कोरोना बीमाः लागेको पुष्टी हुने वित्तिकै क्षतिपूर्ति, बीमा गराउन कम्पनी तयार
काठमाडौं । बीमा समितिले ल्याएको कोरोना भाईरस (कोभिड १९) बीमामा बिमितले संक्रमण पुष्टी हुने वित्तिकै दाबी भुक्तानी पाउने भएका छन् । समितिले प्रतिव्यक्ति ५० हजार र एक लाख रुपैयाँ दाबी भुक्तानी प्राप्त गर्ने गरी नयाँ बीमालेख जारी गरेको हो । समितिले ल्याएको कोरोना भाइरस बीमालेखमा दाबी भुक्तानी रकम १ लाख र ५० हजार रुपैयाँ पाउने गरी दुई प्रकारका बीमालेख छन् । यी दुबै प्रकारका बीमालेख लिनको लागि व्यक्तिगत रुपमा र परिवार सहितको बीमालेख लिन पाइने भएको छ । १ लाख रुपैयाँको व्यक्तिगत बीमालेख लिनको लागि १ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । परिवार सहितको बीमालेख लिने हो भने प्रतिव्यक्ति ६ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । एउटा परिवारमा ६ जना सदस्य छन् र १ प्रतिव्यक्ति १ लाख रुपैयाँको बीमा गर्ने हो भने प्रतिव्यक्ति ६ सय रुपैयाँका दरले ३ हजार ६ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । यस्तै, प्रतिव्यक्ति ५० हजार रुपैयाँको बीमा गर्नको लागि व्यक्तिगततर्फ प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवारसहित बीमा गर्नको लागि प्रतिव्यक्ति ३ सय रुपैयाँ बीमा शुल्क तिुर्नपर्छ । एउटा परिवारमा ६ जना छन् र प्रतिव्यक्ति ५० हजार रुपैयाँको बीमा गर्नको लागि १ हजार ६ सय रुपैयाँ तिर्नुपर्छ । कसरी लिने दाबी भुक्तानी ? कोरोन संक्रमणको परीक्षण तथा संक्रमण भइसकेको अवस्थामा त्यसको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भनेको छ । कोरोना परीक्षण गर्न तथा उपचार गर्नको लागि लाग्ने सबै खर्च सरकारले व्यहोर्ने भनेको अवस्थामा दाबी भुक्तानी कसरी लिने भन्ने प्रश्न पनि आउँन सक्छ । ‘कोरोना भाइरस बीमालेखले परीक्षण वा उपचारको लागि दाबी भुक्तानी दिने होइन, कोरोना संक्रमणको पुष्टी हुने वित्तिकै बीमा कम्पनीले दाबी भुक्तानी दिने हो, पीसीआर पद्धतिबाट कोरोना पुष्टी भएका व्यक्तिका आफन्तले वा सोही व्यक्तिले बीमा कम्पनीबाट बीमा गरिए बराबरको ५० हजार वा १ लाख रुपैयाँ पाउने हो,’ बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले भने । परीक्षण र उपचारको लागि सरकारले खर्च गर्ने भएपनि बीमामार्फत केही रकम आर्थिक भरथेग गर्ने प्रयास गरिएको अध्यक्ष चापागाईंले बताए । कोरोना संक्रमित व्यक्तिलाई फलफूल लगायत पौष्टिक आहार खुवाउन, बिरामीको कुरुवा वा घर परिवारका व्यक्तिलाई केही मात्रामा भएपनि राहत दिन यस्तो कार्यक्रम ल्याइएको समितिको भनाइ छ । कोरोना पुष्टी नभएको प्रमाणपत्र कसरी दिने ? सामान्यतः स्वास्थ्य बीमामा बीमा गर्नुअघि निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्छ । तर, कोरोना बीमा गर्नको लागि निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्दैन । कोरोना बीमा गरेको १५ दिनभित्र कोरोना संक्रमण भएमा बीमा रकम दाबी गर्न पाइदैन । १६ औं दिनपछि संक्रमण देखिएमा बीमा रकम दाबी गर्न पाइन्छ । पहिलो बीमालेख अध्यक्षले नै लिने समितिले कोरोना बीमालेख आगामी आइतबारदेखि कार्यान्वयनमा ल्याउने गृहकार्य थालेको छ । पहिलो बीमालेख आफैले किन्ने समितिका अध्यक्ष चापागाईंले जानकारी दिए । ‘पहिलो बीमा पोलिसी म आफै किन्ने छु, कुनैपनि बिमितले पिसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको अवस्थामा बीमाबाट दाबी–भुक्तानी पाउँने छन्,’ अध्यक्ष चापागाईंले भने । कम्पनी तयार समितिले ल्याएको बीमालेख कार्यान्वयनका लागि आफूहरु तयार रहेको बीमा कम्पनीहरुले बताएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार कोरोना भाईरसको बीमा गर्ने विषयमा पहिलेदेखि नै छलफल भइरहेको तथा अहिलेको सन्दर्भमा यो आवश्यक रहेकाले सबैको तिव्र चासो रहेको बताए । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग बीमा समितिले छलफल गरेरै यो योजना अघि सारेकाले उक्त योजनामा कम्पनीका प्रमुखहरु इच्छुक रहेको उनले बताएका छन् । अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीका अनुसार कोरोना महामारी विरुद्ध सबै कम्पनीहरुले मिलेर काम गर्न लागेको हो । ‘अब हामीले कोरोनाको बीमा गर्ने भएका छौं, यसमा सबैजना मिलेर काम गर्ने भएका हौं, सामाजिक दायित्वका हिसावले नै यो बीमा योजना आएको हो,’ अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले भने । किन ५० हजार र एक लाखको मात्रै ? समितिले ल्याएको कोरोना बीमाको बिमांक रकम ५० हजार र एक लाख रुपैयाँ मात्रै छ । पुनर्बीमा कम्पनीको भर नपरी नेपालमा नै पुलमार्फत गराउन लागिएकोले बिमांक रकम १ लाख र ५० हजार रुपैयाँ मात्रै राखिएको बीमा समितिको भनाइ छ । पुलमार्फत गर्न लागिएको कोरोना बीमामा नेपाल पूनर्बीमा कम्पनीले २० प्रतिशत तथा अन्य निर्जीवन बीमा कम्पनीले ४÷४ प्रतिशत जोखिम लिएका छन् ।
कोरोना भाइरस बीमा शुरू, न्युनतम बीमा शुल्क ३ सय रूपैयाँ
काठमाडौं । बीमा समितिले सस्तो बीमा शुल्क लिएर देशभरका नेपालीको कोरोना भाइरस सम्बन्धि बीमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । यस्तो बीमा लेखको विशेषताहरु घातक रोग सरहको बनाउन पनि समितिले निर्देशन दिएको छ । समितिले ५० हजार रुपैयाँ बीमाङ्कको बीमा लेखको बीमा शुल्क ३ सय रुपैयाँ तोकेको छ । एक जनाको मात्र बीमा लेख जारी गर्दा प्रतिव्यक्ति ५०० रुपैयाँ बीमा शुल्क लिन र परिवारका सबै सदस्यको समेत बीमा समावेश गर्दा प्रतिव्यक्ति ३०० रुपैयाँ बीमा शुल्क लिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । १ लाख रुपैयाँ बीमाङ्क भएको बीमा पोलिसी जारी गर्दा एक व्यक्तिको बीमा शुल्क १ हजार रुपैयाँ ताेकिएकाे छ भने र परिवारका सबै सदस्यको बीमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ ताेकिएकाे छ । यस्तो बीमा गरेको १५ दिन प्रतिरक्षा अवधि हुनेछ । यसको अर्थ बीमा गरेको १५ दिन अगाबै बीमितलाई कोरोना लागेमा बीमा दावी लाग्नैछैन । १५ दिनपछि कोराना भाइरस पुष्टि हुने पीसीआरमा पाेजेटिभ देखिएमा बीमितलाई बीमकले दावी भुक्तानी दिनुपर्नेछ । काेराेना भाइरस बीमा लघु बीमा पुलले गर्नेछ । तर बीमा पाेलिसी जारी गर्ने जिम्मा भने कृषि बाली तथा घुम्ती बीमाका लागि ताेकिएका जिल्लामा कार्यरत बीमा कम्पनीहरूले गर्नु पर्नेछ । अहिलेसम्म १६ जना नेपालीलाई काेराेना भाइरस संक्रमण भइसकेकाे, अझ धेरै संक्रमणकाे जाेखिम रहेकाेले विशेषत ग्रामिण क्षेत्रसम्म न्युन आय भएकाे मानिसहरूलाई आर्थिक सुरक्षण प्रदान गर्न यस्ताे बीमा गर्नु परेकाे बीमा समितिले जनाएकाे छ ।
एशियन लाईफ इन्स्योरेन्सले सार्वजनिक गर्यो ई क्यालेण्डर
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को कारण विश्वव्यापी रुपमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै वि.सं. २०७७ सालकाे ई क्यालेण्डर सार्वजनिक गरेको छ । मुद्रित क्यालेण्डर वितरण सहज नभएको अवस्थालाई मध्यनजर गर्दै बीमित, अभिकर्ता, कर्मचारीको साथै सर्वसाधारणको सुविधाको लागी कम्पनीले उक्त क्यालेण्डर सार्वजनिक गरेको हो । ई क्यालेण्डर कम्पनीको बेभसाइटको लिंक https://www.asianlife.com.np/calendar बाट डाउन लोड गर्न सकिनेछ । क्यालेण्डरमा मन्त्री परिषदबाट स्वीकृत सार्वजनिक बिदाको साथै पञ्चाङ समितिबाट स्वीकृत गरिएको तिथी मिति लगायतको उपयोगी जानकारीहरु समावेश गरिएको छ । साथै, कम्पनीको शाखा उपशाखाको सम्पर्क नम्बर समेत क्यालेण्डरमा रहेकोले यसबाट सम्बन्धित सबैलाई सहज हुने विश्वास गरिएको छ ।