पुर्नबीमा कम्पनीकाे सेयर बाँडफाँड चैत १४ गते हुने, साढे तीन गुणा बढी माग
काठमाडौं । चरम आर्थिक संकटकाे बेलामा पनि राम्रा कम्पनीले सेयर निष्काशन गरेमा माग उच्च हुने देखिएकाे छ । काेराेना महामारीकाे बेलामा नेपाल पुनर्बीमा कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्दा करिव साढे ३ गुणा बढी आवेदन परेको छ । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीका अनुसार कम्पनीको आईपीओमा सर्ब साधारणकाे उत्साहजनक सहभागिता रहेकाे बताए । निष्काशन गरिएकाे भन्दा बढी सेयरकाे माग भएकाेले शुक्रबार ५ बजेपछि आवेदन लिन बन्द गरिएकाे उनले बताए । सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलका अनुसार ५ अर्ब ५७ कराेड ४७ लाख ३५ हजार रूपैयाँ बराबरकाे सेयर माग भएकाे छ ।उक्त रकम मागकाे ३.४८ गुणा बढी हाे । सेयर माग गर्नेकाे संख्या ४ लाख ९ हजार ७२२ व्यक्ति तथा कम्पनी रहेका छन् । कम्पनीले चैत ४ गतेदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात एक करोड ६० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । कम्पनीले जारी गरेको कूल सेयरमध्ये एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणमा बिक्रीमा राखिएको थियो । यस्तै, कूल आठ लाख कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँकी ७३ हजार ५ सय कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो । नियम अनुसार थाेरै माग गर्नेलाई प्राथमिकतामा राखेर सेयर बाँडफाँड हुने रायमाझीले बताए । चैत १४ गते सेयर बाँडफाँड गर्ने तयारी भएकाे उनले बताए । कम्पनीको अधिकृत पुँजी १५ अर्ब, जारी पुँजी १० अर्ब र चुक्ता पुँजी आठ अर्ब ४० करोड रुपैयाँ रहेको छ । साधारण सेयर बिक्रीपश्चात् कम्पनीको कुल चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।
नेपाल लाइफ इन्स्योरेन्सको प्रवक्ताको जिम्मेवारी डीसीईओ प्रसाईंले सम्हाल्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) काे प्रवक्ताको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष प्रसाईँले सम्हाल्ने भएका छन् । कम्पनीकाे संचालन समितिको बैठकले डीसीईओ प्रसाईँलाई प्रवक्तामा नियुक्त गरी उक्त पदको जिम्मेवारी दिएको हो । डीसीईओ प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन गर्ने कम्पनीले जनाएको छ । यस कम्पनीको चुक्तापुँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी ८६ अर्ब २६ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७७ अर्ब ५९ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५९ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको फागुन मसान्तसम्ममा जम्मा १७ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । १ लाख ५२ हजार ४ सय १२ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । ।
एनआईसी एशिया बैंकद्वारा १५ लाख बीमा रकम भुक्तानी
काठमाडाैं । एनआईसी एशिया बैंकले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमाअन्तर्गत रू १५ लाख प्रदान गरेको छ । उनलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले मंगलबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । महेश अग्रवालले यस बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत उक्त रकम प्राप्त गरेका हुन् । आफ्नो ओपन हर्ट सर्जरी भए पश्चात सो खाताभित्र घातक रोगहरूको बीमा सुविधाअन्तर्गत खातावालाले बीमा रकम दावी गरेका थिए । यसैगरी, बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकले बीमा बापतको ८७ लाख रूपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेका छन् । बीमा सहितको बचत सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्य अनुरुप बैंकले विभिन्न चमत्कारिक सुविधा सहित तीन किसिमका बीमा योजनाहरू समेटिएको न्यू सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत खाता खोल्नुहुने ग्राहकले रू २१ लाख सम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने छन् । उक्त बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रू १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र रू १ लाख सम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । औषधी उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (इएम्) उपचारमा रू २० हजार सम्म र अस्पताल भर्ना वापत रू ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५७ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।