जीवन बीमामा एक्चुरीः भेट्टाउन मुस्किल भएको कम्पनीको गुनासो, समिति भन्छः अनुभवी खोज्नुस्
काठमाडौ । जीवन बीमा कम्पनीहरुले आफ्नो बीमांकीय मूल्यांकनकर्ता (एक्चुरी भ्यालुएटर) भेट्नै मुस्किल भएको बताएका छन् । जीवन बीमा कम्पनीहरुले एक्चुरी गराउनै पर्ने कानुनी व्यवस्था छ । तर, नियामक निकाय बीमा समितिले तोकेको मापदण्डका कारण एक्चुरी भेट्टाउन समस्या भएको बीमा कम्पनीहरुले बताएका छन् । बीमा समितिले प्रत्येक कम्पनीले बेग्लाबेग्लै एक्चुरी राख्नुपर्ने व्यवस्था गरेको छ । नेपालमा एक्चुरी भ्यालुएटर करिब छैनन् । अन्तराष्ट्रिय बजारमा पनि एक्चुरीको संख्या कम छ । त्यसैकारण एक्चुरी फेला पार्न समस्या भएको कम्पनीहरुको भनाइ छ । पछिल्लो समय धेरै कन्सल्यान्टहरुसँग सम्र्पक गर्दा पनि एक्चुरी नभेटीको कम्पनीहरुले जानकारी दिए । यता बीमा समितिले भने एक्चुरी सकेसम्म अनुभव भएको खोज्दा कम्पनी आफैलार्ई राम्रो हुने बताएको छ । सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा जीवन बीमक संघका अध्यक्ष रहेका शिवनाथ पाण्डेका अनुसार एक्चुरी भ्यालुएसन गर्न लामो समय लाग्ने तथा यसको प्रकियाले जीवन बीमा कम्पनीहरुलाई समस्या भएको हो । ‘लामो समयसम्म एक्चुरी नपाउनु तथा पाइसकेपछि पनि काम गर्न लामो समय लाग्ने भएकाले बीमा जीवन बीमा कम्पनीहरुले समस्या भोग्नुपरेको छ, समयमै एक्चुरी नभेट्दा बीमा कम्पनीहरुले समयमा साधारणसभा सम्पन्न गर्न सक्दैनन्’, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पाण्डेले विकासन्यूजसँग भने । उनले एक्चुरी नै कम हुने भएकाले यसको अभाव हुने गरेको बताए । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार जीवन बीमा कम्पनीमा एक्चुरीलाई थप सहज बनाउन बीमा समितिले समन्वय गर्नुपर्छ । ‘जीवन बीमा क्षेत्रमा एक्चुरी सहज रुपमा पाइदैन, विभिन्न कन्सल्ट्यान्टहरुसँग छलफल गर्दापनि एक्चुरीको अभाव नै छ, नियामक निकायको हैसियतले यसमा बीमा समितिले आवश्यक समन्वय गर्न सक्छ, एक्चुरीको अभाव हुनुले बीमा कम्पनीहरुमा एक किसिमको समस्या पैदा गरेको अवस्था छ’, सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत अर्यालले भने । प्राईम लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई भने अहिले एक्चुरी छनोटमा केही भिन्नता आएको भएपनि फेला पार्नै नसक्ने समस्या नरहेको बताउँछन् । ‘पहिले पहिले एउटै एक्चुरीले सबैे कम्पनीको बीमांकीय मूल्याङ्कन गर्न मिल्ने व्यवस्था थियो, अहिले प्रत्येक कम्पनीले आफ्नै एक्चुरी राख्नु पर्ने व्यवस्था छ, तैपनि एक्चुरी खोज्न केही समय लागेपनि भेट्नै नसकिने अवस्था भने होइन,’ प्राईम लाईफका प्रमुख कार्यकारी अधिकृत भट्टराईले भने । उनले पहिलेको जस्तो ब्रोकरमा गएर एक्चुरी खोज्दा हुने झन्झटभन्दा आफ्नै कम्पनीको एक्चुरी राख्नुले केही सहजता थपेको बताएका छन् । तर जीवन बीमा कम्पनीहरुलाई एक्चुरीले आफ्नो स्वार्थ अनुसार काम गराउन खोजेको वा कम्पनीहरुले आफ्नो अनुकुल एक्चुरी नभेटेको हो भने त्यसमा नियामक निकाय बीमा समितिले सहजिकरण गर्नु पर्ने उनकोे भनाइ छ । युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लालकर्णका अनुसार एक्चुरीको माग विश्वव्यापी रुपमा हुने भएकाले जीवन बीमा कम्पनीहरुलाई एक्चुरी भेटन् केही मुस्किल भएको हो । ‘एक्चुरीले नेपालमा बीमा क्षेत्रमा काम गर्छन् तर विश्वका कतिपय देशहरुले बैकमा समेत एक्चुरी राख्ने गरेका छन्, एक्चुरीले बैक, बीमा दुवैको भविष्यमा आउने जोखिमको आँकलन गर्न सक्छन्, सोही कारण एक्चुरीलाई कामको कुनै खाँचो हुँदैन,’ युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत लालकर्णले भने । उनले बीमा १९ वटा कम्पनीलाई १९ वटा एक्चुरी खोज्नु पर्दा केही समस्या भएको हुनसक्ने बताएका छन् । अनुभवी खोज्नुस्ः समिति बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार एक्चुरी सहजै नपाइने भएपनि भेट्नै नसक्ने समस्या भने छैन । ‘पहिले एउटै एक्चुरीले विभिन्न कम्पनीमा काम गर्न मिल्थ्यो, अहिले कम्पनीहरुले छुट्टा छुट्टै एक्चुरी राख्नु पर्छ, यस्तो व्यवस्थाले बीमा कम्पनीहरुको गोपनियता कायम राख्न मद्दत गर्दै आएको छ, विगतमा गरिएका निर्णयहरु समेत सोच विचार गरेर गरिएका छन् आगामी दिनमा पनि हामीले नयाँ निर्देशिका मार्फत बिमकका समस्या समाधान गर्ने तयारी गरिरहेका छौं,’ बीमा समितिका कार्यकारी निर्देशक पौडेलले भने । उनले सहज बनाउने नाममा अनुभव नभएका एक्चुरीसँग समन्वय गर भनेर कुनै पनि कम्पनीलाई भन्दा भोलि त्यसले ठूलो समस्या निम्त्याउने भएकाले केही समय लागेपनि अनुभवी एक्चुरीकै खोजी गर्नु उपयुक्त हुने बताएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क र नाफा दुबैमा वृद्धि, जगेडामा साढे ३ अर्ब रुपैयाँ सञ्चित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क १९.८० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा २२ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले २०७६/७७मा २७ अर्ब ३४ करोड रुपैयाँ आर्जन गरेको हो । कम्पनीको बीमा शुल्कसँगै खुद नाफामा पनि वृद्धि भएको छ । गत वर्षको असार मसान्तसम्ममा कम्पनीले ५३ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्सले ५२ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, खुद दाबी भुक्तानी भने अघिल्लो वर्षको भन्दा २ अर्बले घटेर ५ अर्ब ९७ करोड रुपैयाँ पुगेको । जुन अघिल्लो वर्षमा ७ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आवको असारमसान्तको वित्तीय विवरणअनुसार कम्पनीको व्यवस्थापन खर्च २२ करोड ४५ लाख रुपैयाँबाट बढेर २४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ भएको यस कम्पनीको जीवन बीमा कोषमा ८७ अर्ब रुपैयाँ बढी छ । जुन अघिल्लो वर्षमा ६५ अर्ब रुपैयाँ सञ्चित रहेको थियो । त्यस्तै, जगेडा कोषको रकम बढेर ३ अर्ब ५० करोड रुपैयाँ र महाविपत्ती कोष पनि बढेर ५५ करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ । हालसम्म कम्पनीले कूल १३ लाख ४ हजार ६३२ वटा बीमालेख कायम गरी एक खर्ब १९ अर्ब ३२ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, ४० हजार २ सय ४३ वटा दाबी बापत ६ अर्ब ६७ करोड रुपैयाँ भुक्तानी गरेको कम्पनीले एक अर्ब ६१ करोड रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको छ ।
प्रभु बैंकको ऋणपत्र बाँडफाँडः ४१७ जनाको आवेदन रद्द, बाँकीले मागे जति सबै पाए (सूचीसहित)
काठमाडौं । प्रभु बैंकले निष्काशन गरेको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र(डिबेन्चर) बाँडफाँड भएको छ । उक्त ऋणपत्र आज (साउन २९ गते) निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय नक्सालमा भएको हो । जसमा रितपूर्वक आवेदन दिने सबैले माग गरेजति बैंकको डिबेन्चर पाएका छन् । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको अनुसार १ हजार ८ सय ९१ जना योग्य आवेदकहरुलाई कूल ३ लाख ७९ हजार १ सय ३४ कित्ता ऋणपत्र बाँडफाँड गरिएको छ । उक्त ऋणपत्रमा निर्धारित अवधिभित्र सर्वसाधारण समूहलाई ७ लाख ६० हजार कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा २ हजार ३ सय ८ जना आवेदकहरुबाट कूल ७ लाख ३० हजार ३ सय ६५ कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएको थियो । त्यसमध्ये ४ सय १७ जना आवेदकहरुबाट आवेदन पर्न आएको जम्मा ३ लाख ५१ हजार २ सय ३१ कित्ता ऋणपत्र विभिन्न कारणवश रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ । त्यसैले बाँकी रहेको रितपूर्वक आवेदन दिने १ हजार ८ सय ९१ जना योग्य आवेदकहरुलाई मात्र निजहरुले माग गरे बमोजिम नै बाँडफाँड गरिएको नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ । बैंकले गत साउन १९ गतेदेखि गत साउन २३ गतेसम्म प्रभु बैंक लिमिटेडको “१०% प्रभु बैंक डिबेन्चर २०८४” को एक हजार रुपैयाँ अङ्कित दरको २० लाख कित्ता ऋणपत्रहरु सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरीद बिक्रीका लागि आह्वान गरिएको थियो । जसमा बैंकले माग गरेको भन्दा ३.०७ गुणा बढीले आवेदन परेको थियो । सो मध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल १ अर्ब २० करोड रुपैयाँ ऋणपुँजी रकम बरावरको विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चरले हुन आउने कूल ८० करोड रुपैयाँ ऋण पुँजी रकम (५ प्रतिशत अर्थात ४० हजार युनिट सामुहिक लगानी कोषका लागि बाडँफाँट गरी) बाँकी रहेको ७ लाख ६० हजार कित्ता डिबेन्चर सर्वसाधारण नेपालीहरुको लागि निष्काशन खुल्ला गरिएको थियो । त्यसमा व्यक्तिगत तवरबाट १२ लाख कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा ४५ जना योग्य आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको ३ लाख ८० हजार ८ सय ६६ कित्ता समेत गरी कूल १५ लाख ८० हजार ८ सय ६६ कित्ता ऋणपत्र बाँडफाँड गरेको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गले जनाएको छ । सर्वसाधारण समूहबाट ३७ करोड ९१ लाख ३४ हजार रुपैयाँ र व्यक्तिगत तवरबाट १ अर्ब ५८ करोड ८ लाख ६६ हजार रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरिएको थियो । क-कसले पाए ? [pdf id=232263]