सानिमा लाइफ इन्स्योरेन्सको बीमा शुल्क ९८ प्रतिशतले वृद्धि

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ मा ८२ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा ९८.४३ प्रतिशत अर्थात ४१ करोड १३ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षको सो अवधिमा इन्स्योरेन्सले ४१ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क कमाएको थियो । गत आर्थिक वर्षमा यस कम्पनीले ८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको देखिन्छ । जुन अघिल्लो वषको भन्दा कम हो । अघिल्लो वर्ष कम्पनीले ८ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवमा ८३ करोड ८७ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीले हालसम्म एक अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले २९ वटा दावी मार्फत एक करोड २० लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ । गत असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा रकम घटेर १२ करोड २० लाख रुपैयाँ छ । जीवन बीमा कोषको रकम बढेर ९५ करोड ८ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २२ करोड २८ लाख रुपैयाँ रहेको थियो ।

एशियन लाइफ इन्स्योरेन्सको नाफा ७८ प्रतिशतले बढ्यो, बीमा शुल्कले नाघ्यो साढे ४ अर्ब

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा १८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७८.४२ प्रतिशत अर्थात ७ करोड ९९ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षको सो अवधिमा इन्स्योरेन्सले १० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले नाफासँगै खुद बीमा शुल्कमा पनि वृद्धि गरेको छ । गत आर्थिक वर्षमा यस कम्पनीले ४ अर्ब ५४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको देखिन्छ । अघिल्लो वर्ष कम्पनीले ४ अर्ब २१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । गत असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ५४ करोड ७० लाख रुपैयाँ छ भने जीवन बीमा कोषमा २१ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । २ लाख ९० हजार वटा बीमालेख जारी गरेको कम्पनीले ७ हजार एक सय ५८ वटा दावी मार्फत एक अर्ब ४७ करोड रुपैयाँ भुक्तानी गरेको देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०४ पैसा छ भने प्रति सेयर नेटवर्थ १३०.२५ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार २ सय ३० रुपैयाँ रहेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि आईपीओ जारी गर्दै

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आगामी भदौ ४ गतेदेखि ६३ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले सो दिनदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले गत साउन १६ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको थियो । कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ ।