नेपाल पुनर्बीमा कम्पनीले माग्यो २२ कर्मचारी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले खुला, समावेशी तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी विभिन्न पदमा २२ कर्मचारी माग गरेको हो । बिहीबार प्रकाशित सूचनाअनुसार नायव महाप्रबन्धक, प्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ सहायक पदमा कर्मचारी माग गरिएको छ । आवेदन दिने म्याद चैत २० र दोब्बर दस्तुर तिरेर चैत २७ गतेसम्मलाई तोकिएको छ । कम्पनीले दशौँ र नवौ तहको परीक्षा दस्तुुर १२ सय, आठौं, सातौं र छैठौं तहको लागि १ हजार र पाँचौँ तहको लागि परिक्षा दस्तुर ४ सय रुपैयाँ तोकेको छ । प्रत्येक थप समूहका लागि थप दस्तुर लाग्ने व्यहोरामा खुलाइएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा गर्यो एमडीआरटी कार्यक्रम
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा एमडीआरटी(मिलियन डलर राउन्ड टेबल) कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले गरिएकाे थियो । कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयालले एम्डीआरटी के हो, यसको प्रक्रिया, आवश्यकता र लाभहरुको बारेमा प्रकाश पार्दै सिटिजन लिडरहरुलाई प्रेरित गराएका थिए । साथै, उनले एमडीआरटीको लागि योग्य हुन आवश्यक कुराहरुमा जोड दिए । सोहि कार्यक्रममा एमडीआरटीमा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरुलाई तथा यसको लक्ष्य लिएका सिटिजन लिडरहरुलाई सम्मान पनि गरिएको थियो । समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यो पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताउदै एमडीआरटी जस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा अझ सहयोग पुग्ने बताए ।
इसेवाबाट बीमाको प्रिमियम भुक्तानी गर्दा नगद पाइने, साथै मोबाइल पनि
काठमाडौं । जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्ने उदेश्यका साथ इसेवाले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यस उपहार योजनामा कुनैपनि जीवन बीमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार सय रुपैयाँसम्म कमाउनुको साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल जित्न सकिनेछ । यस योजना अन्तर्गत एक महिनामा २० देखि ४९ वटा बीमाका प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार ५० रुपैयाँ, ५० देखि ९९ वटासम्म प्रिमियम भुक्तान गर्ने व्यक्तिले प्रतिकारोबार ७५ रुपैयाँ तथा सय वटा भन्दा माथि कारोबार गर्नेले प्रतिकारोबार सय रूपैयाँ रुपैयाँ इन्सेन्टिभ पाउनेछन् । यो योजना एजेन्ट नेटवर्क तथा व्यक्तिगत एकाउन्ट दुबैमा लागु हुनेछ । यो योजना १, मार्च २०२० देखि जुलाई ३१ सम्म लागु हुनेछ । यस योजनाको इन्सेन्टिभ रकम हरेक महिना गणना हुने र आगामी महिनाको २ हप्ताभित्र ग्राहकको इसेवा खातामा उपलब्ध गराइनेछ । पाँच महिनाको अवधिमा कोही पनि ग्राहकले ५ सयवटा लाइफ इन्स्योरेन्स्को भुक्तानी गर्न सफल भएमा प्रतिकारोबार सय इन्सेन्टिभका साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल समेत प्राप्त गर्न सक्नेछन् । पछिल्ला दिनमा अनलाइनबाट बीमाको प्रिमियम भुक्तानी गर्नेको संख्या बढ्दै गएकोमा यसलाई अझ प्रोत्साहन गर्न यो योजना सञ्चालन गरिएको हो । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।