अवधिमा एक पटक प्रदान गरिनेछ । एक वर्षदेखि १० वर्षसम्मका व्यतीत बीमालेखहरु यस योजनामा समावेश गरिने कम्पनीले जनाएको छ ।

सांग्रिलाबाट ४ जना संस्थापक बाहिरिँदै, सिद्धार्थ प्रिमियरको १० लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको करिब १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका एक जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ९ लाख ९९४ हजार ६२२ कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । यदि उक्त अवधिभित्र खरिद नगरेमा सर्वसाधारण सेयरधनीहरुका लागि बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।  यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकका चार जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । बैंकका संस्थापक सेयरधनी ओसिन बतासले २५ हजार ७५९ कित्ता, विश्व प्रकाश गुरुङले २५ हजार ७५९ कित्ता, बलराम श्रेष्ठले ६४ हजार कित्ता र प्रभा बुढाले १४ हजार ३१२ कित्तासेयर बिक्रीमा राखेका हुन् ।  बैंकको सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । यदि उक्त अवधिभित्र खरिद नगरेमा सर्वसाधारण सेयरधनीहरूका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ । तर, प्रभा बुढाको स्वामित्वमा रहेको सेयर खरिदका लागि १५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

प्रभु इन्स्योरेन्सको १८.९४ प्रतिशत लाभांश घोषणा, ६ वर्षयताकै उच्च

काठमाडौं । प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असार ८ गते बसेको बैठकले १८.९४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार रुपैयाँको १८ प्रतिशतका दरले २५ करोड ९४ लाख ६७ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.९४ प्रतिशतका दरले १ करोड ३६ लाख ५६ हजार रुपैयाँ नगद गरी कुल १८.९४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव अरबिन्द कुमार कर्णले जानकारी दिए ।  कम्पनीले ६ वर्षपछि उच्च लाभांश प्रस्ताव गरेको हो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा २० प्रतिशत लाभांश वितरण गरेको थियो । जुन हालसम्मै उच्च हो । त्यसयता कम्पनीको लाभांश घटेको थियो ।  कम्पनीले आव २०७१/७२ मा १२ प्रतिशत, आव २०७२/७३ मा १७ प्रतिशत, आव २०७५/७६ मा १६.३२ प्रतिशत, आव २०७६/७७ मा १०.५३ प्रतिशत, आव २०७७/७८ मा ११.५८ प्रतिशत, आव २०७८/७९ मा ७.०५ प्रतिशत र आव २०७९/८० मा ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।