आईएमई लाइफ इन्स्योरेन्सको 'बिजनेस एक्सेलेन्स अवार्ड नाइट २०२५' सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको  'बिजनेस एक्सेलेन्स अवार्ड २०२५' सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने आफ्ना अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले 'बिजनेस एक्सेलेन्स अवार्ड २०२५' को आयोजना गरिएको हो । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिसरहरू, प्रदेश प्रमुखहरू तथा अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कम्पनीले अभिकर्ताहरूको व्यवसायिक उत्कृष्टता, समर्पण र निरन्तरताको कदर गर्दै उनीहरूलाई विशेष सम्मान प्रदान गरेको हो ।  कार्यक्रममा नेपालमै निर्मित आँखीझ्याल शैलीको विशेष अवार्डमार्फत स्वदेशी उत्पादनको प्रवर्द्धनसमेत गरिएको थियो । समारोहका प्रमुख वक्ता तथा आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीको सफलता अभिकर्ता तथा कर्मचारीहरूको निरन्तर सहकार्यको प्रतिफल भएको उल्लेख गरे ।  उनले आगामी दिनमा कम्पनीलाई अझ प्रविधिमैत्री, बीमितमुखी तथा अभिकर्ताकेन्द्रित सेवा प्रदायक संस्थाको रूपमा अघि बढाइने स्पष्ट पार्दै समारोहको समापन गरे । कार्यक्रमले कम्पनी र अभिकर्ता समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाएको बताइएको छ ।

प्रोटेक्टिभ माइक्रोको नाफा ७९.५७ प्रतिशत बढ्यो, १८.६९ करोड रुपैयाँ पुग्यो कुल बीमाशुल्क

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ मा १२ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ७९.५७ प्रतिशत बढी हो ।  गत वर्ष कम्पनीले ५ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ करोड ७३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  अघिल्लो वर्ष २ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको यस कम्पनीले गत वर्ष १८ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ ।  कम्पनीले गत वर्ष २ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले २ करोड ७३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।  ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको विशेष जगेडामा २३ लाख १९ हजार रुपैयाँ, महाविपत्ति कोषमा २ लाख ३१ हजार रुपैयाँ, सञ्चित नाफा ५ लाख ३३ हजार रुपैयाँ र अन्य इक्विटीमा १५ लाख ९१ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष कम्पनीले ४८ करोड १० लाख रुपैयाँ दीर्घकालीन र ३ करोड रुपैयाँ अल्पकालीन लगानी गरेको छ । 

बीमा प्राधिकरणमा इञ्जिनियरिङ बीमासम्बन्धी विषयमा छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा इञ्जिनियरिङ बीमासम्बन्धी समस्या तथा चुनौतीहरूका सम्बन्धमा निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र निर्माण व्यवसायीहरूसँग छलफल आयोजना गरेको छ । इञ्जिनियरिङ बीमाअन्तर्गत देखिएका समस्या तथा चुनौतीहरूको समाधानका लागि निर्माण व्यवसायीहरू र बीमकहरूसँग छलफल गरी राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले इञ्जिनियरिङ बीमा अन्तर्गत देखिएका समस्याहरूको समाधानका लागि सम्बद्ध सरकारी निकाय, बीमा कम्पनी र निर्माण व्यवसायीहरूसँग छलफल गरी निष्कर्ष निकालिने जानकारी दिए । कार्यकारी निर्देशक सुवेदीले इञ्जिनियरिङ बीमासम्बन्धी प्राविधिक विषयमा नीतिगत तहमा सम्बद्ध निकाय, नियामक र संस्थाहरूसँग छलफल गरी अगाडि बढ्ने उल्लेख गर्दै करिब ९० प्रतिशत बीमालेख नेपाली भाषामा भए तापनि बीमा गर्दा बीमालेख राम्रोसँग नपढेका कारण समस्या आउने गरेको बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले म्याद थप भएका ठेक्काको बीमालेख नवीकरण गर्ने सम्बन्धमा त्यस्ता ठेक्काको सङ्ख्या कति छ, त्यसको यकिन भएपछि स्पष्ट गरिने जानकारी दिए । निर्देशक अधिकारीले बीमालेख बीमितको आवश्यकता अनुसार हुनुपर्ने, बीमालेखका सेवा तथा सुविधाहरू स्पष्ट हुनुपर्ने र बीमाप्रतिको बुझाइमा एकरूपता हुनुपर्ने बताए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बीमा गरेपछि सुरक्षित भइन्छ भन्ने बारेमा सबैलाई बुझाउनुपर्ने, दबाब र प्रभावले दाबी भुक्तानी पाउने अवस्था आउन नहुने, बीमालेख जारी गर्दा गलत कुरालाई प्रोत्साहन गर्न नहुने र बीमालाई बाध्यकारी नभई विश्वसनीय बताउनुपर्ने विचार व्यक्त गरे । नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बैदवारले बीमा घोषणा गर्दा सही रूपमा गर्नुपर्ने, बीमा बेच्ने र लिनेले बीमाका प्रावधानलाई एउटै अर्थमा बुझ्नुपर्ने र स्वदेशी पुनर्बीमा कम्पनीले रक्षावरण गरे म्याद थप भएका ठेक्काको बीमालेख नवीकरण गर्न समस्या नहुने धारणा राखे । कार्यक्रममा सहभागी निर्माण व्यवसायीहरूले बीमा कम्पनीहरूले बीमा सर्भेयरले प्रतिवेदन बुृझाएपछि क्षतिको निश्चित प्रतिशत भुक्तानी दिनुपर्ने, बीमा गराउँदा बीमालेखका सबै प्रावधानका बारेमा स्पष्ट जानकारी गराउनुपर्ने, बीमाप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने, बीमालेखका प्रावधान सरल रूपमा नेपाली भाषामा हुनुपर्ने र बीमालेख नवीकरण, दाबी भुक्तानीका चरण तथा दाबी भुक्तानीका बारेमा अनलाइनका माध्यमबाट बीमितलाई जानकारी दिने व्यवस्था हुनुपर्ने लगायतका विचार व्यक्त गर्दै डीएलपी र एक्सेस सम्बन्धी विषय समेत उठाएका थिए । यसैगरी, निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले सबैले बीमालाई बाध्यताका रूपमा नभई आवश्यकताका रूपमा बुझ्‌नुपर्ने, बीमालेखका प्रावधानहरू पढेर मात्र बीमा गर्नुपर्ने, अन्तर्राष्ट्रिय अभ्यास र आवश्यकताका आधारमा बीमालेखका प्रावधानहरू थपिंदै गएको र बीमादरमा खासै समस्या नहेको लगायतका धारणा राखेका थिए । कार्यक्रममा नेपाल बीमक संघका पदाधिकारीहरू तथा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरू र निर्माण व्यवसायीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका उपनिर्देशक केशवप्रसाद दाहालले गरेका थिए ।