बैंकिङ र बीमाका नियमित सेवा बन्द, आपत्कालिन सेवा मात्र सुचारू

काठमाडौं । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले नियमित सेवा बन्द गरेको छन् । तर उनीहरुले आपतकालिन अवस्थामा ग्राहकलाई सेवा दिईरहेको जनाएका छन् । बैंकहरुले एटीएम र अनलाइन सेवा सुचारु गरेका छन् । तर नियमित काउन्टर सेवा भने लगभग बन्द गरिएकाे जनाएका छन् । ‘कोरोना भाइरसको जोखिम पनि भयो । काउन्टर खोल्दा दिनभरका २/३ वटा मात्र कारोबार भएका छन् । कुनै काउन्टरमा दिनभर एउटा पनि कारोबार नभई बन्द भएका पनि छन्’ डेभलपेन्ट बैंकर्स संघका अध्यक्ष तथा गरिमा विकास बैंकका अध्यक्ष गोविन्द प्रसाद ढकालले भने । बैंकको शाखा खोल्नको लागि कम्तिमा ३ जना कर्मचारी आवश्यक पर्ने तर गृह प्रशासनले २ वटा भन्दा बढी पास नदिएकोले पनि बैंकहरुले नियमित सेवा दिन नसकेको उनले बताए । ‘सरकारले दिएको पासले १० देखि १२ बजेसम्म मात्र हिड्न पाइने रहेछ । २ घण्टाको बास बोकेर बैंकमा पुगेर घर फर्कन हतार हुन्छ । कति समय बैंक खोलेर बस्ने ?’ उनले समस्याहरु सुनाउदै भने–‘कतिपय स्थानीय सरकारले बैंकिङ सेवा पूर्ण रुपमा बन्द गराउने निर्णय पनि गरेका छन् । त्यस क्षेत्रमा हामीले चाहेर पनि बैंकिङ सेवा सुचारु गर्न सक्दैनौं ।’ एटीएमबाट एक लाख २५ हजार रुपैयाँसम्म झिक्ने मिल्ने सुविधा भएको, जुनसुकै बैंक तथा फाइनान्सको एटीएमबाट पैसा झिके पनि शुल्क नलाग्ने सुविधा भएकोले ग्राहकलाई समस्या नपर्ने बैंकर्सहरुको भनाई छ । एटीएम कार्ड पनि नभएको, इन्टरनेट बैकिङ सुविधा पनि प्रयोग नगरेका ग्राहक वा आपत्कालिन अवस्थामा परेका ग्राहकले सम्बन्धित बैंकका शाखाका खटिएका सुरक्षा कर्मीसँग सम्पर्क गर्न सक्ने र उनीहरुले शाखा प्रमुख वा तोकिएको अधिकृतसँग सम्पर्क गरी आपत्कालिन सेवा दिने प्रबन्ध मिलाएको ढकालले बताए । कोरोना फाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको, सरकारको कदममा सहयोग गर्नु, आफू र समाजलाई सुरक्षित राख्न, ग्राहक र कर्मचारीको सुरक्षामा सजग हुनको लागि आफूहरुले बैंकको नियमित सेवा बन्द गरेको ज्योति विकास बैंकले विहीबार जारी सूचनामा जनाएको छ । एटीएम, मोवाइल बैकिङ, इन्टरनेट बैकिङ, कनेक्ट आईपीएस सेवाहरु सुचरु रहेको र उल्लेखित सबै सेवाहरु निःशुल्क गरिएको बैंकले जनाएको छ । बैंकहरूले जस्तै बीमा कम्पनीहरुले पनि सार्वजनिक सूचना जारी गरी नियमित सेवा बन्द गर्नु परेको जनाएका छन् ।  यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले देशभर लकडाउन भएको र ग्राहकहरुलाई बीमा सेवा नियमित रुपमा प्रदान गर्न कठिन भएको जनाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण कार्यालयहरु बन्द गरिएको जनाएको छ । बैंक र बीमा कम्पनीहरूले नियमित सेवा बन्द सम्बिन्ध सूचनामा आपतकालिन सेवाका लागि सम्पर्क व्यक्ति र माेवाइल नम्बर भने उल्लेख गरेका छन् । सरकारले बैंकिङ र बीमा सेवालाई अत्यावश्यक सेवा अन्तरगत राखेको छ र लकडाउनको बेलामा पनि अत्यावश्यक सेवा सुचारू हुने जनाएको छ । कोरोना जोखिम उच्च भएकोले बेलामा बैंकिङ र बीमा सेवा सञ्चालन गर्न धेरै जोखिम भएकोले बन्द गर्नु पर्ने माग सञ्चालकहरुको छ ।

प्राइम लाईफले समग्र बीमा उद्योगको हितहुने काम गरिरहेको छ-मनोज कुमार भट्टराई

मनोज कुमार भट्टराई – प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मनोज कुमार भट्टराई बैकिङ र बीमा बजारमा स्थापित नाम हो । प्रभावकारी व्यवस्थापक र प्रष्ट बक्ता उनको पहिचाहन हो । ‘सबै मानिसमा एकै प्रकारको हार्डवेर हुन्छ तर उसले आफूलाई कहाँ राख्ने भन्ने कुरा सफ्टवेरले निर्धारण गर्छ । यसको अर्थ मानिस शारीरिकभन्दा पनि मानसिक रुपमा बलियो हुनुपर्छ भन्ने हो । ठिक त्यस्तै, जीवन बीमा कम्पनीहरु हेर्दा व्यवसायको प्रकृतिको आधारमा उस्तै देखिन सक्छन् । तर, कम्पनीको गुणस्तरको आधारमा भने कुन कम्पनी कस्तो हो बुझ्न जरुरी हुन्छ’ प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भट्टराई भन्छन्–‘बीमा बजारमा प्राईम लाईफ इन्स्योरेन्स कम्पनी हाल संचालनमा रहेका अन्य कम्पनीको सूचांकसँग कहिकतै अघिपछि होला तर सफ्टवेरमा यो आफैमा बलियो कम्पनी हो ।’ यसरी प्राईम लाईफलाई बीमा क्षेत्रले सम्झिने मुख्य आधार भनेको यहाँ भित्र रहेको सुशासनले गर्दा हो । बीमितलाई सन्तुष्टि प्रदान गर्ने सन्दर्भमा प्राईम लाईफको प्राथमिकता रहदै आएको उनको दाबी छ । प्रस्तुत छ बीमा बजारको वर्तमान अवस्था र प्राईम लाईफ इन्स्योरेन्सको अवस्थाबारे कम्पनीका प्रमुख कार्यकारी अधिकृत भट्टराईसँग नबिन पोखरेलले गरेको विकास वहस । कोरोना भाइरसको उपचार र मृत्यूमा बीमितले भुक्तानी पाउँछन् कि पाउँदैनन् ? जीवन बीमाको निहित सिद्धान्तमा जोखिमांकन (अन्डरराईटीङ्ग) गर्ने प्रक्रिया हुन्छ । उक्त प्रकृया अनुसार बीमा गर्ने बेलामा बीमित स्वस्थ हुनुपर्छ । बीमितले बीमा शुल्क तिर्न सक्षम हुुनुपर्छ । त्यसपश्चात बीमा कम्पनीले बीमा गरिसकेपछि आउँने घटनाको दाबी भुक्तानी तिर्न तयार हुनुपर्छ । भविष्य अनिश्चित छ, सोही कारण बीमा गर्नुपर्छ । बीमा कम्पनीहरुले दुर्घटनामा परेकाको रक्षावरण गर्दिन भन्न पाउँदैन । यस्तै, रोग लाग्नु अगाडी बीमा गराएपछि बीमा कम्पनीहरुले अनिवार्य रुपमा दाबी भुक्तानी दिनु पर्ने हुन्छ । हाम्रो सन्र्दभमा कुरा गर्दा हामीले दिइरहेका छौं । महामारीलाई लक्षित गरेर बीमितलाई बीमा कम्पनीहरुले सुरक्षण दिन सक्छन् कि सक्दैनन् ? महामारीलाई लक्षित गर्ने किसिमका बीमा पोलिसी कहीँ पनि छैन । महामारी भनेको नयाँ विषय हो, यसमा नयाँ किसिमका रोग लाग्ने भएकाले बीमाले समेट्दैन । बीमालेखमा उल्लेख भएको आधारमा बीमाको दाबी भुक्तानी हुने गर्छ । भविष्यमा भैपरि आउने जोखिमको बारेमा बीमा लेखमा जे उल्लेख गरिएको छ त्यो पाउँने बीमितको अधिकार पनि हो । घोषित, अघोषित युद्ध अथवा आतंकलाई बीमाले समेट्दैन । अनिश्चित रहेको हरेक दुर्घटनाका कुरामा बीमाले साथ दिन्छ । बीमाले वैज्ञानिक आधारमा काम गर्ने भएकाले यसमा केही निश्चित मापदण्डहरु तोकिएका छन् । प्राईम लाईफले सेयर लगानीकर्ताको पक्षमा के गरिरहेको छ ? प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले बीमितको सन्तुष्टिमा काम गर्छ । व्यवसायमा केन्द्रीत रहनेको हित, लगानीको प्रतिफत तथा कम्पनीमा आवद्ध हुने सबैका लागि हामीले काम गर्ने हो । हाम्रो व्यवसायको केन्द्रबिन्दु भनेको बीमित नै हुन् । बीमितले पाउँने सुरक्षा, सेवा राम्रो बनाउँनु पर्छ । साथै, लगानीकर्ताको लागि उचित प्रतिफल दिनुपर्छ । लिनेलाई जति लिएपनि कम जस्तो लाग्न सक्छ । दिनेले समय सापेक्ष दिन सक्नुपर्छ । हामीले त्यस्ता कुरालाई समायोजन गरेर लगानीकर्ताको हितमा काम गर्दै आएका छौं । दोस्रो बजारमा विगतलाई हेरेर तथा कम्पनीको व्यवस्थापनको अवस्था हेरेर मुल्यांकन गर्ने गरिन्छ । किन्नेले कुन कम्पनीभन्दा कुन कम्पनी राम्रो भनेर पनि हेर्ने गर्छन् । कम्पनीले दिने ठाउँ आफ्नो छ, तर लिनेहरुले विगतको भन्दा राम्रो हुन्छ भन्ने अनुमानमा आउँने गर्छन् । यस सालपनि विगतमा जस्तै साढे १२ प्रतिशतको प्रतिफल दिँदैछौं । यो प्रतिफल वितरणको स्वीकृतिको लागि बीमा समितिमा पठाएका छौं । आगामी दिनमा पनि लगानीकर्ताहरुलाई आफ्नो प्रतिफल नघट्ने गरी हामीले काम गरिरहेका छौं । त्यसमा आश्वस्त हुन म सबैलाई अनुरोध पनि गर्दछु । कहीकतै सेयर बजार बुलिस ट्रेण्डमा गयो भनेर किन्ने चलन पनि छ । अहिले सेयर किन्दा क्यापिटल गेन तथा प्रतिफल हेर्न लगानीकर्ताले छुटाउनु हुँदैन । कम्पनीले राम्रो किसिमको व्यवस्थापनबाट सु–शासनमा काम गर्दा सबैले लाभान्वित हुने मौका पाउँछन् । तपाईहरुको व्यवसाय वृद्धिको अवस्था कस्तो छ ? जीवन बीमामा न्यूनतम ५ वर्ष उमेरदेखि बीमा गर्न मिल्छ । हामीले नयाँ व्यवसायको हिसाबमा कुरा गर्दा राम्रो छ । वार्षिक १६÷१७ प्रतिशतका दरले व्यवसाय वृद्धि गरेका छौँ । कम्पनीका आगामी योजनाहरु के–कस्ता छन् ? गत वर्ष प्राईम जीवन उपहार योजना ल्याएका थियौँ । त्यसमा आज बीमा गराएका बीमितले एक वर्षपछि अर्को बीमालेख उपहार पाउने सुविधा छ । यस्तै, घातक रोगका लागि हामीले बीमा योजना संचालन गरिरहेका छाँै । विगत ६ महिनादेखि राइडरको रुपमा दुर्घटना बीमा पोलिसी पनि संचालन गर्दै आएका छौँै । पहिले बीमितको मृत्युमा मात्र बीमालेखले समेट्ने अवस्था थियो भने हाल व्यक्तिगत दुर्घटना लाभको समेत व्यवस्था गरेका छौँ । यस्तै, आंशिक नोक्सानी तथा औषधि उपचार मार्फत रक्षावण गर्दै आएका छौं । आगामी वर्ष नयाँ किसिमका बीमा योजना ल्याउँने पक्षमा हामीले निरन्तर काम गरिरहेका छौँ । जीवन बीमा गर्नको लागि प्राइम लाईफलाई नै किन छनोट गर्ने ? पहिलो कारण भनेको स्थापना कालदेखि हालसम्म आकारले भन्दा कामको गुणस्तरमा प्राईम लाइफ अगाडी छ । यस्तै, दोस्रो कारण भनेको बीमाको प्रचार–प्रसारदेखि नेपालको जीवन बीमा उद्योगमा पेन्सन प्लान जस्ता योजना संचालनमा हामी निकै अगाडी छौँ । गत १० वर्ष अगाडी हामीले उक्त पेन्सन प्यान ल्याएका थियौं । यसरी नै शुन्य वा ३ भन्ने प्राईम लाईफको स्लोगन आफ्नो लागि मात्र नभई समग्र बीमा उद्योगको हितको लागि हो । बीमा उपहार जस्ता बीमा योजना हामी कहाँ छन्, जहाँ एउटा बीमा किन्दा अर्को बीमा उपहार स्वरुप पाउँन सकिन्छ । बीमितलाई केन्द्रबिन्दुमा राखेर गर्नुपर्ने काममा प्राईम लाईफ अगाडी छ । सु–शासासनमा हामीले काम गर्दै आएका छौं । सकेसम्म नियामकले निर्देशन दिएर भन्दा आफैले बुझेर काम गर्ने वातावरणकोे सिर्जना गर्न सक्दा हुन्छ । तपईहरुकोमा कर्मचारीको टर्न ओभरको अवस्था कस्तो छ ? समग्र उद्योगमा चलेको हावा भएकाले यसबाट हामी पनि अछुतौ छैनौं । प्राईम लाईफका १ सयभन्दा धेरै कर्मचारी नयाँ बीमा कम्पनीमा कार्यरत छन् । करिब ३ सय ५० जना भएको कम्पनीमा त्यति कर्मचारी जानु भनेको ३५ प्रतिशत प्राईमका कर्मचारी बाहिरीनु बराबर होे । यो गत २ वर्षको अवधिमा आएको परिवर्तन हो । हामीलाई संख्यात्मक रुपमा मात्रै कर्मचारी बाहिरिएको जस्तो अनुभव भयो तर व्यवसायमा खासै त्यस्तो केही असर परेन । हाम्रो कम्पनीका कर्मचारी साथीहरुले अन्यत्र गएर पनि राम्रो गरिरहनु भएको छ । यहाँ रहनु भएका कर्मचारीहरुले पनि राम्रो साथ दिइरहनु भएको छ । यसलाई प्राईम लाईफले आफ्नो कर्मचारीको गुणस्तर विकासमा सघाउँदै आएको छ भन्ने बुझ्न सकिन्छ । कर्मचारीहरुलाई आन्तिरक तथा बाह्य तालिमको व्यवस्था के कस्तो छ ? मानव संसाधान भनेको हार्डवेर र सफ्टवेर दुवै हो । सोही कारण हामीले कर्मचारीको तालिमका विषयमा काम गर्नु आवश्यक ठान्छौं । अन्य कम्पनीहरुको तुलनामा पनि कर्मचारीलाई दिने तालिमको कुरामा प्राईम लाईफ अगाडी नै रहेको छ । हामीले भारतमा हुने तालिमदेखि नेपालमै हुने तालिममा आफ्ना कर्मचारीहरुलाई सहभागी गराउँदै आएका छांै । पछिल्लो समय बीमा समितिले दिने गरेको तालिममा हाम्रो कम्पनीको तर्फबाट सहभागिता भइरहेको छ । साथै, आवश्यक परेको बेलाम म आफैले तथा यहाँ अन्य कर्मचारी साथीहरुबाट तालिम कार्यक्रम ंसंचालन गर्दै आएका छौं । बीमा समितिको नियमनलाई कसरी हेर्दै आउँनु भएको छ ? बीमा समितिको नियमनको कुरा गर्दा बीमा ऐनको सन्दर्भ जोडिन पुग्छ । बीमा ऐन २७ साल पुरानो भएकाले अहिलेको समयसापेक्ष ऐनको तत्काल आवश्कता भएको देखिन्छ । किनभने ऐनसँग गासिएको नियमावलीले अहिलेको बजारमैत्री काम गर्न सक्दैन । मेरो मान्यतामा नियमनकारी निकायले गर्ने नियमन भन्दा बीमा कम्पनीले आफैले राम्रो काम गर्दा केही पनि बिग्रिदैन । निर्देशन पाएपछि मात्रै काम गर्नुभन्दा पनि गर्न मिल्ने, गर्न हुने तथा गर्न सकिने काममा सबै चनाखो हुनपर्छ । सबैको साझा उदेश्य भनेको बीमा क्षेत्रलाई बिस्तार गर्ने नै हो । बीमा समितिले निर्देशिका जारी गर्नुको उदेश्य पनि त्यही हो । एकजनाले नराम्रो गर्दा सबैको लागि त्यही नियम लगाउँनु पर्छ भन्ने जरुरी नहुन पनि सक्छ । बीमा समितिले पनि बीमा बजारको हितका लागि निर्देशन जारी गर्छ । कुनै बीमा कम्पनीले गल्ती गर्दा सबैले बदमाशी गरेको जसरी भन्दापनि जसले काम बिगारेको छ उसैलाई लक्षित गरेर काम गर्नु आजको आवश्यकता हो । जीवन बीमा किन गर्ने ? जीवन अमूल्य छ, यो जवनको मूल्य त तोक्न सकिदैन । तर जीवनलाई केही न केही मूल्यवान बनाउँन सक्छौं । सोही कुराको लागि जीवन बीमाको आवश्यकता छ । अब गाँस, बाँस, कपास मात्र होइन, शिक्षा स्वास्थ र बीमा पनि उत्तीकै आवश्यक भइसकेको छ । बीमाका कर्मचारीले आफ्नो कार्यकालको लागि मात्र भन्दापनि दिर्घकालिन योजना ल्याएर काम गर्नुपर्छ । अभिकर्ताले पनि बीमितलाई कुन कम्पनी छनोट गर्नु राम्रो हुन्छ सो कुरामा सही सूचना प्रदान गर्नुपर्छ । बीमा क्षेत्रमा लागेका साथीहरुले यसरी काम गर्न आवश्यक छ कि भोलि समग्र बीमा क्षेत्रले कुनै न कुनै आधारमा आफूलाई सम्झिने ठाउँ रहोस् ।

कोरोना उपचार कोषमा धितोपत्र बोर्डले दियो ५० लाख, सेयर कारोबार गर्ने सबैलाई पैसा हाल्न अपिल

काठमाडौं । कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोषमा नेपाल धितोपत्र बोर्डले ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा द्रुत गतीमा फैलिरहेको कोरोना भाइरस रोगको संक्रमणलाई मुलुकभित्र फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारबाट भैरहेको प्रयास तथा सो प्रयासमा आ–आफनो तर्फबाट सहयोग गर्न सरकारले आह्वान गरेपछि बोर्डले उक्त निर्णय लिएको बोर्डका प्रबक्ता तथा कार्यकारी निर्देशक निरज गिरीले बताए । बोर्डले यस विपत्तीको घडिमा सरकारले चालेको रोग नियन्त्रणको अभियानमा आ–आफनो तर्फबाट समेत सहयोग पु¥याउन पूँजीबजारका सबै सहभागीहरु नेप्से, सिडिएसी, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेण्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरु, आस्वा सदस्यहरु तथा सूचीकृत कम्पनीहरु लगायतका संस्थाहरुलाई सो खातामा यथासक्दो रकम जम्मा गरी सहयोग पु¥याउन हुन समेत नेपाल धितोपत्र बोर्ड अनुरोध गरेको उनले जानकारी दिए ।